Logo
Logo

एमसीसीका लागि प्रधानमन्त्री ‘डू अर डाई’ अवस्थामा


5.7k
Shares

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पाेरेसन ‘एमसीसी’ सम्झौता संसदबाट अनुमोदन गर्न अमेरिकाले नेपाललाई दिएको ‘अल्टिमेटम’ सोमबार सकिँदैछ । अर्थात, नेपालले फागुन १६ गतेभित्र एमसीसी अनुमोदन गर्नुपर्नेछ ।

अमेरिकाले नेपाललाई पछिल्लो समय फेबु्रअरी २८ सम्ममा एमसीसी संसदबाट अनुमोदन गर्न निर्देशनात्मक ‘अल्टिमेटम’ दिइएको थियो । त्यसअनुसार नेपालले सोमबासम्ममा एस्मसीसी अनुमोदन गर्नुपर्ने छ ।

तर, अहिलेसम्म सत्तारुढ गबन्धनबीच नै एमसीसीबारे सहमति जुट्न सकेको छैन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा एक्लोरुपमा एमसीसी अनुमोदन गर्न दौडधुपमा छन् । पछिल्लो अल्टिमेटमभित्र एमसीसी संसदबाट अनुमोदन नगरे फिर्ता लैजाने अमेरिकाको चेतावनीका कारण पनि प्रधानमन्त्री देउवाको दौडधुप बढेको हो ।

प्रधानमन्त्री देउवा केही दिनयता एमसीसीमा सहमति जुटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ खोजिरहेका छन् । सत्ता गठबन्धनका प्रमुख दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी यथास्थितिमा एमसीसी पास गर्न नसकिने अडानमा रहेकाले प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल एमालेको शरणमा पुगेका हुन् ।

लामो संघर्षपछि गत आइतबार प्रतिनिधिसभामा एमसीसी अनुमोदानका लागि पेस गराउन सफल प्रधानमन्त्री देउवा सरकारमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीका विपक्षमा उभिने अडान लिएपछि अप्ठेरोमा परेका छन् ।

एमसीसी संसदमा टेवल भएसँगै यसबारे सैद्धान्तिक छलफल गर्न भनेर बिहीबार र शुक्रबार प्रतिनिधिसभा बोलाइएपनि दुवै बैठक बस्न सकेन । तोकिएको समयसीमाअनुसार एमसीसी पासका लागि सहमति जुटाउन अब शनिबार र आइतबार गरी २ दिनमात्रै समय छ ।

अमेरिकाको अल्टिमेटमअनुसार सोमबार अर्थात फागुन १६ गते संसदबाट एमसीसी अनुमोदन गर्नुपर्ने प्रधानमन्त्री देउवालाई दवाव रहेको छ । अहिले पनि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका दल र प्रमुख प्रतिपक्षी एमाले दुवै पक्षसँग समानान्तर ढंगले वार्तालाई तीव्रता दिइरहेका छन् ।

शुक्रबार बिहान सत्तासाझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग छलफल गरेका प्रधानमन्त्री देउवा बेलुका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्न उनकै निवास बालकोट पुगेर छलफल गरेका थिए । तर, पटक–पटक छलफल गरेपनि प्रधानमन्त्रीको पार्टी कांग्रेस र एमालेबीच सहमति जुट्न सकेन ।

एमालेले उनैलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका माधव नेपालसहित १४ सांसदलाई आफ्नो निर्णयअनुसार बर्खास्त गरिनुपर्ने कि सभामुख अग्नि सापकोटा हटाइनुपर्ने सर्त राखेको छ । जसले गर्दा प्रधानमन्त्री देउवा एमालेसँग पनि सहमति गरिहाल्न सक्ने अवस्थामा छैन ।

सत्ता गठबन्धनमा एमसीसी अनुमोदनका लागि सहमति हुन नसके एमालेका माग पूरा गर्नेगरी एमालेलाई साथमा लिएर एमसीसी पास गराउने अवस्थासम्म प्रधानमन्त्री देउवा पुगेका छन् । तर, एमालेले ‘ब्ल्यांक चेक’ दिएर सहमति गर्न नसकिने बताउँदै आएको छ ।

यसैबीच प्रधानमन्त्री देउवाले शनिबार पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्दैछन् । यस समयभित्र प्रचण्डले एमसीसी अनुमोदनमा साथ दिए सत्ता गठबन्धन जोगिने अन्यथा एमालेका माग पूरा गर्दै गठबन्धन तोडेर भएपनि एमसीसी अनुमोदन गराएरै छाड्ने योजनामा प्रधानमन्त्री देउवा पुगेको कांग्रेसका एक नेताले बताए ।

स्रोतका अनुसार प्रचण्ड एमसीसी अनुमोदनमा सहमत नभए प्रधानमन्त्री देउवाले आजै ओलीसँग निर्णायक वार्ता गर्ने तयारी गरेका छन् । संसद बैठक भोलि आइतबार १ बजे बस्दैछ । त्यसअघि नै दलहरुबीच सहमति गरेर एमसीसी अनुमोदन गर्ने प्रधानमन्त्री देउवाको सपना पूरा हुन्छ वा हुन्न भन्ने अब एमालेमै भरपर्ने छ ।

किनकि, माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीबारे आफ्नो अडान नछाड्ने दोर्याउँदै आएका छन् । उनीहरुले आफ्ना जनवर्गीय संगठनलाई समेत सडकमा उतारेर एमसीसीको विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्