Logo
Logo

युक्रेनको राजधानीमा भीषण सडक युद्ध सुरु


7.5k
Shares

काठमाडौं । युक्रेनको राजधानी किभमा भीषण युद्ध सुरु भएको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज तेस्रो दिन रुसी सैनिक किभ प्रवेश गरेको हुन् ।

युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार यहाँका सडकमा युद्ध सुरु भइसकेको छ । युक्रेनको राजधानी किभ प्रशासनले भनेको छ ‘हाम्रो मुख्य सडकका सहरहरुमा अहिले युद्ध सुरु भइसकेको छ ।’

प्रशासनले नागरिकलाई चेतावनी जारी गर्दै घरभित्रै बस्न र झ्यालबाट बाहिर नहेर्न भनेको छ । किभमा रुसी सैनिक शहरको उत्तरी इलाका ओबोलोनबाट प्रवेश गरेका थिए । यो क्षेत्र देशको संसद र शहरको केन्द्रीय क्षेत्रबाट केवल ९ किलोमिटर टाढा छ ।

युक्रेनको सेनाले पश्चिमतर्फबाट एक मुख्य बाटोमा भइरहेको आक्रमणलाई विफल पारेको बताएको छ । सेनाका अनुसार दक्षिणमा एक अवाइ अड्डामा युद्ध सुरु भएको छ ।

रुसले किभमा हवाइ आक्रमण गरिरहेको समाचारमा जनाइएको छ । युक्रेनले सैनिक ल्याइरहेको रुसको एक विमान खसालिदिएको बताएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको भविष्यको फैसला भइरहेको भन्दै जनतालाई मजबुत रहन अपिल गरेका छन् ।

युक्रेनको सेनाले आफ्नो आधिकारिक फेसबुक पेजमा आफूहरुले रुसी सेनाको आक्रमणको जवाफ दिएको र उनीहरुलाई पछाडि धकेलेको बताएको छ ।

पोस्टमा आक्रमणको सही ठाउँबारे जानकारी भने दिइएको छैन । भिक्टरी एभेन्यु किभको पश्चिमतर्फ छ । रोयटर्सले इन्टरफ्याक्सको हवाला दिँदै रुसी सैनिकले सहरको एक विद्युत स्टेशन कब्जा गर्ने कोसिस गरिरहेको बताएको छ ।

रुसको आक्रमणपछि युक्रेन पनि आफ्नो पूरा क्षमताका साथ जवाफ दिने कोसिस गरिरहेको छ जसका कारण राजधानी किभ र आसपासका क्षेत्रमा भीषण युद्ध भइरहेको छ । बिहीबार रुसी सेनाको आक्रमणपछि पूर्वी, उत्तरी र दक्षिणी इलाकामा भीषण लडाइँ भइरहेको जनाइएको छ ।

आक्रमणका बीच युक्रेन सरकारले किभ सहरका केही मानिसहरुले रुसलाई सहयोग गरिरहेको हुन सक्ने चेतावनी दिएको छ । आक्रमणपछि बिहीबार रातीदेखि नै किभमा मानिसहरु मेट्रो स्टेशनहरुमा शरण लिएर बसेका छन् । हवाइ आक्रमणपछि बाक्लो जनघनत्व भएको पोजनिएक क्षेत्रसहित किभका अण्डरग्राउण्ड मेट्रो स्टेशन मानिसहरुको शरणस्थल बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्