प्रविधि र सामाजिक सञ्जालको लोकप्रियतासँगै नेपाली समाज फेसनउन्मुख बन्दैछ । जसले फेसन डिजाइनर बन्न चाहनेहरूलाई उत्साह थपेको छ । इन्जु तामाङ ती पात्र मध्येकी एक हुन्, जो फेसनको दुनियाँमा चिनिने मात्र होइन, आफ्नै ब्राण्ड स्थापित गर्ने सोचमा पुगेकी छिन् । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)द्वारा आयोजित ‘ड्रेस टु इम्प्रेस–४’मा ‘ट्रिब्युट टु भर्जिल एब्लोभ’ उपाधि पाएपछि उनी झनै हौसिएकी छिन् । प्लस-२ सकेपछि जापान जाने तयारी गरिरहँदा कोभिडले रोकिएपछि फेसन डिजाइनिङतिर लागेकी इन्जु भन्छिन्, ‘अब जापान जान्नँ ।’ फेसन डिजाइनर इन्जु तामाङसँग एमपी सुब्बाको जम्काभेट :
डिजाइनर कन्टेस्ट ‘ड्रेस टु इम्प्रेस’मा ‘ट्रिब्युट टु भर्जिल एब्लोभ’ उपाधि जित्दा कस्तो लागिरहेको छ ?
मैले निकै मिहिनेत गरेकी थिएँ । मिहिनेत गरेअनुसार फल पाउँदा खुसी लागेको छ ।
निर्णायकहरूलाई इम्प्रेस पारेरै ‘ट्रिब्युट टु भर्जिल एब्लोभ’ थिम उपाधि जित्नु भएको हो ?
पक्कै पनि । हामी १४४ जना प्रतिस्पर्धीलाई चार वटा थिममा विभाजन गरिएको थियो । मेरो समूहमा ३४ जना डिजाइनर थिए । सबैले मिहिनेत गरेका थिए । प्रतिष्पर्धामा म अब्बल ठहरिएँ ।
‘लक्की ड्र’मार्फत थिम रोज्न लगाइएको थियो । तपाइँलाई ‘ट्रिब्युट टु भर्जिल एब्लोभ’ पर्दा कस्तो लाग्यो ?
यो थिम मेरो लागि नयाँ थियो । फेसन डिजाइरको विद्यार्थी हुँ तर, मैले उक्त थिम सुनेकै थिइनँ । जब ‘ट्रिब्युट टु भर्जिल एब्लोभ’ थिममा ड्रेस तयार गर्नुपर्ने अवस्था आयो । त्यसपछि सम्बन्धित शिक्षकसँग परामर्श गरेँ । गुगल र युट्युबमा खोजे अर्थात सेल्फ अध्ययन गरेँ ।
पहिरन तयार गर्न कति समय लाग्यो ?
पहिरन तयार गर्न एक हप्तामात्र लाग्यो । तर, त्यसअघि ‘ट्रिब्युट टु भर्जिल एब्लोभ’ के हो भनेर बुझ्न समय लाग्यो । आईआईएफटीले हामीलाई एक महिनाअघि नै थिम दिनुभएको थियो । त्यसबीचमा मैले सबै ध्यान उक्त थिममा लगाएँ । एक महिनामा फाइल तयार गर्नु थियो ।
फेसन डिजाइनर बन्ने सोच कसरी आयो ?
सबैको एउटा रुची र उद्देश्य हुन्छ । मेरो रुची आर्ट र पेन्टिङमा थियो । अहिले पनि छ । कतै पेन्टिङ, आर्ट र स्केचहरू देख्दा आकर्षित हुन्छु । तर, फेसन डिजाइनर बन्छु भनेर सोचेकी थिइनँ । तीन वर्षअघि प्लस–टु सकेर जापान जाने तयारी गर्दै थिएँ । कोभिडका कारण रोकिएँ । आखिर फेसन पनि आर्ट नै हो । त्यसैले फेसन डिजाइनिङ कोर्ष गर्ने सोच बनाएकी हुँ ।
आफूले तयार पारेको पहिरनमा ¥याम्पमा प्रस्तुत हुँदा कस्तो महसुस भयो ?
आफैँले तयार गरेको पहिरनका कारण कम्फटेवल भएको थियो । साथै, हामीलाई मोडलिङबारे पनि प्रशिक्षण गराउनुभएको थियो । त्यसकारण एकदमै रमाइलो भयो ।
अब जापान कहिले जानुहुन्छ ?
अब जापान जान्नँ । अहिले आएर फेसन डिजाइनिङलाई रुची र लक्ष्यमा समेटेकी छु । त्यसैले फेसनको दुनियाँमै रहेर काम गर्ने सोच बनाएकी छु ।
अहिले प्राप्त गर्नुभएको शिप र ज्ञानले बुटिक सञ्चालन गर्न सक्छुजस्तो लाग्छ ?
बुटिक भन्नेवित्तिकै मानिसहरू अर्कै सोच्छन् । तर, फेसनभित्र सबै कुरा अटाएको हुुन्छ । कोर्ट, पाइन्ट र सर्टलगायत पनि फेसनमै पर्छ । अहिले पनि म फेसन स्टोर वा बुटिक सञ्चालन गर्न सक्छु । तैपनि आईआईफटीले एड्भान्स कोर्ष दियो भने अझै सिक्न चाहन्छु । र, आफ्नै फेसन ब्राण्ड बनाउने सोचमा छु ।
नेपालमा फेसन डिजाइनरको भविष्य कस्तो देख्नुहुन्छ ?
नेपालमा फेसनको बजार सुुरु भएको धेरै भएको छैन । तर, प्रविधि र सामाजिक सञ्जालका कारण फेसन गर्नेहरूको जमात बढिरहेको छ । युवापुस्ता झण्डै पचास प्रतिशत फेसन कन्सस देखिन्छन् । त्यसैले फेसन डिजाइनरको भविष्य उज्ज्वल देख्छु ।
तपाइँ फेसन कन्सस हुनुहुन्छ ?
म आफैँचाहिँ कन्सस छैन । तर, अरुलाई सिँगार्न मनपर्छ । अरुले लगाएको लुगा हेरेर यो मान्छेले यस्तो लगाएको भए हुन्थ्यो भन्ने सोच्ने गर्छु ।
नेपाली कुनै नेता वा सेलिब्रेटीका लागि पहिरन तयार गर्नुप¥यो भने कसको गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ?
नेताहरूको बारेमा मलाई थाहा छैन । कलाकारको कुरा गर्दा स्वस्तिमा खड्का र प्रियंका कार्की मनपर्छ । उहाँहरू फेसन कन्सस पनि हुनुहुन्छ ।