काठमाडौं । भिजिट भिसामा मानव तस्करी बढेको भन्दै सरकारले गत १० माघदेखि नयाँ मापदण्ड लागू गर्र्दै अत्यावश्यक बाहेकको अवस्थामा भिजिट भिसामा विदेश जान रोक लगायो । नयाँ मापदण्डले अत्यावश्यक कामले जान लागेका समेत मापदण्डभित्र नपर्दा कतिपय रोकिए ।
तर, सुन तस्करी गर्नेको हकमा भने नयाँ मापदण्डले रोकन । गत शुक्रबार तस्करीको एक केजी एक सय ६५ ग्राम सुनसहित पक्राउ परेका सुनसरीका कमल घिमिरे १७ माघमा भिजिट भिसाा सहजै दुबई गएका थिए । उनको कुनै अत्यावश्यक काम देखिने अधार नभएपनि अध्यागमन कर्मचारीले रोकेनन् । किनकी भिजिट भिसा मात्र होइन सुन तस्करीको लागि समेत उनले अध्यागमन कर्मचारीसँग सेटिङ मिलाएका थिए ।
दुबइबाट ल्याएको सो सुन अध्यागमनका नायब सुब्बा लक्ष्मण गुरागाईले नै पास गरिदिएका थिए । अध्यागमनको काउन्टर अगाडि रहेको शौचालयमा घिमिरेले सो सुन गुरागाईलाई दिए । भन्सार चेकिङबाट घिमिरे बाहिर आएपछि बाहिरतफएको शौचालयमै गएर गुरागाईले उनलाई तस्करीको सुन दिएका थिए । प्रहरीलाई शंका लागेर घिमिरेलाई पक्राउ गर्दा उनीसँग तस्करीको सुन भेटिएको थियो । पछि सिसिक्यामेरामार्फत अनुसन्धान गर्दा अध्यागमन कर्मचारीले नै पास गरिदिएको खुलेको हो । त्यसपछि गुरागाईलाई समेत पक्राउ गरी भन्सार बुझाईएको प्रहरीले जनाएको छ । अनुसन्धानमा उनीहरुबीच लामो समयदेखि च्याट हुँदै आएको र त्यसमा सुन पास गराउने कुरा उल्लेख छन् ।
यो घटना भिजिट भिसा र सुन तस्करीमा अध्यागमन कर्मचारीको साँठगाँठ र प्रहरीको कमजोरी देखाउँछ । विमानस्थल प्रवेश गर्ने तथा बाहिर आउँदा कर्मचारीको हकमा समेत ‘वाक थु्र गेट’मार्फत चेकजाँच गर्नुपर्ने प्रावधान भएपनि त्यो नियम लागू नहुँदा यसरी कर्मचारीले तस्करीमा सघाउने गरेका हुन् । विमानस्थल प्रहरी प्रमुख एसएसपी भिम प्रसाद ढकाल भने अध्यागमन कर्मचारीले पाउने पासको दुरुपयोग गरी नासु गुरागाईले त्यसरी तस्करी गरेको र त्यसमा प्रहरीको कुनै गल्ती नभएको बताउँछन् ।
घिमिरे ८ पटक यसरी दुबई पुगेर आएको देखिन्छ । प्रारम्भिक छानबिनमा उनी सुन तस्करीकै लागि जाने गरेको देखिएको छ । यसअघि १५ माघमा मात्र उनी दुबईबाट नेपाल आएका थिए । त्यस्तै, १ माघ, १० पुस, ८ मंसिर, २७ कात्तिक र २७ भदौमा उनी दुबईबाट नेपाल फर्किएका थिए । आएका थिए । त्यस्तै, २०२० मा दुई पटक र २०१८ पनि दुई पटक विदेश गएका आएको देखिन्छ । पटक पटक दुबई जानुले उनी सुन र डलर तस्करीमा संलग्न भएको प्रहरी अधिकारीको आँकलन छ । यद्यपी यस विषयमा अनुसन्धान गर्ने अधिकार भन्सारलाई भएकाले विस्तृत बुझ्न नसकिएको विमानस्थल प्रहरीका एक अधिकारी बताउँछन् । प्रहरीले भन्सारमा बुझाइसकेको छ । भन्सारले सूक्ष्म अनुसन्धान नगर्ने भएकाले यसरी अध्यागमन कर्मचारीसँग समेत सेटिङ मिलाएर तस्करी गर्ने गिरोहले उन्मुक्ति पाउने जोखिम बढेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाही उनले संयुक्त अरब इमिरेट्सको आवासीय अनुमति लिएको र सोही आधारमा उनलाई भिजिट भिसामा जान दिइएको बताउँछन् । सो विषयमा भन्सारले अनुसन्धान गरिरहेकाले थप जानकारी नभएको उनको भनाई छ ।