Logo
Logo

कुनै आसुरी शक्तिको प्रसाद खानु नपरोस् !


4.2k
Shares

यतिबेला फेरि धुवाँले आँखा पोल्न थालेको छ– देशभित्रको अशान्ति र विभाजनले मात्र होइन, देशको नक्शाभन्दा धेरै परको युद्धको धुँवाले पनि । आमाहरुको तस्वीर देख्छु– दुई तीनजना बच्चा च्यापेर कहाँ निस्कौँ कहाँ लुकौं कसरी ज्यान बचाऔं आफ्नो भावी सन्ततिलाई भनेर घर छोडेका छन् । बूढाबुढी यो उमेरमा फेरि के देख्नु परेको होला भनी जिल्ल परेका देखिन्छन् ।

कुनै बेला न्यायकै नाममा, शान्तिकै निम्ति भनेर डरलाग्दो ठानिएका शत्रुसैन्यसँग सँगसँगै लडेका बूढाहरु सीमावारि र सीमापारि अर्का अर्कै झण्डा लिएर बसेका छन् । कोसँग युद्ध लड्दैछौँ भनेर । अबोध साना नानीहरुको आँखामा ठूलो मान्छेले गरेका अपराधिक कर्महरु अनि आफ्नै अगाडि खसेका बमहरुले कहिल्यै नमेटिने छाप पारेको छ ।

धनी र शक्तिशाली देशका झगडा, उनीहरुको ‘अहम्’को टकराव जहिले पनि कमजोर राष्ट्रका जनताको दुःखका कारण बन्न पुग्छन् । अहंकारको तुष्टि ती शक्तिशाली झगडियामध्ये जित्नेलाई होला, तर चोट भने अप्रत्यक्षरूपमा जबर्जस्ती जोडिन पुगेका निर्धा देशका नागरिकलाई लाग्छ, कहिल्यै निको नहुने घाउ भएर त्यो बल्झिरहन्छ वा दुखिरहने कुरूप खत भएर बस्छ । त्यस्ता कुरूप खतहरुमा हिंसाको अर्कै संस्करण बीउ बनेर लुकिरहेकै हुन्छ जो कुनै पनि बेला टुसाउन सक्छ, झ्यांगिन सक्छ ।

आसुरी शक्ति र आसुरी वैभव साँच्चै विशाल र आकर्षक हुन्छ । तर हामी मान्छे हौँ । हामी र हामीजस्ता साना देशका जनता मान्छे नै भएर खुसी हुनसकुन् । कुनै आसुरी शक्ति वा स्वघोषित देवताको पछि लागेर उनीहरुको प्रसाद खानु नपरोस् ।

संसारको जुनसुकै कुनामा भएको घटना होस्– शक्तिमोहका विध्वंशक गतिविधि हो भने त्यसले पृथ्वीका प्राणीको अहित नै गर्छन् । कतै जंगल फाँडियोस्, वा सोझा सुन्दर डल्फिन र दुर्लभ ह्वेलहरू मारियुन्, प्राकृतिक सम्पदा मासियुन् वा सांस्कृतिक सम्पदा, जबर्जस्ती कुनै भाषा मासियोस् वा परम्परा– यस्ता विध्वंशले स्थानीयरूपमा मात्र असर गर्ने होइन, परोक्षरूपमै किन नहोस्, संसारका सबैको अहित गरिरहेकै हुन्छ । खुल्लमखुल्ला लडाइँ त अझै कुरूप हुन्छ, विभत्स हुन्छ ।

युद्धमा मानिसको मृत्यु, अंगभंग, भौतिक क्षति मात्र होइन, मानिसका मनमा लुकेर बसेका त्रास, आक्रोश, द्वेष, कुटिलता, हिंसाभाव जस्ता सबै खाले क्लेशका बीउ एकाएक टुसाउन थाल्छन् ।

शक्तिसम्पन्नहरूले अझै बढी शक्ति आर्जन गर्न छेडेको युद्ध जहाँसुकै होस्, जे निहुँमा होस्, जसका विरुद्धजस्तो देखियोस्, त्यो लडाइँ पृथ्वी र प्राणीका सबैका विरुद्धमा हुन्छ । सबैका दुःखको कारण बन्छ ।

कुनै कमजोर देशको नजिकै शक्तिशाली हेपाहा मिचाहा छिमेकी छ भने त त्यो कमजोर देशले झनै दुःख पाउँछ । झन् दुई वा दुईभन्दा बढी शक्तिशाली देशहरूले घेरिएको सानो देश छ र ती शक्तिको मातमा भएका ती ‘ठूलदाइ’हरू झगडा गर्न थाले भने त त्यस्ता साना देशलाई झनै दुःख हुने नै भयो ।

कुनै कुटिल रणनीतिज्ञ टाढै बसेर पनि यस्ता झगडा लगाउन सक्छन् । कतै सुदूर महानगरीमा एउटा भव्य आरामदायी अफिसभित्र बसेर केही धनाढ्यले गरेका निर्णयले उनीहरुसँग कुनै सरोकार नभएका अर्कै गोलाद्र्धका मानिसले अनाहकमा दुःख पाइरहेका हुन्छन् । धेरैको जीविका गुम्न सक्छ, कतिको परिवार छुट्टिन सक्छ । कतिका सपनाहरू मर्छन् । मरेका ती सुन्दर सपनासँगै पृथ्वी झन् बढी रोइरहेको हुन्छ ।

युक्राइनको भूमिमा बज्रिएको गोलाबारी होस् वा यहीँ वानेश्वरको सडकमा बज्रिएको इट्टाको सानो टुक्रा नै किन नहोस्– ‘साँढेको जुधाइ, बाच्छाको मिचाइ’का दर्दनाक यथार्थकै अभिव्यक्त भइरहेका हुन्छन् । यो यथार्थ संसारको हरेक कुनामा युगौँदेखि विभिन्न रूपमा प्रकट भएको भयै छ ।

अफगानिस्तान, सिरिया, यमन आदि जस्ता मुलुकमा जस्तो बमले पारेका खाल्डा, मरेका निरपराध मान्छेका लास र बाँच्नेले भोगिरहेका खपिनसक्नु हेरिनसक्नु पीडामा मात्र हैन, बानेश्वरमा भत्किएका फूटपाथ र खसेका इँटाका टुक्रामा पनि त्यो प्रकट हुन्छ ।

इँटाका ती टुक्राहरुले देशभित्रका विभिन्न कित्ताका सत्ताखेलाडीहरुको शक्तिमोह मात्र हैन, देशबाहिर विभिन्न कित्तामा रहेका शक्तिका जुवाडेहरुको लोभको कथा पनि सुनाइरहेका छन्– सुन्नसक्ने कान भए ती कथा सुन्न सकिन्छ ।
कुनै बेला आफैले लेखेका यी पंक्तिहरुकको अहिले सम्झना भैरहेको छ–

युद्ध छ
त्यसैले अनिकाल छ
अनिकालमा मान्छे नै पनि बेचिन्छ रे
मान्छे नै बाँकी नरहेपछि
युद्ध स्वयं बेचिन्छ कि?
त्यसैले… …
अमान्छेहरु हो, युद्धलाई त बाँकी राख
मान्छेजातिको नै मृत्यु भएपछि
बेचेर खान काम लाग्छ !’

बौद्ध दर्शनमा ‘असुर’को चित्रण शक्तिशाली वैभवसम्पन्न भएर पनि अत्यन्त ईर्ष्यालु सत्त्वको रूपमा गरिएको हुन्छ । ती जहिले पनि शक्ति र वैभवमा अरुले आफूलाई उछिन्छ कि भनेर त्रस्त हुन्छन् रे ! अहिलेका ज्यूँदा असुरहरु– यी बलिया र धनी राष्ट्रहरु – त्यही ईर्ष्याका कारण छेडिरहेका मात्र छैनन्, आधिपत्य कायम गर्न र कुनै न कुनै रूपमा विश्वको अधिपति हुने होडबाजीमा आफ्नो जीवनको स्रोत, बाँच्ने भूमि, उनीहरुले खोजिरहेको त्यो वैभवकै स्रोत पृथ्वीलाई ध्वस्त गरिरहेका छन् ।

मानवतालाई अहङ्कारले खाइरहेको छ । पृथ्वी बाहिरका आकाशीय पिण्ड र अन्तरिक्षमा अड्डाा जमाएर पृथ्वीभित्रकै ‘शत्रु देश’ माथि हमला गर्ने पनि तयारी गरिरहेका छन् रे शक्तिशाली राष्ट्रहरू ! ‘म’भावकै विस्तारित रूप हो संसारमाथि आधिपत्य जमाउने तृष्णा । यो तृष्णाले ग्रस्त भएपछि मानिसले बिर्सन्छ– ‘अरू’ नभए ‘म’ पनि हुँदैन भन्ने कुरा । जुझिरहेका पागल शक्तिशालीहरुमध्ये कसै न कसैको पक्ष लिनुपर्ने बाध्यता गरीब, निर्धा देशका नागरिकहरुलाई छ र त्यो बाध्यता झन् झन् टड्कारो भएर आउँदैछ ।

यो पागलपनको औषधि के हुन्छ ? दुर्भाग्य नै भनौँ मानवजातिको– कुनै छोटो बाटो छैन । मान्छे अब आफै नसप्रिने हो भने, ‘म’भावका असंख्य रूपलाई चिन्ने र त्यो कति खोक्रो हुँदोरहेछ भनेर बुझ्ने यत्नमा नलाग्ने हो भने मानिसको कुनै भविष्य छैन । त्यो बुझ्ने दिशामा साँच्चै प्रयत्न गर्न थाल्ने हो भने मानिसले ब्रह्माण्डको अधिपति हुनै पर्दैन, सबै प्राणीको मित्र भएर जगतकै भलो गर्न सक्छ ।

एमसीसी पास भयो । त्यसैको निहूँमा विभाजित हाम्रो सानो देशका जनताबीचको फाटो टालिएला ? खोजेकैजस्तो समृद्धिको पथमा देश हिँड्न थाल्ला ? नाकमा कसैको डोरी नलगाई प्रगतिपथमा हिँड्न सकिएला ? ‘त्यता हैन यता’ भन्दै अरु कसैले निहूँ नखोज्ला ? युक्राइन र रूसबीच पनि कुराकानी शुरु भयो रे । त्यहाँका बच्चाहरु अब हाँस्न सक्लान् ? बुढाबुढीहरु चित्त बुझाउलान् ? त्यहाँको त्यो लडाईँ र यहाँको यो झगडाले बनाएका घाउ कहिले निको होलान्? ती घाउका खतहरू कति असुन्दर र दुख्ने होलान् ?

आसुरी शक्ति र आसुरी वैभव साँच्चै विशाल र आकर्षक हुन्छ । तर हामी मान्छे हौँ । बुद्धले भन्नु भएको थियो निर्वाण त मान्छे भएरै मात्र हुन्छ । हामी र हामीजस्ता साना देशका जनता मान्छे नै भएर खुसी हुनसकुन् । कुनै आसुरी शक्ति वा स्वघोषित देवताको पछि लागेर उनीहरुको प्रसाद खानु नपरोस् । सबैको मंगल होस् !

प्रतिक्रिया दिनुहोस्