धेरै भएको छैन, नेपालका खुंखार क्रान्तिकारीले सत्ताको तरबार नचाएर आफ्नै उन्मुक्त सपनाहरू छप्काउन थालेको । पुरातनको अन्त्य र नुतनताको पदार्पणमा प्रतिवद्ध ठहर्याएका ती मान्छेहरु गाउँ छाडेर शहर त पसे । तर पुरानै सत्ताको रसातलमा देख्नेले समेत जिब्रो टोक्ने गरी पलेटी कसेर बसे ।
बेथितिको डंगुरमा अगुल्टो झोस्न भनी राजधानी र सदरमुकाम छिरेका राता मान्छेहरु उल्टै पश्चगमनको त्रिशूलले डामिएर आफैँ हरियो भए । खबरदारी गर्दागर्दै पनि भिरतिरै हुत्तिँदै गए ।
आज आफ्नाहरु बिर्सिए र मास्न भनी गएकाहरुसँग गझधम्म अँगालो हालेर बसे । रतन्धो लागेको कानुन च्यात्न भन्दै काठमाडौँ छिरेका लाल नेताहरु उही अदालतको गोठमा बाँधिएर मान्छेकैविरुद्ध हुने आदेशका पक्षमा हत्केला पुत्याउन्जेल ताली पड्काइरहे ।
तुलनात्मकरुपले परिस्थिति आज भिन्दै भएको छ । देशका आम उत्पीडित समुदायमाथि हैकम जमाउँदै कजाएर खानेहरु फेरि एकपल्ट हौंसिएका छन् । त्याग, संघर्ष, क्रान्ति, मुक्ति र परिवर्तनलाई भजाएर खानेहरु सत्तामा मन्सिएका छन् । जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त व्यवस्थामा यी नवधनाढ्यहरुको हालीमुहाली छ ।
बेथितिको डंगुरमा अगुल्टो झोस्न भनी राजधानी र सदरमुकाम छिरेका राता मान्छेहरु उल्टै पश्चगमनको त्रिशूलले डामिएर आफैँ हरियो भए । खबरदारी गर्दागर्दै पनि भिरतिरै हुत्तिँदै गए ।
बाघको छालामा हाबी हुँदै गएको स्यालको रजाइँले मुलुकलाई अनिर्णित बनाएको छ । अरुको के कुरा ? क्रान्तिको एउटा लम्बेयात्राबाट बागडोरसम्म पुगेकाहरु पनि आफ्नो क्रान्तिकारी छाला ताछेर पाखुरा सुर्किएरै उसैलाई सघाउन तल्लीन छन् ।
युद्धमा हजारौँको रगत घोप्ट्याएर सत्तामा पुगेकाहरु उनकै अघि जनता पिरोल्ने कार्यहरुको भयानक खेती भइरहँदा पनि नतमस्तक बनेर रमिता हेरिरहेका छन् ।
आज ठालुहरुले सजिलै व्यापार गरिरहेका उद्देश्यहरु प्राप्त गर्न हिजो थुप्रै मान्छेहरु चिहानमा निदाएका छन् । अझैसम्म कयौं वीरहरु बाँचेर पनि पटक–पटक मारिएका छन् । तर, इतिहासका ती वीरंगनाहरुको छातीमा संगीन घोच्नेहरु नै प्राप्त उपलब्धिमा डढेलो लगाउन तल्लीन छन् । घाँटीमा डोरी झुण्ड्याइएका तर, किलामा नबाँधिएका साँढेहरुलाई मस्तै फलिफाप बनेको छ अहिलेको यो अन्योलग्रस्त अवस्था ।
पहिलो त नेपालको राजनीतिक परिवर्तन स्वाभाविक हिसाबले भएन । अहिलेसम्म जनतालाई साधन मात्र बनाइयो । शहीदको खेती गरेर महिमा मण्डन गरियो । अँध्यारोमा रहेका प्रायोजक र बिचौलियाहरु निर्णायक बन्न पुगे । फलस्वरूप आजको दुर्भाग्य ब्योहोरिरहेछौँ ।
आज अधिकारको नाममा केन्द्रको लुटतन्त्र स्थानीयस्तरमा पÞmैलिँदैछ । पहिले केन्द्रमा मात्रै लुटिन्थ्यो भने त्यो प्रक्रिया विकसित भएर स्थानीय तहसम्म आइपुगेको छ । कहीँकतै बाहेक जनप्रतिनिधि भनिएकाहरु डरलाग्दो तरिकाले धनप्रतिनिधिको रुप धारण गरिरहेका छन् । घुसखोर, कमिसनखोर र महासामन्तहरु जन्मिरहेका छन् ।
देशका जिम्मेवार निकायहरु भ्रष्टाचारमा लिप्त छन् । साधारण कामका लागि प्रशासन धाउने सामान्य नागरिकले हाकिमहरुको कम्तीमा दशपटक हप्काई खानुपर्छ । जतासुकै घुस्याहा र ठालुहरुकै रामराज्य छ । अनि हामीले कुनचाहिँ परिवर्तनको डंका पिट्नु ?
हिजो आमूल परिवर्तनका लागि भन्दै पोखिएको रगतको अवमूल्यन गर्नेहरु नै यसका संरक्षक बनेका छन् । उनीहरु संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचना पिपल फेदीमा जल चढाएर प्राप्त भएको व्यवस्था ठान्दछन् ।
राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने साधानहरु पुरानै व्यवस्थाको हितमा काम गरिरहेका छन् । नेपालमा राजनीतिक परिवर्तन पटक–पटक भए पनि राज्यका मेसिनरीमा कहिल्यै परिवर्तन आएन । उनीहरु न जनताको नियन्त्रणमा छन्, न त जनताको सेवकको रुपमा काम गरिरहेका छन् ।
उनीहरुलाई जनताप्रति जवाफदेहिताको फिटिक्कै मतलब छैन । बरु मस्तसँग पीडक र शासकको रुपमा काम गरिहेका छन् । यिनीहरुले झण्डा हल्लाउँँदै माटोको स्वाभिमान बेचुन् या आम जनताका बुलन्द आवाजहरुमाथि प्रतिबन्ध लगाउन्– हामीले सहर्ष महिमामण्डन गाइदिनुपरेको छ ।
बयालीस महिनासम्म देशले बडो कष्ट साथ झेलेको पात्रलाई यदाकदा फेरि पनि सत्ताको साँचो सुम्पिने चर्चा हुन थालेको छ । उसैको मोटो बुद्धिका कारण देश एमसीसी नामको परिबन्धमा फसेको छ । ४–६ जना मान्छे बटुलेर चोकचोकमा उखान सुनाउँदै हिँड्ने ‘लम्फू’लाई राज्यसत्ताको बागडोर थमाउनु आफ्नै खुट्टामा बञ्चरो हिर्काएसरह नै हो ।
सम्भवतः राजावादी समेतले स्वीकार गरेको यो व्यवस्थालाई उल्ट्याउन मरिहत्ते गर्ने लम्फूलाई ल्याएर सत्तामा बसालेर देश पुग्ने कहाँ होला ? सत्ता प्राप्तिको रुद्राक्ष जपेर बसिरहेको सार्वभौमिकताको कौडा हान्न आतुर जुवाडेलाई सिंगो राज्यसत्ताको भान्से बनाएपछि यो देशले खाने के हो ?
घुमाउरो पाराबाट जब एउटा कमेडियन शासक छिमेकीलाई खिसिट्युरी गर्दै अर्कै गाउँको दुष्टसँग रत्तिन थाल्छ तब जान्नुस् ढिला चाँडो देश युक्रेनमा परिणत हुन्छ ।
पूँजीवादले शासकलाई ‘द्रव्यपिचास’ बनायो । जुनसुकै अनैतिक उपायले पनि पैसा बटुल्नुबाहेक उनीहरुको उद्देश्य हुन छोड्यो । भोलि गएर यो सविस्तार सबैमा लागू हुन्छ । र यसको शिकार हुने उनै भुइँमान्छे हुन् । फेरि यसो भन्नुको तात्पर्य अहिलेको व्यवस्था नै गलत भन्न खोजिएको होइन । पहिले यो व्यवस्थालाई जनपक्षीय बनाएर हाँक्छौँ भन्ने फुर्तिसहित त्यहाँ पुगेका शासकहरु शोषकमा परिणत हुनुलाई विडम्बना ठानिएको हो ।
हिजो यही व्यवस्थाको विरुद्धमा दिलोज्यान लगाएर मोटाएकाहरु नै आज मालिक बनेर देशमा रजाइँ गर्दा उत्पन्न भएको घिनलाग्दो दृश्यको विरोध गरिएको हो । ‘पिँडालुको गानु– जताबाट तालपर्याे उतैबाट खानु’ भनेझैँ यो व्यवस्थामा बाघको छाला ओढेर रजाइँ गरिरहेका स्यालहरुका कर्तुतलाई यहाँ प्रष्ट पार्न खोजिएको हो ।
-लमही दाङ