काठमाडौं । राजनीतिक प्रतिशोधका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा जेल हाल्ने व्यक्तिहरू नै पछिल्लो समय शक्तिकेन्द्रमा सक्रिय हुन थालेपछि बालुवाटारमा हंगामा भएको छ । तत्कालिन शाही आयोगका व्यक्तिहरु अहिले पनि विभिन्न चलखेलमा सक्रिय देखिएका छन् ।
भक्तबहादुर कोइरालाको नेतृत्वमा गठन भएको सो शाही आयोग राजनीतिक दलका नेताहरुलाई भ्रष्टाचारको आरोप लगाएर दबाउन गठन भएको थियो । जसले प्रतिशोधका आधारमा हालका प्रधानमन्त्री शेरबहादुर देउवा, नेता प्रकाशमानसिंह लगायतलाई नियन्त्रणमा लिएर थुनामा राखेको थियो । पछि सो आयोग सर्वाेच्च अदालतले खारेज गरिदियो ।
सो आयोगका सदस्यहरुको चलखेल गणतन्त्रमा समेत जारी छ । आयोगमा विज्ञ सदस्यका रुपमा काम गरेका नेपाल बिद्युत् प्राधिकरणका तत्कालिन प्रबन्ध निर्देशक हरिश्चन्द्र शाह अहिले पनि सक्रिय छन् । पछिल्लो समय उनी नेपाल प्रहरीमा सरुवा–बढुवाको खेलमा लागेका छन् । नेपाल प्रहरीमा एआइजी बढुवामा शाह सक्रिय भएको सूचना पाएपछि प्रधानमन्त्री निवास बालुवाटारमा हंगामा मच्चिएको हो । शाह विभिन्न निकायमा पुगेर आफ्नो आफन्त धीरजप्रताप सिंहलाई एआइजी बढुवाका लागि लबिइङ गरिरहेको सूचना बालुवाटार पुगेको छ । जसकारण एआइजी बढुवा तत्काल रोकिने सम्भावना बढेको छ ।
हालै सरकारले नेपाल प्रहरीमा एआइजीका तीन दरबन्दी थप्ने निर्णय गरेको थियो । गत शुक्रबार प्रहरी किताबखानामा ती पद दर्ता समेत भइसकेको छ । यो हप्ता बढुवा समितिको बैठक बस्ने सम्भावना छ । तीन पदमा १८ डिआइजी प्रतिस्पर्धामा छन् ।
जसमध्ये चार जना सिनियर छन् । जसमा घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र बसन्त पन्त छन् । उनीहरु सिनियर भएपनि जुनियर टोलीका धिरजप्रताप सिंह, बसन्त लामा, रबिन्द्र धानुक, उत्तमराम सुवेदी, अरुण बिसी लगायत छन् । सबै डिआइजी शक्तिकेन्द्र धाएपनि तीन वटा मात्र सिट हुने भएकाले बढुवाको प्रतिस्पर्धा निकै चर्काे हुने देखिन्छ । त्यही कारण पूर्व राजावादीहरु समेत यसमा सक्रिय भएका छन् । आफैंलाई झुटा मुद्दामा जेल हाल्ने व्यक्ति एआइजी बढुवाको चलखेलमा लागेपछि प्रधानमन्त्री सचिवालय समेत झस्किएको स्रोत बताउँछ ।