नारीसँग आमा हुने अंगहरू हुन्छन् । प्रकृतिको कुरा हो यो । यत्तिमा नारीले न दिक्क हुनुपर्छ, न गर्व गर्न । स्थूल शारिरीक कामका निम्ति उपयुक्त शरीर हुन्छन् पुरुषका । प्रकृतिकै कुरा हो यो पनि । यसमा पुरुषले न गर्व गर्न मिल्छ, न दिक्क मान्न ।
विभिन्न कालखण्डमा समाज कुनैबेला नारीप्रधान भएको छ, कुनै बेला पुरुषप्रधान । वर्तमानमै पनि विभिन्न भूखण्डमा नारीप्रधान समाज पनि छन् अझै । तर, हजारौँ वर्षदेखि पृथ्वीको अधिकांश भागमा मानव समाज पुरुषप्रधान हुँदै गयो र यो क्रममा स्त्रीशरीरका विशेषताहरूलाई आफू अनुकूल वर्णन, व्याख्या, उपयोग, उपभोग र शोषण गर्ने काम हुँदै आयो पुरुष शासित समाजमा । अस्तित्वमा आएदेखि नै राज्यले यो पुरुषप्रभुत्वको अनुमोदन गर्दै आएको छ ।
यसको अर्थ नारीमा अन्तर्निहित शक्ति नै क्षीण हुँदै गएको भने बिल्कुलै होइन । मानव समाजको इतिहास हरेक युगका शक्तिशाली, प्रतिभाशाली, शासक, विदुषी, सर्जक, योद्धा, विराङ्गना नारीहरूका कथाले रङ्गिएका छन् । सबै अभिलिखित नहुनु अर्कै कुरा हो । नारीका जति कथा अभिलिखित छन्, कि त उनीहरू असामान्य भएका कारण, कि भने त्यसबेलाका प्रभुत्वशाली पुरुषका बाध्यताका कारण मात्र अभिलिखित छन् ।
धेरै वीरङ्गनाका कथा त लुप्त नै भए होलान् । हाम्रै युगका आमा, हजुरआमाका उपलब्धि र कृति त ओझेलमा परेका छन् भने यति ठूलो विश्वमा हजारौँ वर्ष देखिका कति नारीका योगदान त्यसै हराएका होलान् !
भान्छाको कुनामा
घैँटोको पानीमा
नानीको थाङ्नामा पनि
कविताहरू भुल्भुल गरी जन्मिन्छन्
पानीका फोकाहरूझैँ
हरे ! मायाले टिपिदिने कोही नहुँदा
आफै नै एक–एक गरी
झरी जान्छन्
जङगलका फूलहरूझैँ
गृहिणीका कविताहरू
तर, सत्यजति ठूलो र महत्वपूर्ण अभिलेख त के हुन्छ र ! नारीको सत्य उसका अंगमा, उसका लुकेका सृजनशीलतामा, उसका विशिष्ट शक्ति र भूमिकामा नमेटिने गरी कुँदिएका हुन्छन् ।
आमासँगको स्वाभाविक सान्निध्य र अस्तित्वकै निम्ति पनि आमामाथिको निर्भरताका कारण आमा र सन्तान बीचको विशेष सम्बन्धलाई कुनै पनि युगका खूँखार पुरुष प्रभुत्ववादीले पनि नकार्न सकेनन् । त्यसले गर्दा जुनसुकै सभ्यता, संस्कृति वा परम्परामा मातृत्वलाई सम्मान गर्नैपर्ने बाध्यता भयो ।
मानव मस्तिष्कको दायाँ अर्धभाग निर्देशित संष्लेषणात्मक क्षमता, प्रेम, सृजनशीलता जस्ता क्षमताका कारण राज्य संचालनमा होस् वा परिवारभित्रको सन्तुलनमा नारीको भूमिका जहिले पनि महत्वपूर्ण रहँदै आएको छ ।
नारीशक्तिका यिनै प्रकटीकरणका कारण विभिन्न समयमा महान नारी शासक, विदुषी, योद्धा, धर्मगुरु देखा परेका छन् । यस्ता गुणहरू प्रचूर मात्रामा भए पनि समाजमा, परिवारमा भने वनफूल झैँ फूलेर त्यत्तिकै हराउने स्थिति नै प्रायः रहँदै आयो ।
नारी अस्मिता, स्त्रीशक्ति, नारी सृजनशीलता विभिन्न आन्दोलनका रूपमा बेलाबेलामा प्रकट हुन खोजे पनि विश्वव्यापी प्रभाव नै पार्न सक्ने गरी भने २०औँ शताब्दीमा मात्र पश्चिमी गोलाद्र्धबाट शुरु भयो ।
युगौँदेखिको मौनता तोड्दै सन् १९०८ मा न्यूयोर्कका सडकमा आफ्नो अधिकारका निम्ति मार्च गरेका १५ हजार महिला कामदारबाट शुरु भएको आन्दोलन अट्लान्टिक महासागर पार गरेर युरोपमा पुग्यो र दुई वर्षपछि सन् १९१० मा कोपनहेगेनमा भएको अन्तर्राष्ट्रिय महिला मजदूरको सम्मेलनमा क्लारा जेटिकनको पहल र प्रयासमा हरेक देशमा एकैदिन महिला दिवस मनाउने कुरा सर्वस्वीकृतिमा पारित भयो ।
त्यसपछिका वर्षहरूमा नारीका संघर्षले पाएका सफलताहरू साँच्चै उल्लेखनीय छन् । हो, पुरुषप्रभुत्व अझै हावी छ, संसारमा । अझै पनि थरीथरीका विभेद जारी छन् । आफूलाई निकै प्रगतिशील, महिला अधिकारका हिमायती, सबै किसिमका विभेदका विरोधी, लोकतन्त्रवादी, समाजवादी ठान्ने धेरै नेता, विद्वान, अभियन्ता कहलिएकाहरू पनि पुरुष प्रभुत्वको त्यो विषालु कुलतबाट मुक्त हुन सकेका छैनन् । राज्यको कुनै पनि निकायमा, सरकारी गैरसरकारी संस्थाका कुनै पनि जिम्मेवारीमा अझै पनि महिलालाई समानताको दृष्टिले हेर्नसम्म पनि सकेको देखिँदैन ।
पुरुष सहकर्मीहरूले भन्दा बढि क्षमता देखाएका ठाउँमा समेत नारीप्रतिको पूर्वाग्रह बाँकी नै छ । प्राज्ञिक क्षेत्रमा पुग्दा त अझ बढि पूर्वाग्रह देखिन्छ– पुरुषभन्दा अगाडि, माथि देखिने पो हो हुन् कि नारी भन्ने डर नै देखिन्छ ।
समाजमा अनेक अप्रिय घटना भइरहेका हुन्छन्, झगडा भइरहेको हुन्छ, अपराध भइरहेको हुन्छ । महिला र पुरुष पक्ष–विपक्षमा भए पीडित नै भए पनि सकेसम्म महिलालाई– बालिका, किशोरी, वा वृद्धा नै किन नहोउन्, दोषी देखाउने प्रयत्न भइरहेको हुन्छ ।
‘न्यायको रक्षा गर्ने हौँ हामी’ भन्ने वकिलहरू एकाएक हामी त व्यवसायिक, आफ्नै पक्षको वकालत गर्नुपर्छ’ भन्न थाल्छन् । राजनीतिका हस्तिहरू ‘हाम्रो’लाई बचाउनुपर्यो नि, कहाँ ‘राम्रो’को कुरा गरेर हुन्छ ?’ भन्न थाल्छन् । पत्रकार त यसै विभाजित हुने नै भए ।
अझै पनि नेपाली समाजमा होस् या अन्य पितृसत्तात्मक समाजमा नारीलाई घरको सम्पूर्ण काम गर्ने दासीको रुपमा हेर्ने धारणा हराउन सकेकै छैन । हाम्रो जस्तो पूर्वीय समाजमा मात्र हैन, पश्चिमा समाजमा पनि घरेलूहिंसा अझै व्याप्त छ । धनाढ्यका घर पनि महिलाका निम्ति पिंजडा भएको हुन्छ, सुनका गहना तिनलाई बाँध्ने साङ्ला बनेका हुन्छन् ।
विवाहका बेला घर पसेका सुनका गहना वा अरू दाइजो बाहेक घरलाई सम्पूर्ण जीवन दिएर पालनपोषण गरेको हिसाब वा मूल्याकन गर्न अझै पनि पढेलेखेका धेरै घरपरिवारले समेत सकेका छैनन् । अलि पढेलेखेका र शिक्षित महिला पनि घरका बन्धनबाट मुक्त छैनन्, कतिलाई त त्यसैमा रमाउने बानी परेको छ ।
छरछिमेकका देशमा त ‘चेलीबेटीलाई परिवारको ईज्जतका निम्ति’ भन्दै मार्ने सम्मका गतिविधि भएको सुनिन्छ । दाइजो नल्याएको निहूँमा बुहारीलाई जिउँदै जलाउने मात्र हैन, आफ्नो जबर्जस्तीको सम्बन्ध नस्वीकार्दा किशोरी र युवतीका अनुहारमा एसिड फ्याँकिदिने अपराधका कथा अझै सुनिन्छन् । आमा हजुरआमा शरहका वृद्धालाई ‘बोक्सी’ भनेर यातना दिनेसम्मका काम हाम्रै देशमा भइरहेका छन् । कुनै पनि देशमा बलात्कारीले महिलाको कुनै उमेरसम्म पनि देख्दैन ।