काठमाडौं । नबिल बैंकले क्रेडिट कार्डअन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ । जसअन्तर्गत बैंकले मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकलाई क्रेडिट कार्ड सुविधा प्रदान गर्ने छ । नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नह्ने गृहिणी, अवकाशप्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरु गरिएको जनाएको छ ।
अन्तराष्ट्रिय नारी दिवसका अवसरमा नबिलले मार्च २०२२ मा कार्डका लागि आवेदन गर्ने ग्राहकका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्दैछ । प्रयोगकर्ताले यो कार्ड पिओएस वा एटिएममा आफ्नो सहजताअनुसार प्रयोग गर्न सक्नेछन् । यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटपजस्ता वस्तु खरिद गर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिने छ ।
नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल÷ग्राहकलाई आफ्ना नजिकका परिवारका सदस्यका लागि समेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने सुविधा प्रदान गरेको छ । यस योजनाअन्तर्गत रु २ लाख प्रतिकार्ड सीमा तोकिएको र मुद्धती निक्षेपको ८० प्रतिशतसम्म कार्ड सीमा प्राप्त गर्न सक्नेछन् ।
यो मुद्धती निक्षेप र क्रेडिट कार्डको अद्भूत विषेशतासहितको सुविधा रहेको छ । बैंकका ग्राहकले आफूले चाहेको वस्तुको मजा लिँदै मुद्दती निक्षेपमा ११.०३ प्रतिशतका दरले ब्याजसमेत प्राप्त गर्नेछन् । यस्ता किसिमका योजनाले ग्राहकलाई अझ राम्रो वित्तीय निर्णय लिन सक्षम बनाउने छ भन्ने बैंकले विश्वास लिएको छ ।