मेगा बैंकलाई सीइओका रुपमा नेतृत्व गर्नुभएको करिब चार वर्ष पुग्यो, कस्तो रह्यो यो चार वर्षको अनुभव ?
यो चार वर्षको अवधि कस्तो रह्यो भनेर मैले बोल्नुभन्दा मेगा बैंकको ब्यालेन्ससिटले बोल्छ । मेगा बैंकका लागि यो अवधि सफल बन्न पुगेको छ । किनभने, चार वर्ष अगाडि हामी नाफाको दृष्टिकोणले २६औँ वाणिज्य बैंकका रूपमा थियौँ, आज ११औँ अवस्थामा छौँ । ब्यालेन्ससिट हेर्ने हो भने पनि हाम्रो निक्षेप, कर्जा सबै राम्रो छ । आज ‘मिड–क्याप’ बैंकका रुपमा मेगा बैंक स्थापित भइसकेको छ । ५८ जिल्लामा फैलिएका छौँ, दुई सय ३ वटा शाखा छन् । ७७ जिल्लामै पुग्ने पञ्चवर्षीय योजना बनाएर अघि बढेका छौँ । समष्टिगतरुपमा हेर्ने हो भने यो अवधिमा म सन्तुष्ट छु ।
यो सफलता एक जनाबाट सम्भव भएको होइन । यसमा समग्र मेगा बैंकको टिमको योगदान छ । गाउँ–गाउँसम्मका शाखाका हाम्रा सबै कर्मचारीहरुको यसमा मेहेनत छ । सिनियर मेनेजमेन्ट टिमको योगदान छ । बैंकमा बोर्डको ‘गभर्नेन्स’ भन्ने कुरा पनि धेरै ठूलो हुन्छ । बोर्डको नीति तथा कार्यविधि निर्माणमा सहयोग गरेकाले नै आज बैंकले प्रगति गरेको हो ।
गौरव गर्नुपर्ने कुरामा चाहिँ मैले मेरो सिनियर म्यानेजमेन्ट टिमकै कुरा गर्छु । हाम्रो बैंकमा सीइओमात्र होइन, उच्च तहमा धेरै जसो महिला हुनुहुन्छ । १० जना सिनियर म्यानेजमेन्टमा पाँच जना महिला हुनुहुन्छ । यस्तो त कुनै बैंकमा पनि छैन । अन्तर्राष्ट्रियरुपमा पनि संस्थाको उच्च तहमा यति धेरै महिला पाउन गाह्रो छ ।
हाम्रो बैंकमा डेपुटी सीइओ रविना देशराज श्रेष्ठ, चिफ रिस्क अफिसर प्रज्ञा पाण्डे, ग्लोबल मार्केटस् विभाग (ट्रेजरी)को चिफमा डेनी श्रेष्ठ, चिफ लायबिलिटी अफिसरमा जेनु थापा हुनुहुन्छ । जब महिलाले कुनै कम्पनीको नेतृत्व गर्छन्, उनीहरुले राम्रो नै गर्छन् भन्ने कुरा हाम्रो टिमले पनि प्रमाणित गरेको छ । त्यसमा मलाई गर्व लाग्छ ।
चार वर्षअघि सीइआको जिम्मेवारी सम्हाल्दा कत्तिको चुनौती महसुस गर्नुभएको थियो ?
सीइओ बन्ने एउटा रहर र सपना पनि थियो । वाणिज्य बैंकमा महिलालाई सीइओ बनाउनु पनि ग्लास सिलिङ ब्रेक गर्नु हो । यो जिम्मेवारी पाएपछि एउटै कुरा केमा म केन्द्रित भएँ भने यसलाई सफलाका साथ निभाउनुपर्छ । कुनै पनि संस्थामा महिलालाई नेतृत्व दिँदा उनीहरुले राम्रो चलाएर देखाउन सक्छन् भनेर एउटा प्रमाणित गराउनुपर्ने चुनौती मसँग थियो त्यतिबेला ।
अहिले विगतलाई फर्केर हेर्दा मेरो सफलताको पछाडि कर्मचारीको मेहेनत नै हो भन्ठान्छु । सहयोग सबै जनाको भयो । अनुभव त २७–१८ वर्षको छँदै थियो । टिममा हिँड्न जान्नै पर्दाेरहेछ । मेरो कार्यकालमा हाम्रो बैंकमा टुरिजम डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंकको मर्जर तथा एक्वीजिसन भयो । त्यसकारण फरक पृष्ठभूमिबाट आएका सबै जनासँग मिलेर आत्मसात गराएर मेगा बैंकको एउटै भिजनमा अघि बढाउन सक्नु पनि हाम्रो सफलताको एउटा पाटो होजस्तो लाग्छ । कुनै पनि संस्था जनशक्ति व्यवस्थापन एकदमै महत्वपूर्ण हुन्छ, त्यसमा हामी सफल भयौँ ।
यो बीचमा कतिको समस्याहरू झेल्नुभयो ?
अहिलेको बेला नै एकदमै समस्या भोग्ने समय भयो । पहिला क्रेडिट क्रन्चको बेला थियो, अहिले लिक्विडिटी क्रन्चको समस्या छ । आर्थिक सूचकांकहरु धेरै राम्रा देखिँदैनन् । कोभिडले नै अर्थतन्त्रलाई कमजोर बनाइदियो । यस्तो बेलामा नयाँ तरिकाले बैंकिङ क्षेत्रमा योगदान कसरी गर्नेभन्दा डिजिटाइजेसन नै हो । यदि डिजिटाइजेसनमा अगाडि नबढेको भए सायद कोरोनाको समयमा अर्थतन्त्रलाई बैंकिङ क्षेत्रले सहयोग गर्न सायद धेरै गाह्रो हुन्थ्यो जस्तो लाग्छ ।
मेगा बैंकले डिजिटाइजेसनलाई अलि पहिलेदेखि नै प्राथमिकता दिइसकेको थियो । डकुमेन्ट म्यानेजमेन्ट सिष्टम र डिजिटल सिग्नेचरमार्फत सिष्टमबाटै ‘अप्रुभुल’ गर्ने प्रणाली विकसित गरेका थियौँ । त्यसकारण कोभिडको समयमा हामीलाई धेरै सजिलो भयो । किनभने हामीले ‘वर्क फ्रम होम’ गर्दा हाम्रो आधार तयार भइसकेकाले डिजिटल कारोबारलाई सुचारु गर्न सक्ने अवस्थामा थियौँ । धेरै कम बैंकले मात्र डिजिटल सिग्नेचर प्रयोग गरेको सुन्नमा पाइन्छ । हाम्रो बैंकले एक हजारभन्दा धेरै डिजिटल सिग्नेचर प्रयोग गरेर अटोमेसनमा लगिसकेको छ । क्रेडिट फाइलसमेत सिष्टमबाटै स्वीकृत गर्न थालिसकेका थियौँ ।
अन्य कारोबारको पनि डिजिटल प्लेटफर्म बनिसकेकाले ग्राहकहरु बैंकमा आउन परेन, जसले सेवा दिन सजिलो भयो । हाम्रो योजनामा त डिजिटल शाखा नै खोल्नेसम्मका छन् । कठिन समय भएकाले यो अवधिमा चुनौतीहरु अलि बढी नै भए ।
डिजिटल कारोबार बढेसँगै साइबर सेक्युरिटीमा चिन्ता बढेको देखिन्छ नि ?
यसमा राष्ट्र बैंकले पनि सेक्युरिटी अडिट गराउन भनिरहेको हुन्छ । हामीले विदेशबाट समेत झिकाएर सेक्युरिटी अडिट गराउँदै आएका छौँ । रिस्क हेर्ने हामीले छुट्टै विभाग खडा गरेका छौँ । पहिला कर्जालाई मात्र हामी रिस्कका रुपमा लिन्थ्यौँ भने अब, अप्रेसन रिक्स कम गर्न इन्फरमेसन सेक्युरिटी अफिसर(आइएसओ) राख्छौँ । साइबर सेक्युरिटीमा हामीले लगानी बढाएका छौँ ।
अहिलेको तरलता अभावको समस्यासँग कसरी जुधिरहनुभएको छ ?
यसमा त हामी सबै जना जुधिरहेकै छौँ । अहिले पनि हेर्दाखेरि डिपोजिट बढेको छैन बरु कर्जाको माग बढेको छ । यो अवस्था परिवर्तन हुनुपर्छ । रेमिटेन्सको वृद्धि पनि घटेको देखिएको छ । बैंकिङ क्षेत्रको सिडी रेसियो ९० प्रतिशत नाघेको अवस्था छ ।
अब सहज परिस्थिति आउँछ होला । कोरोना पनि कम हुँदै गएको छ । अब टुरिजम क्षेत्र पनि राम्रो हुन्छ होला । राष्ट्र बैंकले पनि पहल गरिरहेको छ । यो समस्या छिट्टै समाधान हुन्छ भन्नेमा हामी सकारात्मक नै छौँ ।
बैंकिङ क्षेत्रमा महिलाको उपस्थिति धेरै छ, त्यसको तुलनामा नेतृत्व तहमा अझै कमै हुनुहुन्छ, किन होला ?
हरेक क्षेत्रमा विस्तार–विस्तारै परिवर्तन आइरहेको छ । बैंकिङ क्षेत्रमा करिब ४३ प्रतिशत महिला जनशक्ति छ भन्ने छ । त्यसकारण अहिले मजबुत आधार बनिसकेको छ । अबका दिनमा बैंकिङ क्षेत्रको नेतृत्व तहमा महिलाहरु आउँदैनन् भन्न नै मिल्दैन । अहिलेको अवस्थाअनुसार एक दिन महिलाहरु धेरै बैंकको नेतृत्व तहमा पुग्ने प्रबल आधार बनेको छ ।
अहिलेको समयमा अझै पनि महिलालाई माथि आउन गाह्रो भइरहेको छ । सहायक तहमा जागिर खान्छौँ, सुपरभाजर तहमा आउँदा बिहे हुन्छ, अफिसर हुँदा बच्चा हुन्छ, त्यो अवस्थामा घरको ड्युटी पनि बढ्छ र अफिसको ड्युटी पनि बढ्छ ।
महिला र पुरुषको ग्याप कम गर्न सुधार परिवारबाटै सुरु हुनुपर्छ भन्ने मलाई लाग्छ । केटा मान्छेले घरमा दिने समय र केटी मान्छेले घरमा दिने समय त अहिले पनि फरक छ । त्यसकारण अफिसर तहबाट मेनेजर तहमा जान महिलाहरुलाई पुरुषसँग प्रतिस्पर्धा गर्न यही गाह्रो हुन्छ र पुरुषहरुले उछिन्ने गरेका छन् । त्यसकारण हरेक परिवारमा छोरालाई जत्तिकै छोरीलाई पनि ‘करिअर’मा सहयोग हुुनुपर्छ । त्यसपछि महिला पनि प्रतिस्पर्धामा पुरुष सहकर्मीसँग लड्न सक्छन्, फड्को मार्न सक्षम हुन्छन् । महिलाहरुमा क्षमताको अभाव छैन, मात्र परिवारबाट सहयोगको आवश्यकता छ ।
बैंकिङ क्षेत्र तथा आफ्नो ‘करिअर’मा उच्च तहमा पुग्ने सफलता देखेर संघर्षमा रहेका महिलाहरुलाई के भन्नुहुन्छ ?
मुख्य कुरा पहिलो आफ्नो भिजन बनाउने र त्यसमा दृढ हुने हो । आफूले अठोट नगरी कहीँ पुगिँदैन । र त्यसमा आउने उल्झनलाई म झेल्न सक्छु भन्ने आत्मविश्वास चाहिन्छ । आत्मविश्वास बलियो छ भने सफलता टाढा छैन ।
सकारात्मक सोचका साथ काम गर्दै जाँदा अवसर आफैँ आउँदा रहेछन् । मिहेनत गरेपछि अवसरहरु स्वतः आउँछन् त्यसलाई समाउँदै अघि बढ्ने हो । बैंकिङ क्षेत्रमा धेरै महिलाहरु क्षमतावान् र उत्साही देखेको छु । उहाँहरुलाई मेरो अनुरोध छ, यात्रामा पटक–पटक असफलता पनि भोग्नुपर्ला । तर, हार खानुहुन्न, असफलता भनेको सफलताका लागि स्टेपिङ स्टोन हो भन्ने बुझ्नुपर्छ । अठोटका साथ अघि बढ्ने भने सफल पक्कै होइन्छ । विश्मै महिलाले नेतृत्व गरेका संस्थाले अन्यभन्दा ५ देखि १० प्रतिशतसम्म बढी मुनाफा कमाएका छन् भन्ने चाहिँ अध्ययनले नै देखाइसकेको छ ।