नेपालगञ्ज । बाँके जिल्लमा घुुमवा प्रहरी र अपराधीक गतिविधिमा संलग्न व्यक्तिबीच साँठगाँठ बढेको छ । कतिसम्म भने लागुऔषध तस्करी गर्नेसँग समेत प्रहरीको सेटिङ चल्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले खटाएका घुमुवाहरु असइ विवेक अधिकारी र सिपाही विनोद केसीले अपराधिक समूहसँग साँठगाँठ गरेर पैसा असुल्न थालेका हुन् । उनीहरुले लागुऔषध तस्करी गर्नेलाई समेत संरक्षण दिन थालेको प्रहरी स्रोत बताउँछ । नेपालगञ्जको नेपाल बैंक लिमिटेडको पछाडी बस्ने रिजाउल तथा कोहलपुरकाल अनमोल नामक व्यक्तिलाई लागूऔषध कारोबारमा सघाएका हुन् । मासिक पैसा लिएर उनीहरुलाई घुुमवा प्रहरीले सघाउने गरेको जिप्रका स्रोत बताउँछ । उनीहरुले भारतको हराइच जिल्लाका इम्तियाज फिजा किनारा स्टोरका तस्करहरुसँग मिलेर कारोबार गर्दै आएका छन् । सो समूहले हतियारको समेत कारोबार गर्दछ ।
हिरमुनियाका कुख्यात तस्कर मन्सुर लगायतले पनि प्रहरीसँग सेटिङ मिलाएर आफ्नो धन्दा चलाइरहेका छन् ।
त्यस्तै, जिल्लाका सबै क्यासिनोमा नेपाली प्रवेशलाई खुला गरिएको छ । मासिक डिल मिलेपछि प्रहरीले क्यासिनोमा नेपालीलाई प्रवेश खुला गरेपछि बाँके र आसपास जिल्लाका जुवाडे समेत क्यासिनोमै भेला हुन थालेका छन् ।
आफु नेपाली कांग्रेसको खास मान्छे भएको र कसैले केही गर्न नसक्ने भन्दै एसपी अधिकारी असुलीमा केन्द्रीत भएका हुन् । अब २–३ महिना मात्र बाँकेमा रहने भएकाले उनले सेटिङमा तस्करी समेत खुलाउन लागेको स्रोत बताउँछ ।