काठमाडौं । अभिनेत्री दिया पुन सर्वोच्च शिखर सगरमाथा आरोहणमा निस्केकी छन् । सगरमाथा आरोहणमा निस्किनुअघि उनलाई मंगलबार चलचित्र ‘मन्त्र’ टिमले राष्ट्रिय झण्डा र पोस्टरसहित बिदाइ गरेको छ । दिया बुधबार आरोहणका लागि सगरमाथा क्षेत्रतर्फ लागेकी हुन् ।
आफ्नै ४२ लाख रुपैयाँ खर्चमा सगरमाथा आरोहण गर्न लागेकी दीयाले तीनवटा च्यारिटीको लागि हिमाल चढ्न लागेकी हुन् । मौसमले साथ दिए अप्रिल ६ मा दीया सगरमाथा चुचुरोमा पुग्नेछिन् ।
झण्डै तीन महिनाको आरोहण कार्य सकेर उनी मे अन्तिमतिर फर्कने कार्यक्रम छ । आरोहणमा उनलाई विश्व कीर्तिमानी आरोही निर्मल पूर्जा र मिङ्मा शेर्पाले साथ दिनेछन् । एलिट एक्सिपिडिसन आरोहण दलमार्फत दीयाले हिमाल चढ्न लागेकी हुन् ।
अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवा चढेर आरोहण यात्रा थालेकी दीयाले यसअघि ८ हजार १६३ मिटर अग्लो हिमाल मनास्लु पनि चढेकी छन् ।
सगरमाथा आरोहणको उत्सुकताबारे उनले अगाडि भनिन्, ‘सामागाउँमा चलचित्र छायाँकन गर्ने क्रममा बिहान मनास्लु हिमाल प्रष्ट देखिन्थ्यो । त्यतिबेला हिमाल चढ्छु भनेर सोचेकी थिइनँ । अब सगरमाथा चढ्ने कोसिस गर्दैछु ।’