काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाबीच टर्कीमा भेट हुन लागेको रुस सरकारले पुष्टि गरेको बिबिसीले जनाएको छ ।
फेबु्रअरी २४ मा युक्रेनमा रुसले आक्रमण सुरु भएपछि उनीहरूबीच हुने लागेको यो पहिलो बैठक हो । लाभ्रोभ एउटा अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा सहभागी हुन टर्की जान लागेका हुन् । त्यहाँ नै उनको कुलेबासँग भेट्ने योजना तय भएको विदेश मन्त्रालयकी एक प्रवक्तालाई उद्धृत गर्दै रुसी सरकारी सञ्चारमाध्यम आरआईए नोभोस्तीले जनाएको पनि बिबिसीले उल्लेख गरेको छ ।
टर्कीका विदेशमन्त्रीले त्रिपक्षीयबैठक प्रस्तावित गरेका पनि बताइएको छ । अहिलेसम्म उक्त बैठक बिहीवार हुने बताइएको छ । कूटनीतिक मञ्चको बैठक भने शुक्रवार हुनेछ ।
रुस र युक्रेनबीच शान्तिवार्ता चुनौतीपूर्ण देखिएको छ । अहिलेसम्म भएका वार्तामा कुनै सहमति हुन सकेको छैन ।