काठमाडौं । पश्चिमा देशहरुको प्रतिबन्ध सामना गरिरहेको रुसले त्यसको जवाफमा आफ्नो देशबाट पनि विभिन्न सामग्री निर्यातमा रोक लगाउने निर्णय गरेको छ ।
बिबिसीले उल्लेख गरेअनुसार रुसी प्रतिबन्धका कारण दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनहरूको निर्यातमा रोक लाग्नेछ । यो रोक सन् २०२२ को अन्त्यसम्म रहने बताइएको छ ।
रुसको अर्थ मन्त्रालयले थप प्रतिबन्धहरूमा रुसी बन्दरगाहमा विदेशी पानी जहाजहरूलाई पनि प्रतिबन्ध लगाउन सक्ने बिबिसीलगायत अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
रुसले ‘मैत्रीपूर्ण व्यवहार नगर्ने’ देशहरुमाथि लगाइएको प्रतिबन्ध ‘अर्थतन्त्रका प्रमुख क्षेत्रको निर्वाध कार्य सुनिश्चित गर्ने उद्देश्य’का साथ लगाइएको जनाएको छ । रुसी निकासी प्रतिबन्धमा २०० भन्दा बढी उत्पादनहरू समावेश गरिएका छन् । पश्चिमाहरूले विशेषगरी रुसी तेल खरिदमा प्रतिबन्ध लगाएका छन् ।
त्यस्तै उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिननजिक मानिने रुसी अर्बपतिविरुद्ध पनि त्यस्ता आर्थिक प्रतिबन्धलाई केन्द्रित गरेका छन् । रुसी निर्यात प्रतिबन्धले अमेरिका र ईयूसहित करिब ४८ देश प्रभावित हुने भएका छन् ।
बिबिसीका अनुसार रुसी आदेशमा जर्जियाका छुट्टिएका क्षेत्रहरू दक्षिणी ओशीसा र अब्काजिया तथा रुसको नेतृत्वमा रहेको युरेसियन इकोनोमिक युनियनका सदस्यलाई निर्यात छुट दिन सकिने उल्लेख छ ।
रुसका पूर्वराष्ट्रपति दिमित्री मेद्भेदेभले रुसबाट बाहिरिएका पश्चिमी कम्पनीहरूको स्वामित्वमा रहेको सम्पत्तिलाई राष्ट्रियकरण गर्न सकिने चेतावनी दिएलगत्तै सरकारको यस्तो निर्णय आएको हो ।
रुसमा अहिले औद्योगिक तथा खनिज क्षेत्रका ठूला बहुराष्ट्रिय कम्पनीहरूले सामूहिक रूपमा लगानी रोकिरहेका समाचारहरु समेत आइरहेका छन् । बुधबार मस्कोले अनुमोदन गरेको एउटा कानुनले देश छोड्ने विदेशी कम्पनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने दिशामा पहिलो कदम चालेको बताइएको छ ।
बिहीबार एउटा वक्तव्यमा मेद्भेदेभले भनेका छन्, ‘रुस सरकारले पहिले नै केही उपायमा काम गरिरहेको छ र त्यसमा‘ विदेशी कम्पनीका सम्पत्तिको राष्ट्रियकरण समावेश छ ।’ विदेशी लगानीकर्ताले सामान्य रुसी नागरिकमा ‘आतंक’ सिर्जना गरेको उनले आरोप लगाएका छन् ।