काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त समझदारीपत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकलाई गैरकोषमा आधारित एलसी, बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङजस्ता सुविधा उपलब्ध गराउने छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
यसैगरी कामना सेवा विकास बैंकले देशभर रहेका आफ्ना १३२ वटा शाखा, एक विस्तारित काउन्टर, चारवटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।