काठमाडौं । रुसले चीनसँग सैन्य सामग्री सहायता मागेको अमेरिकी अधिकारीहरूले दावी गरेका छन् । उनीहरुले भिन्नाभिन्नै पत्रिकाहरूलाई प्रतिक्रिया दिँदै यस्तो दावी गरेका हुन् ।
फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङ्सँग त्यस्तो मद्दत मागेको थियो । तर, विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन ।
बिबिसीले उल्लेख गरेअनुसार वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए । उनले चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको बताए ।
हालसम्म चीनले रुस–युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । तर, उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन ।
रुसलाई पश्चिमा प्रतिबन्ध छल्न सहयोग गरे चीनले त्यसको परिणाम भोग्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन् ।