काठमाडौं । रुसले सैन्य तथा आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीको दाबीलाई चीनले खण्डन गरेको छ ।
आइतबार अमेरिकी दुई जना अधिकारीले विभिन्न पत्रिकामा आएका विवरण अनुसार युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेलगत्तै रुसले चीनसँग ड्रोनसहित सैन्य एवं आर्थिक सहयोग मागेको दाबी गरेका थिए । तर, उक्त दाबीलाई अमेरिकास्थित चिनियाँ दूताबासले खण्डन गरेको छ ।
चिनियाँ दूताबासका प्रवक्ता लिउ पेङयूले सैन्य एवं आर्थिक सहयोग मागेको कुरा आफूले ‘कहिल्यै नसुनेको’ भन्दै अमेरिकी अधिकारीको दाबी खण्डन गरेका हुन् ।
युक्रेनको पछिल्लो अवस्थालाई लिएर चीन चिन्तित बनेको र आफूहरूले युक्रेनलाई निरन्तर मानवीय सहायता प्रदान गर्ने उनले प्रस्ट पारे ।
पेङयूले अवस्थालाई नियन्त्रण बाहिर जान दिनबाट रोक्नुपर्ने समेत बताए । ‘अहिलेको प्राथमिकता भनेको तनावपूर्ण अवस्थालाई चर्किन वा नियन्त्रण बाहिर जानबाट रोक्नु हो’, सीएनएनसँग कुरा गर्दै उनले भने, ‘चीनले अधिकतम संयमता अपनाउन र भयङ्कर मानवीय संकट रोक्न समेत अपिल गर्छ ।’