Logo
Logo

पण्डित्याईँ र धुत्र्याईबीच जकडिएको कम्युनिष्ट आन्दोलन


दामोदर आर्यल

6k
Shares

कम्युनिष्टहरु पढछन् । मार्क्स, लेनिन, माओ र रोजा मात्र होइन, अरु थुप्रै छन् । पढ्नु समस्या होइन । समस्या पढिसकेपछि आँखा मिच्दै तदनुकुलको समाज खोज्नु हो ।

पुरानो साहित्यअनुसारको नँया समाज हुँदैन । नँया समाजमा नँया साहित्य लेख्नुपर्छ । तर, पुरानो साहित्यकै जगमा नँया साहित्य लेखिने हो ।

अहिले मार्क्स, लेनिन, माओ र रोजाको पालाको विश्व समाज छैन । श्रमजीवी वर्गहरुको माग र आन्दोलन फरक छ । पुँजीपतिहरुको शैली र दमनको तरिकाहरु फरक छन् । शोषणका रुपहरु पनि परिवर्तन भएका छन् ।

अहिले हरेक मुलुकको श्रमजीवी वर्गको स्थिति, माग, आन्दोलन र शैली पनि विशिष्ट छन् । सबै नयाँ भएपछि पुराना साहित्यले नँया विश्व समाजलाई कसरी पर्घेल्न सक्छ ? यो रोगबाट नेपालको कम्युनिष्ट आन्दोलन नराम्रोसँग प्रताडित छ ।

उदाहरण एमसीसीलाई लिन सकिन्छ । नेताहरुले कतै पढे- साम्राज्यवादीहरु हैकम जमाउन परियोजनाका नाममा पैसा बोकेर अल्पविकसित देशहरुमा छिर्छन् । यो कुरा सत्य होला । इन्कार गर्न सकिँदैन ।

नेपालको कम्युनिष्ट आन्दोलनमा भित्रिएको एक महारोग हो, व्यक्तिवाद । कार्यकर्ताले खुलेआम आफ्नो नेताको जयजयकार गर्छ । र, आफूलाई माक्र्सवादी र जबजवादी भन्दै गर्व गर्छन् । यो हदसम्मको घिनलाग्दो व्यक्तिवाद कम्युनिष्ट आन्दोलनमा कहिल्यै देखिएको थिएन ।

तर, अर्को सत्य पनि छ । विदेशी अनुदान वा ऋण हाम्रो मुलुकको आर्थिक जिवनको लागि अपरिहार्य छ । कि हामीले भन्न सक्नुपर्यो- हामीलाई विदेशी सहयोग चाहिँदैन । यदि भन्न सकिँदैन भने हाम्रो राष्ट्रिय स्वाधिनता र गौरव नखुम्चिनेगरि त्यस्ता सहयोग र कार्यक्रमहरु स्वीकार गर्नुको विकल्प छैन ।

उनीहरु हामीमाथि चाहिने वा नचाहिने शर्तहरु थोपार्नु खोज्छन् । तर सर्तक हुने हामी आफै हो । एमसीसीमा पनि नेपाली नेताहरु चुकेकै थिए । एमाले र कांग्रेसले त एमसीसीमा आत्मसर्मपण नै गरेका थिए । तर, जनताले मानेनन, तिव्र विरोध भयो ।

एमसीसीविरुद्ध जनताले विरोध र आन्दोलन नगरेको भए नेपालको सार्वभौम अधिकारमा ठेस पुग्ने थुप्रै प्रावधानसहित पारित हुन्थ्यो । आन्दोलनको जगमा नेपाली संसदले ११ बुँदाको व्याख्यात्मक टिप्पणीसहित पास गरेको हुनाले हामी जोगियौं । यसबाट मुलुकको आत्मस्वाभिमान कायम भएको छ । र, एमसीसी पनि स्वीकार भएको छ । एमाले-कांग्रेसहरुको अमेरिकासंगको निशर्त आत्मसर्मपण गर्ने प्रवृत्तिको भण्डाफोर पनि भएको छ ।

अझै पनि केही कम्यनिष्टले ‘साम्राज्यवादीहरुको पैसा’ भनिरहेका छन् । उनीहरु यति अडिक भएका छन् कि मुलुकको वास्तविकताबाट धेरै टाढा पुगे । अध्ययनले समाजको वास्तविकता बुझाउन मद्त गर्नुपर्छ । यदि अध्ययन समकालिक भएन भने त्यस्तो अध्ययन पण्डित्याई भन्दा कुनै हिसाबले भिन्न हुँदैन ।
०००

‘पण्डित्याईँ कोर्स’ गरेका केही कम्युनिष्टले संसदको नाम नै उच्चारण गर्न चाहँदैनन् । उनिहरु ठूलो-ठूलो स्वरले संसदवाद ! संसदवाद !! भनेर चिच्याइरहेका छन् ।

इतिहासको कुनै कालखण्डमा वेलायतमा श्रमिकवर्ग र महिलालाई मताधिकारबाट वंञ्चित गरिएको संसदीय व्यवस्था अभ्यासमा थियो । त्यसबेला विद्धानहरुले त्यो संसदको विरोध गर्नु वा संसद भनेको खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भन्नु जायज थियो होला । तर, के नेपालको संसद अहिले त्यस्तै छ ? नेपाली संसद जनताको वास्तविक प्रतिनिधिस्थल होइन ?

संसदमा श्रमिकवर्गको प्रतिनिधि निर्वाचित भएर आउन सक्दैनन् ? यतातिर वैद्य र विप्लवहरुको ध्यान गएकै छैन । उनीहरु सिद्धान्तको नशामा लट्ठ छन् । यति लट्ठ छन् कि संसार कँहा पुग्यो होसहवास नै छैन । त्यसैले उनीहरु चुनाव वहिष्कारको नारा उचालिरहेका छन् ।

कम्युनिष्टले चुनाव वहिष्कार गर्नु भनेको प्रकारान्तरले प्रतिक्रियावादीको सेवा होइन ? यति नबुझ्नेले क्रान्तिको कुरा गर्न सुँहाउछ ? जनताप्रति विश्वास नगर्ने, श्रमजीवीहरुको चेतना र शक्तिको भर नपर्नेहरु सच्चा कम्युनिष्ट हुनै सक्दैनन ।
०००

कम्यनिष्टको अर्को रोग भनेको आफूलाई अनुकुल बनाउन हरेक विषयवस्तुलाई सिद्धान्तको जलप लगाइदिने । केपी शर्मा ओलीले माओवादीसँग एकता गरे । धेरै टिकाउन सकेन । केही वर्षमै भङ्ग गरे । एकता गर्दा उनले भनेका थिए– अब जनताको बहुदलिय जनवादको काम छैन, अब हाम्रो सिद्धान्त ‘जनताको जनवाद’ हो ।

विभाजन गरेपछि उनले भने- ‘जनताको बहुदलिय जनवाद’ नै सत्य हो । उनको पछि लाग्ने कसैले ओलीलाई सोध्ने हिम्मत गरेको छैन- कमरेड ! जनताको जनवाद ठिक कि जनताको बहुदलिय जनवाद ? हिजो तपाईँ गलत हुनुहुन्थ्यो कि आज गलत हुनुहुन्छ ?

माओवादीले जनयुद्ध शुरु गरे । त्यसको सैनिक कमाण्डर बादल थिए । आज उनै वादलले माओवादीलाई हत्यारा भनेर आरोप लगाइरहेका छन् । उनले आजसम्म कतै जवाफ दिनुपरेको छैन । उनि हिजो ठिक थिए की आज ? ओली स्वतन्त्र न्यायापालिको कुरा गर्छन् । तर न्यायालयको फैसलालाई ‘परमादेश’ भनेर खिल्ली उडाउछन् । संसद मान्छु भन्छन, संसद भङ्ग गर्छन् ।

जनताका समस्याको छलफल गर्ने ठाँउ संसद हो भन्ने कुरामा उनको विमति छैन । तर, संसदभित्र नारा जुलुस गरेर संसद चल्न दिँदैन । उनी अदालतमा विचाराधिन मुद्धा संसदको छलफलको विषयवस्तु बन्न नसक्ने संवैधानिक व्यवस्थाको खिलाफमा छैनन, तर उक्त मुद्धाहरु संसदभित्र छलफल गराउन मरिहत्ते गर्छन् । यो अराजनैतिक धुत्र्याई होइन ? यस्ता धुत्र्याईहरुको लामो फेहरिस्त बनाउन सकिन्छ । तर, यी सवै कुराहरुलाई उनी सिद्धान्तको जामा लगाउन भने विर्सदैनन्।
०००

नेपालको कम्युनिष्ट आन्दोलनभित्र भित्रिएको अर्को महारोग हो, व्यक्तिवाद । व्यक्तिवाद हिजो पनि धेरथोर थियो होला । तर आज यो सिमा बाहिर पुगेको छ । एउटा कम्युनिष्ट कार्यकर्ताले खुलेआम आफ्नो पार्टीको नेताको जयजयकार गर्छ । हामीले सडकमा सुनेका छौ, ‘आइ लव यु केपी बा’ ।

तथापी त्यो कार्यकर्ता आफूलाई माक्र्सवादी र जबजवादी भन्न चुक्दैन । यो हदसम्मको घिनलाग्दो व्यक्तिवाद कम्युनिष्ट आन्दोलनमा कहिले पनि देखा परेको थिएन । कम्युनिष्ट आन्दोलनलाई जोगाउने हो भने यो प्रवृत्तिको विरोध गरेर मात्र पुग्दैन, समुल नष्ट गर्नुपर्छ ।

एकातिर पुराना साहित्य पढेर धारणाहरु निर्माण गर्ने प्रवृत्ति छ । अर्कोतिर माक्र्सवादी दर्शनको अध्ययन विना नै कम्युनिष्ट पार्टीमा काम गर्ने चलन छ । गलत अध्ययन गर्नु जति खराव छ, त्यति नै खतरनाक, अध्ययन विनाको राजनीति पनि हो । हामी किन कम्युनिष्ट भएका छौ ? कम्युनिष्ट पार्टीको राजनैतिक, सामाजिक र आर्थिक परिवर्तनका एजेण्डाहरु के-के हुन ? त्यसलाई प्राप्त गर्ने तरिका के हो ? यस्ता सामान्य प्रश्नहरुको उत्तर थाहा नपाई कम्युनिष्ट पार्टीमा लाग्नेहरुले ‘आइ लब यु केपी बा’ भन्दा अरु के भन्न सक्छन र !

कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई अराजनीतिक बनाउने काम प्रतिक्रियावादीको ठूलो डिजाइन अनुसार भएको हुनुपर्छ । किनकी प्रतिक्रियावादीलाई राम्रोसँग थाहा छ, कम्युनिष्ट पार्टीलाई विचारविहिन नबनाई हराउन सकिँदैन ।
०००

चुनाव नजिकिँदै छ । चुनावको महत्वपूर्ण नारा विकाश र समृद्धि होला । हुनुपनि पर्छ । भोली–पर्सी समाजवाद आउछ भनेर आजको समस्यावाट कम्युनिष्ट पार्टी भाग्न पाउँदैन । तर आजको समस्याको समाधान र भविष्यको समाजवादी गोरेटोको निर्माण पनि सच्चा कम्युनिष्ट पार्टीले नै गर्ने हो ।

तर कम्युनिष्टलाई तितरवितर बनाइएको वेलामा एउटा सच्चा कम्युनिष्ट पार्टीको निर्माण पनि आगामी निर्वाचनको एजेण्डा हुनुपर्छ । आन्दोलनभित्रै रहेको नाटक गरेर कम्युनिष्टलाई छरपष्ट पार्ने दुष्टहरुको पराजयबाट यो महान कामको शुरुवात हुनसक्छ ।

रोम जलिरहँदा त्यँहाको शासकले बाँसुरी बजाइरहेका थिए रे ! भन्ने उखान हामीले धेरै पटक सुनेका छौँ । सत्य के हो त्यो थाहा छैन । तर अहिले थाहा पाएको सत्य के हो भने कम्युनिष्ट पार्टी विभाजित भैरहेको बेला उखान टुक्काहरुमा को रमाइरहेको छ ? लगभग दुई तिहाईको सरकार कस्का कारणले पतन भयो ? को अहिले पनि वाम एकताको विरोधि छ ? यी प्रश्नहरुको उत्तर सवैलाई थाहा छ ! यीनै प्रवृत्तिहरुको नायक र वाहकहरुको पराजय र पतन आजको आवश्यकता हो । अनि मात्र कम्युनिष्ट आन्दोलनको रक्षा र विकाश सम्भव छ ।

त्यसवाहेका पुराना किताबहरु पढेर नँया समाज हाँक्न खोज्ने माक्र्सवादी पण्डितहरुको निर्मम भण्डाफोर पनि त्यतिकै आवश्यक देखिन्छ । यी दुई प्रवृत्तिको पराजय र पतनमा मात्र नेपालको कम्युनिष्ट आन्दोलन जोगिन सक्छ । आउने निर्वाचन यसैका लागि प्रयोग गरौं !

लेखक नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्