कसैलाई उछिन्नुअघि आफ्नो गति र मतिको हेक्का राख्नुर्छ । अन्यथा, जीवन भुइँमा न भाँडामा भएर पोखिएका तीता यथार्थहरु हाम्रोसामु बग्रेल्ती छन् ।
यो युक्ति व्यक्तिगत सवालमा मात्रै होइन, हामीले अनुशरण गर्ने सामाजिक गतिविधिमा पनि उत्तिकै लागू हुन्छ । तीतो विगत बिर्सिएर वर्तमानको क्षणिक गुलियोमा मात्रै भुलियो भने भोलिको बिहानीले आफैँलाई मार हान्दाको बखत सहन मुस्किल पर्न सक्छ ।
देशलाई समस्याको चाङमाथि छोडेर सिद्धान्तका बासी रोटी सेक्न पल्किएका केही थान मान्छेहरु अचेल त्यस्तै बर्बराइरहेका छन् । आग्राका कुरा गर्नुपर्ने बेला गाग्राका गीत गाइरहेका छन् ।
लोकदोहोरी गीतको धुन बजिरहेको बखत भोजपुरीको तालमा कम्मर मर्काइरहेका छन् । समयले पूर्वतिर हिँड्न दिशानिर्देश गरिरहेको छ, यद्यपि, उनीहरु बटारिएर पश्चिमतर्फ कुँद्न मरिहत्ते गर्दैछन् ।
मन नपरे छाता फाल्न पाइन्छ तर, त्यही छाताको ओत लागेर छातालाई च्यात्नुचाहिँ नैतिकहराम हुनु हो भन्ने सायद उनीहरुलाई मेसो छैन । अहिलेको सत्ता समीकरण मुलतः प्रतिगमनविरुद्ध गरिएको आन्दोलनको बलमा स्थापित शक्ति हो ।
कम्युनिष्टकै काँधमा उपरखुट्टी लगाएर उसैलाई सराप्नुको कुनै औचित्य छैन । यिनै कम्युनिष्टहरुले दया नगरेको भए आफ्नै पार्टीभित्र गुटैगुटको लहरोले जेलिएको कांग्रेसको अवसान निकै सन्निकट थियो ।
यतिबेला संस्थापन पक्षसँग पेलिएर बिरक्तिएका कांग्रेसका केही नेताहरुले आफू एक्लै चुनाव लड्ने धक्कु लगाउँदै हिँडेका छन् । आफ्नै पितृको भाइ अंश नै दिएजस्तो गरी आएका केही कांग्रेसी नेताका निरन्तरका अभिव्यक्तिले पाँच दलीय गठबन्धनको अन्तर्यमाथि निरन्तर प्रहार गरिरहेका छन् । सायद यिनीहरुले हिजो ‘कम्युनिष्ट गठबन्धन’ हुँदा कांग्रेस कसरी भित्तामा टाँसिएको थियो भन्ने कुरो यति छिट्टै बिर्सिएका छन् ।
पार्टीभित्र पेलिनु पर्दाको कुण्ठालाई सार्वजनिक मञ्च र सामाजिक सञ्जालमा छरपस्ट पारिरहेका यी नेताहरुमा पहिलो त राष्ट्रिय राजनीति गर्न लायक खुबी नै देखिएन । दोस्रो, सत्तामा पुग्यो कि हिनहिनाउन थालिहाल्ने आत्मघाती प्रवृत्ति यिनीहरुले कहिल्यै त्याग्न सकेनन् ।
२०७४ सालको निर्वाचनपछि संसद्को एउटा कुनामा मुटु मिच्दै टिठलाग्दो अनुहार लगाएर बस्नु पर्दाको अवस्था बिर्सिएर अहिले कुर्लिनुको कुनै तुक छैन ।
सधैँजसो सरकारमै हाबी भइरहेको कांग्रेसको यात्रा लगभग दशकसम्मकै लागि टुंगिएकामा ऊ आफँै ढुक्क थियो । फलस्वरूप ‘छाँया सरकार’ गठन गर्दै लोक हँसाएर आत्मसन्तोष लिने प्रयत्न गरेको पनि अस्ति भर्खरै होइन र ?
त्यसैले कम्युनिष्टकै काँधमा उपरखुट्टी लगाएर उसैलाई सराप्नुको कुनै औचित्य छैन । यिनै कम्युनिष्टहरुले दया नगरेको भए आफ्नै पार्टीभित्र गुटैगुटको लहरोले जेलिएको कांग्रेसको अवसान निकै सन्निकट थियो ।
सामन्तवादको केन्द्रविन्दु राजसंस्था जो कानुनतः समाप्त भइसकेको छ । तर, अझै पनि सामन्तवादी चिन्तनका आवशेषहरू विशेषगरी राजनीतिक, क्षेत्रमा व्याप्त छन् । फेरि पनि प्रतिगमन उल्ट्याउन पाइन्छ कि ? भन्ने आसय बोकेर केही थान हुट्टीट्याउँहरु गाउँ पस्न थालेका छन् ।
झुठ र आश्वासनको कुम्लो बोकेर अग्रगामीहरुलाई सराप्दै छन् । भए÷नभएका आरोप लगाएर आफू पानीमाथिको ओभानो बन्ने दुष्प्रयत्न गर्दैछन् । आफ्नो एकाधिकारवादी चिन्तनको ओछ्यानमा ढल्किएर सर्वाधिकारका नारा लगाउँदै छन् । हुन त शासकहरूसँग तर्कको तान हुँदैन । केवल आरोप र दण्डको बट्यौटोमात्र हुन्छ । सिर्जनाको कुनै बरियो हुँदैन, यिनीहरुसँग त केवल स्वार्थको सुर्कानो मात्र हुन्छ ।
सारत–गल्लीहरुमा स्वार्थपूर्ण भ्रमजाल बिछ्याएर देश लुट्न बानी परेका सन्की शासकहरुलाई तह लगाएर लोकतान्त्रिक व्यवस्थाको रक्षाका खातिर गठन गरिएको यो गठबन्धनले आफ्नो मर्म र कर्म पूरा गर्न सक्यो भने देश भविष्यमा न्यायोचित दिशामा अघि बढ्न सफल हुनेछ भन्ने मानेमा झिनो भए पनि आशावादी बन्न सकिन्छ । यद्यपि, पछिल्लो समय कांग्रेस नेताहरुबाट फुत्किएका केही असान्दर्भिक विचारहरुले यसमा गम्भीर शंका उत्पन्न गरेको छ ।
सत्ताबिना बस्नै नसक्ने र हात लाग्यो कि– आफ्ना खुट्टी नहेरेरै बटारिन थाल्ने एकथरि जमात आज कैलाश पर्वत र लंकाको कथन सुनाउँदै हिँड्न बाध्य भएको छ । त्यो सबै अहंकार र दम्भको प्रतिफल हो भन्ने कुरामा कांग्रेस नेताहरु जानकार नै होलान् । धर्तीमै टेकेर अर्काआई अर्ति दिएको पनि सुहाउँछ ।
अन्यथा, भिरमा जाने के जातिलाई रामराममात्रै भन्न सकिने छ । वडा तहसम्म गुटै–गुटको राँइदलोले घेरिएको कांग्रेसलाई एक्लै निर्वाचनमा हाम फल्नु पनि चानचुने पक्कै हुने छैन । ‘राजनीति सम्भावना खेल हो’ भनिएझैँ कथमकदाचित कम्युनिष्ट घटकहरु एक भइहाले भने हरिबिजोग हुने फेरि पनि उही कांग्रेसकै हो । तसर्थ, सरासर हेर्दा यो गठबन्धन जोगाउन सक्नुमा नै कांग्रेसको भलो देखिन्छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले कुम हल्लाएमात्रै कांग्रेस शिखरबाट पाहा पछारिएझैँ एकैपटक भुइँमा खस्नुपर्ने बाध्यता छ । पार्टीको आन्तरिक चुनावमा उत्तेजित भाषणकै आडमा पद चड्काएजस्तो राष्ट्रिय चुनावमा सजिलो हुँदैन भन्ने कुरो कांग्रेस नेताहरुले बुझ्न जरुरी छ । हिजो पाँच दलीय गठबन्धनले एउटा अध्यायमा जमेर संघर्ष गरी प्रतिगमनलाई किनारा त लगायो । तर, अझैसम्म त्यो सम्भावित खतरा टरेको छैन ।
प्रतिगामी तत्वहरुले फेरि पनि कताको झ्यालबाट छिरेर देशलाई उधिन्न पाइन्छ भन्दै जोखाना हेरिरहेका छन् । आम जनमानसलाई भ्रमित गर्दै आफ्नो लुटको साम्राज्य स्थापित गर्न दाऊ लगाइरहेका छन् । यो संवेदनशील घडीमा देशलाई प्रतिगामी गुमराहको जञ्जिरबाट उन्मुक्त गर्नु यो गठबन्धनको कर्म हो । पश्चगामी चिन्तन बोकेर गाउँ पस्दै जनता लठ्याउन खोज्ने झुटका पुलिन्दाहरुलाई परास्त गर्नु यो गठबन्धनको जिम्मेवारी हो ।
अन्यथा, मझेरी खनेर आँगन पुर्न खोजियो भने भविष्यको सजाय महंगो पर्न सक्छ । सत्मार्गमा चलिरहेका पदचापहरु अनाहकमा भिरतिरै कुँदेर कुनै उपलब्धि हुने देखिँदैन । अति उत्तेजित र बहकाउ प्रवृत्ति निकै खतरनाक वैयक्तिक आचरण हुन्, यिनीबाट हामी जोगिनु जरूरी छ । सपना पटक–पटक देख्न त सकिन्छ ।
तर, सपनाको बाटो हिँड्ने सामूहिक–भौतिक प्रयत्नको पुनरावृत्ति निकै कम हुन्छ । प्राप्त उपलब्धिहरूको संस्थागत विकास गरी समाजवादको दीर्घकालीन यात्रामा लामबद्ध बन्न साँघुरो भिरतिर हुत्तिने होइन, बरु एउटा फराकिलो मार्गप्रशस्त गर्न जरुरी छ ।
– लमही दाङ