काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी अतिक्रमण अन्त्य गराउने वार्ता विफल हुनुको अर्थ ‘तेस्रो विश्वयुद्ध’ हुने बताएका छन् ।
सीएनएन टेलिभिजनसँग आइतबार कुरा गर्दै जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष कुरा गर्न आफू तयार रहेको समेत बताएका छन् । जारी लडाइँ अन्त्य गर्ने एउटै बाटो भनेको वार्ताहरू भएको कुरामा आफ्नो विश्वास रहेको पनि उनले उल्लेख गरे ।
‘मलाई लाग्छ सहमति गर्ने सम्भावना पहिल्याउनका निम्ति जुनसुकै स्वरूप, अवसरको सदुपयोग गर्नुपर्छ’ सिएनएनसँग जेलेन्स्कीले भनेका छन् ।
यद्यपि रुससमर्थित पृथक्तावादीको पकडमा रहेका क्षेत्रहरूलाई युक्रेनले स्वतन्त्र भएको मान्यता दिनुपर्ने कुनै सम्झौतामा सहमति जनाउन नसक्ने उनले स्पष्ट पारे । जेलेन्स्कीका अनुसार युक्रेन उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको सदस्य भएको भए ‘युद्ध शुरू हुने थिएन’ ।
‘नेटोका सदस्य राष्ट्रहरू हामीलाई आफ्नो गठबन्धनमा हेर्न तयार छन् भने त्यो तत्काल गर्नुप¥यो किनकि हरेक दिन मानिसहरू मरिरहेका छन्’ उनले भने ।