रवीन्द्र श्रेष्ठ
सरकारले गुठी विधेयक संसदमा दर्ता गरेर कानून वनाउने प्रकृया शुरु गरेपछि तीब्र विवाद शुरु भएको छ । सरकारी विधेयक विरुद्ध उपत्यकाका तीनवटै जिल्लामा ०४६ साल र ०६२ सालको जनआन्दोलन सम्झाउने गरी ठुला जनप्रदर्शन र मशाल जुलुश भएकाछन् । सरकारले शुरुमा दमन गरेपनि पछि दमन गर्ने हिम्मत गर्न सकेन । प्रधानमन्त्री स्वयम्ले विधेयकमा गल्ति भए सच्याउने छौ भनेपनि जनता आश्वस्त हुन सकिरहेका छैनन् ।
नेकपाको सरकारले उपत्यकाको प्राचीन आदिम साम्यवादी संस्थाको रुपमा रहेको जनताको सामुहिक गुठी सबै सरकारीकरण गर्ने, गुठीको काम सरकारवाट मनोनित कर्मचारीहरुले गर्ने, गुठीको सम्पति सरकारले वनाएको गुठी प्राधिकरणले वेचविखन समेत गर्न पाउने प्रावधान सहितको विधेयक संसदमा दर्ता गरायो । सो विधेयकको दफा ३(३), दफा २३, दफा २४ र दफा ६४ ले स्पष्ट रुपमा यो अपराधिक कार्य गरेको छ । यो भनेको रणबहादुर शाहको गुठी हरण भन्दापनि नांगो ज्यादति हो ।
उपत्यका वाहिर गुठी समस्या भनेको धार्मिक स्थलहरुका नाममा राखिएका गुठी जमीनमा खेती गरिरहेका किसानहरुले मोहीयानी हक पनि नपाएको समस्या र मोहीयानी हक पाएपनि सो जमीन आफ्नो रैतानी वनाएर अरु जमीन सरह वेचविखन तथा धितो राख्न नपाउने समस्या हो । गुठी जमीनमा मोहीयानी हक लाग्ने व्यवस्था २०३३ सालको गुठी संस्थान ऐनले नै गरेको थियो । तर कयौं वास्तविक किसानहरुलाई पञ्चायतकालमा भएका नापीको वेला नै मोहीवाट नाम हटाउने काम जालीफटाहा सामन्तहरुले गरे । कयौं मोही किसानहरुलाई कूत वुझाएको भर्पाइ प्रमाण नदिएर पछि कूत नतिरेको भनि मोहीवाट हटाइ दिए । जोतभोग भने उनीहरुले नै अहिले सम्म गर्दै आएपनि कानूनी प्रमाण उनीहरु संग रहेन । अहिलेको विधेयकलेपनि यस्ता वास्तविक किसानहरुलाई मोहीयानी हक दिलाउन सक्ने प्रावधान राखेको छैन । तसर्थ यो विधेयक गरिव किसानमारा विधेयक नै रहेको छ ।
उपत्यका वाहिरको गुठीको वनावट र उपत्यकाको गुठीको वनावट फरक रहेको छ । उदाहरणको लागि दाङको स्वर्गद्वारी गुठी राणाकालमा वनाइएको हो । सो वनाइंदा त्यहाँका आदिवासी थारु जातिले जोतभोग गर्दै आएको र थारु समुदायको सामुहिक स्वामित्वमा रहेको जमीनलाइ राणा शासनका आसेपासे सामन्तहरुले सत्ताको आडमा कब्जागरी मन्दिरको नाममा गुठी भनेर राखि दिए । तर पछि पञ्चायतकालमा आउँदा सो स्वर्गद्वारी गुठीको हजारौं रोपनी(सयौं विघा) जमीन सो मन्दिरका पूजारी महन्थको नीजि गुठी भनेर जालझेल पूर्वक दर्ता गरियो । तर उपत्यकाको गुठीको इतिहास भने फरक छ ।
उपत्यका वाहिरका धेरै जनसमुदायमा गुठी नभएपनि आफ्नो संस्कृति, जात्रा, पर्व आदि सबै चल्ने हुन्छ । तर उपत्यकाभित्र गुठीविना यहाँका बहुसंख्यक जात्रा, संस्कृति, पर्व आदि केही पनि चल्दैन । उपत्यकाका नेवार समुदायका लागि गुठी भनेको प्राण बराबर नै हो । गुठी र नेवार समुदायका विचको सम्वन्ध वुझ्न पहिला नेवार समुदाय भनेको के हो भन्ने वुझ्नु पर्दछ । नेवार समुदाय भनेको कुनै एक जात होइन । यो कुनै एक धर्म मान्ने सम्प्रदाय पनि होइन । यस समुदायमा हिन्दू तथा वौद्ध धर्म मान्ने दुबै थरी छन् । नेवा मुश्लिम भनेर मल्ल काल देखि वसोवास गरिरहेका मुश्लिम धर्मालम्वीहरुपनि नेवार समुदायमा छन् । नेवार हिन्दूहरुलाई राजा जयस्थिति मल्लले चार जातमा वाँडेको इतिहास धेरैलाई सम्झना हुनु पर्दछ । नेवार समुदायको हिन्दूहरुमा चार जात अहिलेपनि विद्यमान छ । नेवार भनेका पृथ्वी नारायण शाहले उपत्यका कब्जा गर्नु भन्दा अगाडि उपत्यकामा रहेका नेवारी भाषा वोल्ने सबै जनता हुन् । पृथ्वी नारायण भन्दा अगाडि यहाँ जो जो वसोवास गर्न आए, ती नेवार भए । नेवारलाई नेवारहरु नेवा भन्छन् , जसको पूरा अर्थ नेपाल वासी हो । किर्तिपूरलाई नेवारहरु किपू भन्छन्, नारायणलाई नारां भन्छन्, त्यस्तै गरी नेपालवासीलाई छोटकरीमा नेवा भनिएको हो । नेवार भनेको उपत्यकामा वसोवास गर्ने त्यो वेलाका किरात, लिच्छवि, मल्ल राज्यकालका वासीन्दाहरु हुन् ।
नेवार समुदायमा गुठीको चलन व्यापक हुनुको कारण यहाँको सभ्यता विकासको आदिम साम्यवादी पृष्ठभूमि नै हो । लिच्छवि र मल्ल राजाहरु तथा उनीहरु संगै आएका अन्य समुदायहरु भारतवाट आएको इतिहास सिद्ध तथ्य हो । भारत र नेपालपनि प्राचीनकालमा आदिम साम्यवाद थियो भन्ने इतिहासमा प्रमाणित विषय हो । भारतको प्राचीन समाजमा जमीनको स्वामित्व सामुहिक थियो भन्ने विषयमा माक्र्सलेपनि कयौं ठाउँमा लेखेका छन् र अन्य इतिहासकारहरुलेपनि स्वीकार गरेको विषय हो । भारतमा आदिम साम्यवाद थियो भन्ने कुरा महाभारतको यस श्लोकलेपनि स्पष्ट गर्दछ । महाभारतमा भनिएको छ—“न वै राज्यम् न राजा न च दण्ड न दाण्डिक आसित्, धर्मेण एव सर्वा प्रजा परस्परम् रक्षन्ति स्म ।” अर्थात, प्राचीन कालमा न राज्य थियो, न राजा थिए, न दण्ड थियो, न दण्ड दिने कुनै थिए, धर्मको माध्यमवाट सबै प्रजाले परस्परमा रक्षा गर्दथे । माक्र्सको आदिम साम्यवादको परिभाषा भित्र महाभारतको यो भनाई ठ्याक्कै मिल्दछ । उपत्यकामा अष्ट मात्रिका, नव दुर्गा, कुमारी पूजा जस्ता चलन छ । राजाले कुमारी संग वर्षको एकपटक अनिवार्य रुपमा पूजा आजा सहित खड्ग साटेपछि मात्रै राजा पदमा कायम रहने परम्परा आदिले यहाँ आदिम साम्यवादमा रहने माक्र्सले भनेको मातृसत्तात्मक समाज थियो भन्ने पुष्टि हुन्छ ।
गुठी शब्द संस्कृतको गोष्ठिवाट वनेको हो । आदिम साम्यवादी प्राचीन समाजमा समाजका विभिन्न कामहरु विविध नामका गोष्ठिहरु(गुठीहरु)को माध्यमवाटै हुने गर्दथे भन्ने इतिहासमा प्रमाणित कुरा हो । त्रिविले प्रकाशित गरेको र प्रशिद्ध इतिहासकार धनबज्र वज्राचार्यले संम्पादन तथा अनुवाद गर्नु भएको “लिच्छविकालिन अभिलेखहरु” पुस्तकमा आजभन्दा १५ सय वर्ष अगाडिका शिलालेखहरुमा गोष्ठिहरु(गुठीहरु)को वर्णन रहेको छ । ती शिलालेखहरुमा पानी गुठी, प्रवहण(पारवहन अर्थात यातायात गुठी), मल्ल युद्ध गुठी(मनोरन्जन गुठी), वाजा गुठी, वेदअध्ययन गुठी, धूप गुठी, वत्ती गुठी, झण्डा ध्वजा गुठी, औषधालय गुठी, आदिको उल्लेख गरिएको छ । समाजका विभिन्न कामहरु सामुहिक रुपमा गर्ने संस्था भएकोले गुठी भनेको आदिम साम्यवादी संस्था हो । यो सामन्तवादको उपज होइन । यो नेपाल उपत्यकाको आदिम साम्यवादी समाजको उपज हो । यसको जड यति मजवुत भयो कि नेपाल उपत्यकामा सामन्तवादको चरम अवस्थामापनि यो कायम रहन सक्यो । जमीनमाथिको सामुहिक स्वामित्वलाई क्रमश नष्ट गर्दै व्यक्तिगत स्वामित्वमा लग्न थालिएपनि गुठी चलाउनकालागि जमीन दान गर्ने र आर्थिक कोष वनाउने चलन कायम रह्यो । गुठी र गुठीको सम्पतिलाई धार्मिक तरिकाले संरक्षण गरेर यसलाई अझ मजवुत वनाउने काम भयो । गुठीको सम्पतिलाई देवश्व भनियो र यसको अपचलन गर्नुलाई महापाप भन्दै राज्यलेपनि अपराध घोषित ग¥यो । पृथ्वी नारायण शाहले उपत्यकाका राज्यहरु कब्जा गरेपनि गुठीलाई कब्जा र नष्ट गर्ने हिम्मत गरेनन् । तर राजा रणवहादुर शाहले पहिलो पटक गुठी तहस नहस वनाउने प्रयास गरे । उनले गुठी सम्पति कब्जा गरे जसलाई गुठी हरण भनियो । तर त्यो काममा उनी पूर्ण सफल हुन सकेनन् । राणा शासनकाल र पछि महेन्द्र तथा वीरेन्द्र कालमा गुठीलाई कमजोर वनाउन यसको सम्पति र संस्कृतिमाथि अनेक तरिकावाट हस्तक्षेप भयो । तर पनि यो टिकिरह्यो ।
उपत्यका वाहिरका धेरै जनसमुदायमा गुठी नभएपनि आफ्नो संस्कृति, जात्रा, पर्व आदि सबै चल्ने हुन्छ । तर उपत्यकाभित्र गुठीविना यहाँका बहुसंख्यक जात्रा, संस्कृति, पर्व आदि केही पनि चल्दैन । उपत्यकाका नेवार समुदायका लागि गुठी भनेको प्राण बराबर नै हो ।
राजा महेन्द्रले गुठी संस्थान वनाएर ठुला गुठीहरु सबै सरकारीकरण गरे । वीरेन्द्रले गुठीको जमीन नीजीकरणको वाटो खोलिदिने गरी कानुन संशोधन गरे । एकातिर गुठी चलाउन आम्दानी हुने जमीनलाई निजीकरण गर्न दिने र अर्कोतिर गुठी चलाउन सरकारले वजेटको व्यवस्था नगरेर गुठीलाई कमजोर र नष्ट गर्ने प्रयास सामन्ती नायकहरुले थाले । सरकारी गुठीका जमीन भू माफियाहरुले गुठी संस्थान र अन्य सरकारी निकायका भ्रष्टहरुको सहयोगमा कब्जा गर्ने अभियान नै चल्यो । गुठी संस्थान गुठीको सम्पति र संस्कृतिको रक्षक भन्दापनि भक्षक भएर निस्क्यो ।
पञ्चायती सामन्ती नाइकेहरुको कानूनमा जनताको सामुहिक स्वामित्वमा रहेका कयौं गुठीलाई नीजि गुठी भनेर जनता कै हातमा रहन दिएको थियो । वास्तवमा त्यो नीजि होइन कि परम्परा देखि रहेको सामुहिक गुठी नै हो । सर्वसाधारण जनताको गुठी हो । नेवारहरुको सबै जात्रा पर्व देखि जन्म मृत्यु सम्मका सबै संस्कारमा गुठी अनिवार्य हुने गर्दछ । जनताले विद्रोह गर्ने डरले जनताका सबै गुठी सामन्ती राजाहरुले छुने हिम्मत गरेका थिएनन् । तर, नेकपाको सरकारले उपत्यकाको प्राचीन आदिम साम्यवादी संस्थाको रुपमा रहेको जनताको सामुहिक गुठी सबै सरकारीकरण गर्ने, गुठीको काम सरकारवाट मनोनित कर्मचारीहरुले गर्ने, गुठीको सम्पति सरकारले वनाएको गुठी प्राधिकरणले वेचविखन समेत गर्न पाउने प्रावधान सहितको विधेयक संसदमा दर्ता गरायो । सो विधेयकको दफा ३(३), दफा २३, दफा २४ र दफा ६४ ले स्पष्ट रुपमा यो अपराधिक कार्य गरेको छ । यो भनेको रणबहादुर शाहको गुठी हरण भन्दापनि नांगो ज्यादति हो ।
गुठीको सम्पति र संस्कृतिलाई सरकारीकरण गर्नु सही हो भन्ने तर्क पनि आइरहेको छ । के त्यसो भए सबै सहकारी संस्थाहरुलाई सरकारीकरण गरिनु सही हुन्छ ? हुँदैन । के सबै क्लवहरु सरकारले नै चलाउने हुन सक्छ ? के सबै सामाजिक संस्थाहरु सरकारले चलाउन सम्भव छ ? वालुवाटारको जमीन र सरकारी गुठी संस्थान मातहतको लाखौं रोपनी जमीनको सुरक्षा गर्न नसक्ने सरकारले जनताको गुठी(नीजि गुठी)को सम्पति सुरक्षा गर्न सक्दछ ? नेताहरु सामन्ती राजाहरुको संस्कृतिको कपि गर्दै चलाइरहने, तर जनताले मानि आएको संस्कृति नचलाउ भन्ने कानून वनाउँदा जनताले खुरुक्क मान्छन् भनेर कसरी सोचियो ? धेरै जसो गुठीको नायक(नायः) अर्थात मूल मान्छे त्यसको जेष्ठ सदश्य नै हुने गर्दछ, तर सरकारी कानुन अनुसार सरकारले कसरी अर्को व्यक्ति नियुक्त गर्न सक्दछ ? प्रधानमन्त्रीज्युको कूलपूजामा सरकारवाट नियुक्त अरु थरको मानिसलाई पूजारी वनाएर चलाउन सक्नु हुन्छ ? नेकपा ,नेपाली कांग्रेस जस्ता पार्टीहरु राजनैतिक गुठी हुन् । यी राजनैतिक गुठी पनि चन्दा, दान आदिवाट चलेको छ भनेर यसलाईपनि सरकारी प्राधिकरण वनाएर सरकारले नियुक्त गर्ने मानिसहरुवाट चलाउने कानून वनाउन मिल्छ ? नेपालको मौलिक र प्राचीन संस्था गुठी र हिन्दु तथा वौद्ध धर्मावलम्वीहरुको मन्दिर चैत्य आदि मात्र सरकारको मातहत लग्ने विधेयकमा उल्लेख छ, तर अरु धर्मकालाइ किन छुट दिइयो ? कसको इशारामा सरकार धर्म सापेक्ष वनेर संविधानको उलंघन गर्दैछ ?
साम्यवादी समाज भनेको केन्द्रिकृत र सबै कुरा सरकारीकरण गरिएको समाज भन्ने होइन । साम्यवादी समाज भनेको सामूहिकतावादी नीतिअन्तर्गत विकेन्द्रित व्यवस्थापनको गुठी जस्ता संगठनहरुको जालोले सबैको हितमा काम गर्ने समाज हो । आफुलाई साम्यवादी दावी गर्ने दलको सरकारले गुठी जस्तो सामुहिकतावादी संस्थाहरुमाथि आक्रमण गरेर यसको सम्पति हडप्ने दुष्प्रयास गर्नु र भू माफियाहरुलाई पोस्न खोज्नु भनेको सामन्ती नाइकेहरुलेपनि गर्न नसकेको काम हो । तसर्थ गुठी विधेयक फिर्ता लिएर उपत्यका बाहिरका वास्तविक किसानहरुको हित रक्षा र उपत्यकाका आदिवासी जनताको साम्यवादी सस्था, संस्कृति र सम्पतिको रक्षा गर्ने ढंगको विधेयक बनाइनु पर्दछ ।