काठमाडौं । राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारी रहेको नेपाली सेना ठेक्कापट्टामा लागेर दिनप्रतिदिन बदनाम भइरहेको छ । सैनिक नेतृत्वको कमिसन मोहका कारण विकास निर्माणदेखि औषधी खरिदसम्बन्धि अनियमिततामा सेना मुछिदै आएको छ । मेडिकल कलेजमा अधिक शुल्क लिएको, कल्याणकारी कोष अपारदर्शी भएको, फास्ट ट्रयाकको ठूला ठेक्कामा फिक्सिङ गरेको जस्ता आरोप भोग्दै आएको सेनाभित्र सगरमाथा सफाइका नाममा समेत हिनामिना भएको दृष्टिले फेला पारेको छ ।
सगरमाथा सफाइका लागि माउन्टेन क्लिनिङ ह्यान्डलिङ एजेन्सीको ठेक्कामा ठूलो चलखेल भएको हो । जसमा दुई वटा कम्पनीले प्रतिस्पर्धा गरेका थिए । सेभेन समिट प्रालि र पिक प्रमोसन प्रालिले बोलपत्र दिएकोमा महंगो कबोल गर्ने पिक प्रमोसनलाई ठेक्का दिइएको छ । सेभेन समिटरले चार करोड रुपैयाँको प्रस्ताव गरेको थियो । पिक प्रमोसनले ६ करोड २० लाख प्रस्ताव गरेकोमा पिकलाई नै छनोट गरिएको छ ।
यसबाट राज्यलाई सिधैं दुई करोड २० लाख रुपैयाँ घाटा भएको छ । सेटिङका आधारमा पिक प्रमोसन छानिएको सैनिक स्रोत बताउँछ । सगरमाथा सफाइको नाममा सैनिक अधिकारीले कमिसन खान मात्र खोजेको यो ठेक्काबाट प्रष्ट भएको छ । सो निर्णयविरुद्ध रक्षा मन्त्रालयमा पनि उजुरी परेको छ । यसअघि सेनाको बुट खरिदमा पनि यस्तै अनियमितता भएको थियो । जहाँ चलखेलका आधारमा महंगो प्रस्ताव गर्ने कम्पनीलाई सेनाले छानेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायले समेत छानबिन गर्न नपाउने भएपछि सेनाभित्र खुलेआम भ्रष्टाचार हुने गरेको छ । संसदीय समितिले केही अनियमितताको छानबिन गरेपनि सेनाले समितिको सिफारिसलाई अस्वीकार गरी नागरिक सर्वाेच्चतालाई समेच चुनौती दिदै आएको छ ।