तनुहँ । बालिका बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्ध १४ वर्ष कैद सजायको माग दाबीसहित तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो । जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेकाले पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा दर्ता भएको हो ।
गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा अभिनेता पल शाहविरुद्ध उजुरी दर्ता भएको थियो । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पुगेर उजुरी दर्ता गरिएको थियो ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।