Logo
Logo

रुसले भन्यो- ‘युक्रेन युद्धमा परमाणुअस्त्र प्रयोग हुन सक्छ’


1.3k
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले परमाणुअस्त्र प्रयोग गर्न सक्ने बताएका छन् ।
सीएनएन टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा पेस्कोभलाई रुसले कस्तो अवस्थामा आफ्नो परमाणु क्षमताको प्रयोग गर्छ भनेर सोधिएको थियो । जवाफमा उनले आफ्नो देशमाथि अस्तित्वको खतरा आइपरे परमाणुअस्त्र प्रयोग हुन सक्ने बताएका हुन् ।

त्यस्तो खतराका आयाम रुसको घरेलु सुरक्षा अवधारणामा समाविष्ट भएको समेत उनले उल्लेख गरेको बीबीसीले जनाएको छ । युक्रेनमा भइरहेको युद्धलाई प्रवक्ता पेस्कोभले विशेष सैनिक कारबाहीको संज्ञा दिए ।

पेस्कोभका टिप्पणीलाई अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले खतरनाक भन्दै एक जिम्मेवार परमाणुशक्तिले गर्ने व्यवहार त्यस्तो हुन नहुने बताएको बीबीसीले जनाएको छ ।

युक्रेनमा अतिक्रमण भएको तीन दिनपछि रुसी राष्ट्रपति पुटिनले आफ्ना परमाणुबललाई उच्च सतर्कतामा रहन आदेश दिएका थिए । त्यो आदेशको शक्ति राष्ट्रका साथै संयुक्त राष्ट्रसंघले समेत चर्को निन्दा गरेको थियो ।

त्यतिबेला विश्लेषकहरूले पुटिनको आदेशलाई मस्कोले परमाणुअस्त्र प्रयोग गरिहाल्ला भन्दा पनि उनले सम्भवतः अरू देशलाई युक्रेनको मामिलामा संलग्न नहुन चेतावनी दिएको अर्थमा बुझ्नुपर्ने बताएका थिए ।

त्यस्तै, पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धप्रति राष्ट्रपति पुटिनको आक्रोश र नेटोबाट रुसलाई खतरा रहेको भन्ने उनको डरका कारण सिर्जित अवस्थाको संकेतको रूपमा पनि त्यसलाई हेरिएको थियो ।

विज्ञहरूले पुटिनका प्रवक्ताको पछिल्लो भनाइलाई रुसको पारमाणविक नीतिमा आएको परिवर्तनको रूपमा अर्थ्याउन नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्