काठमाडौं । एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरु गरेको छ । बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले यो पहल गरेको हो । यस अभियानमार्फत नबिलले मानिसको भित्री शक्ति र सामथ्र्यलाई जोड दिने सन्देशसहित यो अभियानमार्फत सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उद्देश्य राखेको जनाएको छ । यसबाहेक नबिल एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षहरूलाई उजागर गर्ने प्रयाससमेत गरेको जनाएको छ ।
बसन्ती परियार एक यस्ती महिला हुन् जसलाई पिडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्त गर्ने उद्देश्यले आक्रमण गरेको थियो । एसिड आक्रमणबाट बाँच्न सफल उनी अब एउटा पीडितको रुपमा होइन बहादुरी जीवनयापकको रुपमा आफ्नो पहिचान बनाउन चाहन्छिन् र विगतका पीडालाई भुल्न नसके पनि बसन्ती ती पिडाविरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रुपमा अघि बढ्न खोजिरहेको बैंकले जनाएको छ ।
अभियानको सुरुवात गर्न बैंकले बसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडियो तयार गरेको छ । यसै सिलसिलामा बैंकले विभिन्न क्षेत्रका विज्ञहरूलाई प्यानल राखेर एक छलफलको आयोजना गरेको छ । वरिष्ठ सामाजिक अभियान्ता उज्वल थापा, सञ्चारकर्मी आरती चटौत, वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा सिंह र डा. रोजिना सिल्पकार सहितको प्यानल छलफलमा एसिड आक्रमण र हाम्रो समाजका विविध पाटोहरुका सवाल उठान गरिएको थियो ।
प्यानल छलफलमा समावेश विभिन्न क्षेत्रका विज्ञहरूसँग नेपालमा एसिड आक्रमणविरुद्धका कानुन, घटनाको विगत, वर्तमान परिदृश्य, एसिड पीडितका लागि उपलब्ध चिकित्सा हेरचाह, सहयोगसम्बन्धी विषयमा छलफल भएको थियो । एसिड आक्रमण पीडितमा आत्मविश्वास बढाउन र जागरूकता बढाउन छलफलले सहयोग पुग्ने विश्वास बैंकको छ । यस्ता खालका छलफलले एसिड अपराधविरुद्ध समाजका सबै सदस्यलाई जागरुक बनाइ स्टिरियोटाइपहरू तोड्न मिडियाको भूमिका र योगदानको सम्भावनाका बारेमा समेत छलफल भएको थियो । बसन्ती मोडेल मात्र होइनन्, प्रेरणादायी पात्र हुन् भन्ने सन्देशसहितको नबिलको यो अभियानले एसिड आक्रमणजस्ता आपराधको अन्त्यका लागि एक सामूहिक सन्देश दिन खोजेको छ । यो सन्देशमूलक अभियान आगामी दिनमा पनि जारी रहने बैंकले जनाएको छ ।