Logo
Logo

प्रोटोन एक्स-५० नेपाली बजारमा सार्वजनिक


1.2k
Shares

काठमाडौं । मलेशियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयूभी ‘प्रोटोन एक्स-५०’ नेपाली बजारमा सार्वजनिक भएको छ ।

नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुधबार गैरीधारास्थित सोरुमबाट नयाँ प्रोटोन एक्स-५० सार्वजनिक गरेको हो । प्रोटोन एक्स-५० नेपालका लागि मलेशियन राजदूत मोहम्मद फद्जल अबु हसनको उपस्थितिमा सार्वजनिक गरिएको हो ।

नेपाली बजारमा प्रोटोन एक्स-५० स्ट्यान्डर्ड, प्रिमियम र फ्लागसिप गरी तीन भेरियन्ट सार्वजनिक भएको हो । कम्पनीले बुधबारदेखि नै गाडीको आधिकारिक बिक्री पनि शुरु गर्ने जानकारी दिएको छ ।

प्रोटोन एक्स-५० एसयूभीमा १.५ लिटरको टर्बोचार्ज्ड थ्री सिलिन्डर इन्जिन छ । जसले अधिकतम १७७ पिएस पावर र २५५ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा म्यानुअल मोडसहितको ७ स्पिड डुअल क्लच ट्रान्मिसन छ । गाडीलाई स्टेरिङ मोड र ड्राइभ मोड गरी दुई भिन्न मोडमा चलाउन सकिन्छ ।

यो गाडीमा फुल एलइडी हेडल्याम्प, १८ इन्चको ह्विल, फ्रन्ट वेलकम लाइट, फ्लोटिङ फ्लोर कन्सोल जस्ता विशेषताहरू समावेश गरिएको छ। आकर्षक डिजाइनमा तयार पारिएको यो गाडीमा थुप्रै सुविधाहरू रहेको कम्पनीले दाबी गरेको छ ।

सुरक्षा फिचरमा निकै ध्यान दिएर उत्पादन भएको एक्स ५० मा ६ वटा एयरब्याग, विद्युतीय स्टेबिलिटी कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ , एड्जस्टेबल क्रुज कन्ट्रोल, विद्युतीय क्रुज कन्ट्रोल, लेन किप असिस्ट, लेन डिपार्चर वार्निङ, व्लाइन्ड स्पट इन्फर्मेशन प्रविधि, इन्टेलिजेन्ट हाइबिम कन्ट्रोल, टायर प्रेसर मोनिटर, अटो पार्क असिस्ट र ३६० डिग्री क्यामेरा छन् ।

यसमा ८ इन्च को इन्फोटेनमेन्ट स्क्रिन, आपतकालीन ब्रेकिङ, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू पनि छन् । नयाँ प्रोटोन एक्स-५० सार्वजनिक गर्दै जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवालले यसको विश्वव्यापी बजारमा राम्रो आकर्षण देखेर नै नेपाली बजारमा भित्र्याएको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले यो गाडीले नेपाली ग्राहकहरूलाई समेत आकर्षित गर्नेमा विश्वास व्यक्त गरेका छन् । ‘प्रोटोन एक्स-५० ले बजारमा जगदम्बा मोटर्सको नाम र ग्राहकको विश्वासले यसको बिक्रीलाई थप उचाइमा पु¥याउने विश्वास छ,’ कार्यक्रममा उनले भने ।

मलेशियन राजदूत मोहम्मद फद्जल अबु हसनले एक्स-५० निकै आकर्षक र सुरक्षित एसयूभी भएको बताए । कम्पनीले नयाँ यसको स्ट्यान्डर्ड भेरियन्टको मूल्य शुरुआती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । प्रिमियमको मूल्य ७९ लाख ९९ हजार तोकिएको छ भने फ्लागसिप भेरियन्टको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्