काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार गरेको डिएसपीको काज सरुवा विवादमा तानिएको छ । यसअघि विभागीय कारबाहीमा परेका डिएसपीलाई फेरि पुरस्कृत गर्दै जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।
म्याग्दीको प्रहरी प्रमुखको जिम्मेवारी पाएका तिलक भारती तिनै अधिकृत हुन् जसले दरबारमार्ग वृत्तको प्रमुख हुँदा बलात्कार जस्तो गम्भीर मुद्दा मिलापत्र गराएका थिए । होटल ल्यान्डमार्गमा भएको सामूहकि बलात्कारको घटना प्रहरीकै मिलेमतोमा मिलापत्र गराइएको थियो । जसमा वृत्तका प्रहरीले आर्थिक लेनदेन गरेको समेत पुष्टि भएको थियो । जसमा भारतीलाई पनि कारबाही भएको थियो ।
तर, पछि उनलाई सातदोबाटो वृत्तको जिम्मेवारी दिइयो । उनले नै डिएसपीको तेस्रो इन्चार्जको पाएका छन् । पूर्व सभामुख कृष्णबहादुर महराको आफन्त भएकै आधारमा उनले उन्मुक्ति मात्र होइन अवसर समेत पाइरहेका छन् । जसले प्रहरी संगठनका इमान्दार अधिकृतहरुको फेरि पनि शिर निहुरिएको छ । यसअघि पनि प्रहरी महानिरीक्षक शैलेश थापाले रंगेहात घुस प्रकरणमा परेका डिएसपी श्याम राईलाई म्याग्दीको जिम्मेवारी दिएका थिए । म्याग्दीमा कमाण्डरको कमजोरीले मानव बेचबिखनका अभियुक्त सहजै भागेको घटनामा पनि कारबाही भएन ।