Logo
Logo

युद्धले ५० प्रतिशत युक्रेनी बालबालिका विस्थापित


630
Shares

एजेन्सी । रुसको आक्रमणका कारण युक्रेनका आधा बालबालिका विस्थापित हुन बाध्य बनेका छन् । युक्रेनमाथिको आक्रमण नरोकिएपछि ज्यान जोगाउन त्यहाँका ४३ लाख बढी बालबालिका अन्यत्र सरेका हुन् ।

युक्रेनका कूल ७५ लाख जना बालबालिकामध्ये उक्त संख्याका बालबालिका सुरक्षित गन्तव्य खोज्दै घरबाट विस्थापित हुनु परेको संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ) ले जनाएको छ । उनीहरुमध्ये १८ लाख जना बालबालिकाले देश छोडेका र २५ लाख जना युक्रेनकै विभिन्न सहरमा त्रासपूर्ण जीवन बाँचिरहेका युनिसेफलाई उद्धृत गर्दै न्यूज एजेन्सीले उल्लेख गरेको छ ।
रुसले युक्रेनमाथि गरेको हमलाबाट दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै बालबालिका विस्थापित बनेका युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेल बताउँछन् । उनका अनुसार जारी रुस युक्रेन युद्धका कारण हालसम्म ७८ जना बालबालिकाले ज्यान गुमाएका र एक सय पाँच जना घाइते भएका छन् ।

त्यस्तै घरवारविहीन बन्न बाध्य पारिएका बालबालिकाहरु असुरक्षित वातावरणमा रहेका, भोकमरी, यौन दुव्र्यवहार र बेचबिखनको उच्च जोखिममा परेका रहेका रसेलको भनाइ छ । लगातारको युद्धले उनीहरु पढ्ने विद्यालय र स्वास्थ्य संस्थामा क्षति पुगेपछि बालबालिका आधारभूत स्वास्थ्य र शिक्षाबाट बञ्चित भएका जनाइएको छ । रुसको हमलाका कारण युक्रेनमा हालसम्म पाँच सयभन्दा धेरै शैक्षिक संस्था ध्वस्त भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार युक्रेनका ६ देखि २३ महिना उमेर समूहका चार लाख ५० हजार जना बालबालिकाले पोषणयुक्त आहार नपाएका, १४ लाख जनाले स्वच्छ पिउनेपानी नपाएका र ४६ लाख जना मानिस पानीको सीमित पहुँचमा रहेका र त्यो पनि गुम्ने सम्भावना बढेको छ ।

यसैगरी युक्रेनी बालबालिकाहरू दादुरा, पोलियोजस्ता नियमित खोपबाट बञ्चित भएकाले उनीहरूको भविष्यसमेत चिन्ताजनक बनेको उक्त संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्