काठमाडौं । अपराधमा प्रयोग भएको डलर लुकाएको आरोपमा असइ पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग साँखुमा कार्यरत असइ दिलिप खड्का पक्राउ परेका हुन् । गत फागुन २ गते उनले डलर लुकाएका हुन् ।
सस्तोमा डलर साट्ने भन्दै ठगी गरेको घटनाको अनुसन्धानको क्रममा उनले डलर लुकाएका हुन् ।
सिन्धुपाल्चोकका रेशम बुढाथोकीले मकवानपुरका सुरेश न्यौपाने र कैलालीका वीरेन्द्रबहादुर खड्कालाई सस्तोमा डलर साटिदिने भन्दै आठ लाख लिएर ठगी गरेका थिए । यस्तो लेनदेन चाँगुनारायणमा भएको थियो । पछि डलर भनेर दिएको पोका कागजको बिटो मात्र भएको खुलेपछि बुढाथोकीमाथि लखेटेर कुटपिट भएको हो । गम्भीर घाइते भएका बुढाथोकीलाई साँखु प्रहरीले उद्धार गरी अस्पताल लगेको थियो । जसमा असइ खड्का गएका थिए। उनले बुढाथोकीसँग भेटिएको डलर लुकाएका हुन् । उनलाई समेत भक्तपुर प्रहरीले थुनामा राखी अनुसन्धान अघि बढाएको छ । उता गम्भीर घाइते भएका बुढाथोकीको उपचारको क्रममा मृत्यु भएपछि न्यौपोने र खड्कालाई पनि ज्यान मुद्दामा कारबाही अघि बढेको छ ।