एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको प्रदर्शन जारी छ । अलजजिराका अनुसार विपक्षी दलका नेता कार्यकर्ता तथा अधिकारकर्मीले उनीविरुद्धको विरोध प्रदर्शनलाई जारी राखेका छन् ।
प्रधानमन्त्री खान नेतृत्वको सरकारले यतिबेला चरम आर्थिक संकटको सामना गरिरहेको छ । उनलाई भ्रष्टाचार सम्बन्धी आरोप समेत लगाइएको छ । खान विरुद्ध विपक्षी पार्टीले गएको ८ तारिखमा संसदमा अविश्वासको प्रस्तावसमेत पेश गरेका थिए । एजेन्सीका अनुसार विश्वासको मत जित्न उनलाई कठिन परिरहेको छ । यता प्रधानमन्त्री खान भने आफू विरुद्ध षड्यन्त्र गरिएकाले राजीनामा नदिने बताउँदै आएका छन् ।
उनले एउटा विशेष समूहले ३० वर्षयता लगातार पाकिस्तान विरुद्ध षड्यन्त्र गर्दै आएको आरोप लगाएका छन् । उक्त समूह यतिबेला भने जनप्रतिनिधि खरिदको योजनामा रहेको आरोपसमेत प्रधानमन्त्री खानले लगाएका छन् ।