एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौता गर्न आफ्नो देशको हैसियत तटस्थ कायम गर्नेगरी छलफल गर्न सहमत रहेको बताएका छन् ।
रुसका स्वतन्त्र पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो हैसियतमा रहनेगरी वार्ता गर्न आफू तयार रहेको बताएका हुन् । त्यसअघि जनमत संग्रह गर्नुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने शर्त उनले अघि सारेका बीबीसीले उल्लेख गरेको छ । रुसी भाषामा अन्तर्वार्ता दिँदै राष्ट्रपति जेलेन्स्कीले रुसले गरेको हमलाका कारण आफ्नो देशको रुसी भाषा बोलिने सहरहरू ध्वस्त भएका पनि उल्लेख गरेका छन् । जेलेन्स्कीले आफ्नो देशले निःशस्त्रीकरण हुनुपर्नेलगायतका माग भने अस्वीकार गरेका छन् ।
रुस निकट पृथकतावादीहरूले आंशिक रूपमा नियन्त्रण गरिराखेको डोनबास क्षेत्रमासमेत आफूले सम्झौता गर्न सक्ने उनको भनाइ छ । फेरि पनि युद्ध लम्बिए तेस्रो चरणको विश्व युद्धको थालनी हुने खतरा बढेको भन्दै उनले शान्तिवार्ताका लागि आफ्नो अडान कायम राखेको उल्लेख गरेका छन् । द्धन्द्धरत् यी दुई देशबीच नयाँ चरणको प्रत्यक्ष वार्ता आउँदो हप्ता टर्कीमा हुने जनाइएको छ ।