एजेन्सी । युद्धरत् दुई देश रुस र युक्रेनले आज पनि शान्ति वार्ता गर्दैछन् ।
युक्रेनले टर्कीमा बस्ने वार्ताबाट रुसलाई तत्काल युद्ध अन्त्य गराउने चाहना राखेको छ । युक्रेनी विदेशमन्त्री द्विमित्रो कुलेबाले युद्धविरामसँगै अरु सबै विषयमा सहमति खोजिनुपर्नेमा जोड दिँदै आएका छन् । यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौता गर्न युक्रेन तटस्थ हैसियत कायम गर्नेविषयमा छलफल गर्न तयार भएको बताएका थिए । त्यसअघि जनमत संग्रह गरिनुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षले गर्नुपर्ने अडान उनले लिँदै आएका छन् ।
रुसी राष्ट्रपति र टर्कीका समकक्षीबीचको पछिल्लो टेलिफोन वार्तामा रूस र युक्रेनका प्रतिनिधिमण्डल इस्तानबुलमा भेट्ने सहमति भएको थियो । यी दुई देशबीच युद्धविरामका लागि सहमति खोज्न यसअघि भएका चौथो पटकका वार्ता विफल भएका थियो । आज फेरि दुई देशका प्रतिनिधिमण्डल युद्ध अन्त्य गराउन पाचौँ चरणको वार्ता बस्न लागेका हुन् ।