एजेन्सी । रुसले अब आफ्नै मुद्रा रुबलमा भुक्तानी गर्ने देशलाई मात्र ग्यास दिने भएको छ ।
रुबलमा भुक्तानी नगर्ने देशलाई ग्यास नदिने धम्की दिँदै आएको रुसले आजैदेखि लागू हुनेगरी यस्तो नियम बनाएको हो । बीबीसीका अनुसार रुसले पारित गरेको एउटा आदेशमा रुससँग मित्रवत् व्यवहार नगर्ने देशहरुले ग्यास खरिद गर्न अनिवार्य रुपमा रुबलमै भुक्तानी दिनुपर्ने नियम उल्लेख छ । राष्ट्रपति भ्लादिमिर पुटिनद्धारा हस्ताक्षरित आदेशमा ग्यास खरिद गर्न इच्छुकहरुले आजदेखि रुसी बैंकमा खाता खोलेर रुबल जम्मा गर्नुपर्ने नियम उल्लेख छ ।
रुसले यो नियम कार्यान्वयनमा ल्याएसँगै ग्यास खरिद गर्ने युरोपेली देशहरुलाई निकै ठूलो असर पर्ने र युद्धका कारण कमजोर बन्दै गएको रुसी मुद्रालाई राहत मिल्नेछ । जसका कारण रुसी मुद्रा दर्बिलो बन्ने र रुससँग डलर र युरोको सञ्चिती बढ्ने अनुमान गरिएको छ ।