मस्को । युक्रेनी सेनाले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा हवाई आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन् ।
व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको छ ।’
आगलागीका कारण दुई कर्मचारी घाइते भएका उनले अर्को पोस्टमा उल्लेख गरेका छन् । रुसको आपतकालीन मन्त्रालयका अनुसार करिब १७० जना आगो निभाउने प्रयासमा लागेको रुसी समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।
द मस्को टाइम्सका अनुसार बुधबार बेल्गोरोडको हतियार भण्डारबाट विस्फोटको आवाज सुनिएको थियो तर अधिकारीहरूले विस्फोटको कुनै स्पष्टीकरण दिएका थिएनन् ।
बेल्गोरोड युक्रेनसँगको रुसको सिमानाबाट करिब ४० किलोमिटर (२५ माइल) र युक्रेनी सहर खार्किभबाट करिब ८० किलोमिटरको दुरीमा अवस्थित छ ।