एजेन्सी । पेरुमा इन्धन र खाद्यवस्तुको भाउ बढेपछि त्यसको विरुद्धमा आन्दोलन चर्किएसँगै कर्फ्यु आदेश जारी गरिएको छ । मूल्यवृद्धि विरुद्धको आन्दोलनले उग्ररुप लिएपछि स्थितिलाई सामान्य बनाउन पेरुको राजधानी लिमामा कर्फ्यु आदेश जारी भएको हो ।
एएफपीका अनुसार आन्दोलनले हिंसात्मक रुप लिएको भन्दै पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले राजधानी लिमासहित प्रमुख शहर कालाओमा कर्फ्यु आदेशको घोषणा गरेका हुन् । सवारी साधनसहित आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले मुख्य राजमार्गहरू बन्द गर्ने, प्रहरीका भवन जलाउनेजस्ता क्रियाकलाप गर्न थालेकाले राष्ट्रपतिले कर्फ्यु आदेश जारी गरेका समाचार एजेन्सीमा उल्लेख छ ।
पेरु सरकारले गत साता इन्धनमा लगाएको कर हटाउने र मजदुरको ज्याला १० प्रतिशतले बढाउने निर्णय गरेको थियो । तर, इन्धनको मूल्य घटाउनुपर्ने र मजदुरको ज्याला थप बढाउनुपर्ने माग अघि सार्दै आन्दोलनकारीले विरोध प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । सो आन्दोलनको नेतृत्व देशको मुख्य ट्रेड युनियन संस्था र चालकहरूले गरेका कारण तत्काल आन्दोलन साम्य नहुने छाँटकाँट देखिएको जनाइएको छ ।
यसैबीच, त्यहाँस्थित अमेरिकी दूतावासले उक्त आन्दोलन हिंसात्मक बन्दै गएकाले पेरुमा बस्दै आएका आफ्ना नागरिकलाई सर्तक रहन अपील गरेको छ ।