काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोलाई राष्ट्रसंघको सुरक्षा परिषदबाट अलग गरिनुपर्ने माग गरेका छन् ।
राष्ट्रसंघ सुरक्षा परिषद् बैठकलाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा सुनुवाइ गरिनुपर्ने भन्दै यस्तो भाग गरेका हुन् । आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेयता पहिलोपटक राष्ट्रसंघको सुरक्षा परिषद्मा बोलेका हुन् ।
यसअघि भिडियो लिंकबाट राष्ट्रसंघको सुरक्षा परिषद्मा सम्बोधन गरेका जेलेन्स्कीले आफ्नो देशमा हमला गरेका फौजहरूले गरेका भनिएका अत्याचारहरूको विस्तृत विवरण उपलब्ध गराएका थिए ।
यसैबीच रुसी फौजले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपहरू बाहिर आएपछि संयुक्त राज्य अमेरिका र युरोपेली संघले मस्कोविरुद्ध थप प्रतिबन्धहरू घोषणाको तयारी गरेको बीबीसीले जनाएको छ ।
बीबीका अनुसार ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउने साथै रुसी वित्तीय संस्थाहरू, क्रेम्लिनका अधिकारी र तीनका परिवारमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताएकी छन् ।
वालस्ट्रिट जर्नलका अनुसार वासिङ्टनले रुसको सबैभन्दा ठूलो ब्याङ्कमाथि पनि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
युरोपेली राजदूतहरूले बुधबार प्रतिबन्धहरूको पाँचौँ किस्ता घोषणा गर्दैछन्, जसमा कोइलाको आपूर्तिमा रोक लगाउने र रुसको स्वामित्तव र सञ्चालनमा रहेका पानीजहाजहरूलाई इयुभित्रका बन्दरगाहको प्रयोग गर्न नदिने सहितका कदम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तर, रुसले पुन आफूविरुद्धका आरोप अस्वीकार गरेको जनाएको छ । राष्ट्रसंघका लागि रूसी राजदूत भासिली नेबेन्जियाले युक्रेनी र पश्चिमा सञ्चारमाध्यममा आएका विवरणमा एकरूपता नरहेको र त्यो नियोजित रहेको टिप्पणी गरेका छन् ।
बुचामा फेला परेका शव रुसी फौजहरूले उक्त शहर छाड्दा त्यहाँ नरहेको उनले दोहो¥याएका थिए । बीबीसीले भूउपग्रहबाट खिचिएका तस्बिरका आधारमा मस्कोको उक्त दाबीलाई गलत भनेका थिए ।
न्यूयोर्कमा भएको राष्ट्रसंघीय बैठकमा रुसी कदमको पुनः निन्दा गरिएको छ । संयुक्त राज्य अमेरिकाले रुसलाई राष्ट्रसंघको मानवअधिकार परिषद्बाट हटाइनुपर्ने माग फेरी राखेको छ ।
राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा टमस ग्रिनफिल्डले युक्रेनमा भएका अत्याचारका लागि रुसलाई एक्लाउन र जबाफदेही बनाउन लागिरहने प्रतिवद्धता जनाएको बीबीसीले उल्लेख गरेको छ ।