एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्व प्रमुख आर्थिक सल्लाहकार आन्द्रेई इलारीनोभले रुसी ऊर्जामा वास्तविक बन्देज लाग्ने हो भने युक्रेनको युद्ध रोकिन सक्ने बताएका छन् । सन् २००५ सम्म पुटिनसँगै काम गरेका उनले पश्चिमा देशहरूले रुसी ऊर्जामाथि वास्तविक रुपमा प्रतिबन्ध लगाउन सकेमा युक्रेनमा जारी युद्ध रोकिन सक्ने बताएका हुन् ।
बीबीसीसँगको कुराकानीमा इलारीनोभले ऊर्जाको प्रयोग घटाउने अरू देशले दिँदै आएको चेतावनीलाई रुसले गम्भीरतापूर्वक नलिएकोसमेत बताएका छन् । अघिल्लो वर्ष मात्रै इन्धन र ग्यासबाट प्राप्त हुने आम्दानीले रुसी सरकारको बजेटको एक तिहाइ भन्दा बढी ओगटेको थियो । बीबीसीका अनुसार युरोपेली संघ एक्लैले रुसलाई ऊर्जाका लागि दैनिक एक अर्ब युरो तिर्दै आएको छ ।