एजेन्सी । अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट ५० करोड बढी मानिस संक्रमित भएका छन् । वल्डोमिटरका अनुसार हालसम्म उक्त भाइरसको संक्रमण संसारभर ५० करोड एक लाख बढीमा पुष्टि भएको हो ।
सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक पुष्टि भएको सो भाइरस विश्वभर फैलिइरहेको छ । अझैसम्म पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको उक्त भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा आठ करोड २१ लाख र दोस्रोमा भारतमा चार करोड ३० लाख जना संक्रमित बनेका छन् । त्यस्तै, विभिन्न १२ देशमा गरी एक करोडभन्दा धेरै मानिसमा संक्रमण देखिएको छ ।
यसैबीच, संसारभर संक्रमण पुष्टि भएमध्ये ६२ लाख ६ हजार बढी मानिसको मृत्यु भएको र ४५ करोड दुई लाख जना निको भएका वल्डोमिटरले जनाएको छ । त्यस्तै, उक्त भाइरसविरुद्धको खोप हालसम्म विश्वभर ११ अर्ब ४६ करोड मात्रा प्रयोग भइसक्दा विश्वभरका ४२ प्रतिशत बढी मानिसले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।