एजेन्सी । अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएको छ । पूर्वी युक्रेनमा रुसले आक्रमण तीव्र बनाएका बेला अमेरिकाले थप सहयोगको घोषणा गरेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार उक्त सहयोगभित्र नयाँ अस्त्रहरू पनि रहनेछ । यसअघि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ठूलो संख्यामा अस्त्र उपलब्ध गराउन अपील गरेका थिए । बीबीसीका अनुसार प्रतिबद्धता जनाइएको ८० करोड अमेरिकी डलर बराबरको अस्त्रमा गोलीगठ्ठा र राडार प्रणाली पनि रहेका छन् । त्यसबाहेक सो सहयोगमा सयौँ क्षेप्यास्त्र र विशेष प्रकारका ड्रोनहरू पनि छन् ।
यसैबीच, रुसी सैनिक पानीजहाजमा विस्फोटबाट क्षति भएको छ । रुसको रक्षा मन्त्रालयका अनुसार ब्ल्याक सीमामा विस्फोटक पदार्थ भण्डारण गरी तैनाथ एउटा सैन्य पानीजहाजमा आगलागी र विस्फोटबाट क्षति भएको हो ।
मस्कोका अनुसार पानीजहाजको चालक दलका सदस्यलाई उद्धार गरिएको र आगलागीको कारणबारे अनुसन्धान जारी छ ।