काठमाडौं । नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरूको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी –एलएलजी) सम्झौता भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालय मध्यबानेश्वरमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो । सम्झौतामा नबिलतर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा कुनै पनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण कर्जाको भुक्तानी नभएमा त्यस ऋणमा नवीकरणीय ऊर्जा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । यसअन्तर्गत सुरुमा यस जमानतले रु १० करोडसम्मको सुरक्षण प्रदान गर्नेछ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको वित्तीय संयन्त्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषले युके एडको सहयोगमा सस्टेनेबल एनर्जी च्यालेन्ज फन्डको स्थापना गरेको छ । फण्डले नवीकरणीय ऊर्जा परियोजनालाई वित्तीय व्यवहार्यता र दिगो सञ्चालन सुनिश्चित गर्न वित्तीय र प्राविधिक सहायता प्रदान गर्ने गर्दछ । यो सम्झौतासँगै बैंकले दिगो ऊर्जा स्रोतको प्रवद्र्धन गर्ने र नवीकरण ऊर्जामा बलियो लगानी निर्माण गर्ने उदेश्य लिएको छ ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा नबिलका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोष, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम तथा बैंकका उच्च पदस्त कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो । सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसका दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यो सम्झौतामार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पु¥याउन सहयोग गर्ने आशा लिएको छ ।