काठमाडौं । नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पक्षीहरुका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरेको छ । टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखानाका तर्फबाट निर्देशक रचना शाहले आइतबार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारी र दुवै संस्थाका अन्य पदाधिकारीको समेत उपस्थिति थियो ।
प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो एउटा सुरुवात भएको बताइन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव अधिकारीले धेरै पर्यटकको उपस्थिति हुने चिडियाखानामा नेपाल टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सदुपयोग गर्ने विश्वास दिलाए ।
सम्झौताअनुसार टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पक्षीहरुका लागि एक वर्षसम्म आहाराको व्यवस्थाका लागि रकम उपलब्ध गराउने छ । टेलिकमले समय–समयमा विभिन्न वर्ग तथा क्षेत्रलाई लक्षित गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको जनाएको छ ।