काठमाडौं । राजनीतिक दलको असली ल्याकत बुझाउने स्थानीय तह निर्वाचनको मनोनयन सकिएको छ । मनोनयनसम्म आइपुग्दा राजनीतिक दलको आगामी अवस्था आकलन गर्न सकिन्छ । संगठनात्मक अवस्था, उम्मेदवार चयन र आन्तरिक मतभेद आधार हुन् ।
निर्वाचनमा गठबन्धन असान्दर्भिक हुँदैन । स्थानीय तह निर्वाचनमा विभिन्न समूह मिलेर दुई समूह बनेको छ । जसलाई गठबन्धन भनियो । एउटा सत्तारुढ गठबन्धन र अर्को इतर गठबन्धन । मुख्य प्रतिस्पर्धा यी दुई समूहबीच नै हुनेछ ।
वर्तमान सत्ता गठबन्धन केपी शर्मा ओलीको असंवैधानिक कदमले जन्मायो । जुन गठबन्धनको आधार ‘संविधान र व्यवस्था रक्षा’ भन्ने बन्यो । सत्ताबाट गलत्याउनेहरु एक ठाउँमा हुँदा एमाले–राप्रपा सम्मिलित अर्को गठबन्धन बन्यो । उनीहरु ताजा जनमतको पक्षधर हुँ भन्छन् । अब त सबै ताजा जनमतकै पक्षधर भइहाले । गठबन्धन निर्माणको आधार जे जस्तो भएपनि दुवै समूहको अहिलेको लक्ष्य र उद्देश्य परिणाम आफ्नो पक्षमा पार्ने हो ।
अघिल्लो निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा सत्ता गठबन्धन ‘अजंगको पहाड’ र इतर गठबन्धन ‘चुरेको चुली’ मात्र हो । यसैलाई आधार मान्दा इतर गठबन्धन ‘क्लिन स्वीप’ हुनुपर्छ । तर, त्यो सम्भव छ त ? यसका दुई उत्तर छन् । एक, सम्भव छ । दुई, सम्भव छैन । ‘सम्भव छ’ र ‘सम्भव छैन’ यी दुई विपरीत तर सम्भावनायुक्त उत्तर हुन् ।
कांग्रेसीहरुले जताततै रुख मात्र देखे, जसलाई पनि कांग्रेसी मात्रै ठाने । त्यहाँबाट तल्लो तहसम्म गठबन्धनको रसाइनमा खिया लाग्यो । गगन थापा, धनराज गुरुङ र शेखर कोइरालाहरुले खिया लाउने काम प्रारम्भ गरे । अधिकांश ठाउँमा गठबन्धनलाई सहज हुँदाहुँदै पनि सहज छैन । एमालेलाई फाइदा हुनसक्छ ।
गठबन्धनमा आवद्ध दल इमानदारपूर्वक प्रस्तुत हुँदा इतर गठबन्धन चुरेको चुलीमै सीमित रहन वा राख्न सम्भव छ । तर, अलिकति मात्र बेइमानी मिसियो भने परिणाम अनपेक्षित हुन्छ । जुन बेला मुख्य त एमालेलाई ‘क्लिन स्वीप’ गर्ने गठबन्धनको सपना अलपत्र पर्छ । अहिले देखिएको सम्भावना चाहिँ यो हो ।
कांग्रेसी आडम्बर र रसाइनमा खिया
केन्द्रमा गठबन्धनको रसाइन राम्रो छ । तर, स्थानीयतहसम्म पुग्दा गठबन्धनको रसाइनमै खिया लाग्यो । रसाइनमा खिया लाग्दा कतै गठबन्धन टुट्यो, कतै फुट्यो त कतै धर्मरायो । तलसम्म रसाइन बलियो नहुँदा गठबन्धनको लक्ष्य र उद्देश्य प्राप्तिमा केही अवरोध पैदा हुने देखियो ।
तल्लो तहसम्म गबन्धन मजबुत नहुनुमा अनेक पक्षको भूमिका छ । मुख्यत ‘कांग्रेसी आडम्बर’ कारक बन्यो । सिट बाँडफाँटदेखि मनोनयनसम्म आइपुग्दा आडम्बरले डम्म कांग्रेसीहरुले जताततै रुख मात्र देखे, जसलाई पनि कांग्रेसी मात्रै ठाने । त्यहाँबाट तल्लो तहमा गठबन्धनको रसाइनमा खिया लाग्न सुरु भयो । गगन थापा, धनराज गुरुङ र शेखर कोइरालाहरुले खिया लाउने काम प्रारम्भ गरे । त्यो रोग तल्लो तहसम्म कोरोनासरी फैलियो ।
गठबन्धनमा खटपट कांग्रेसी आडम्बरबाट सुरुभयो । मनोनयनसम्म आइपुग्दा गठबन्धनका अन्य दलमा पनि सर्यो । उनीहरुले पनि कतिपय स्थानीय तहमा कांग्रेसी पारा देखाए । कतै कांग्रेस बाइपासमा पर्यो, कतै माओवादी, कतै एकीकृत समाजवादी त कतै जसपा । अर्थात अधिकांश स्थानीय तहमा सोचे जति गठबन्धन बलियो हुन सकेन । यस्तो अवस्थमा अधिकांश ठाउँमा गठबन्धनलाई सहज हुँदाहुँदै पनि सहज छैन ।
कांग्रेसको खानदानी रोग
रसाइनमा खिया लाग्नु मात्र गठबन्धनको समस्या होइन । कांग्रेसको खानदानी आदत (अब त रोग नै भइसक्यो) अर्को समस्या हो । कांग्रेसीलाई ‘बागी’ नउेठसम्म निर्वाचन नै लाग्दैन । गठबन्धनलाई कांग्रेसी आदत अर्को चुनौती हो । अधिकांश स्थानीय तहमा कांग्रेसका बागी उम्मेदवार छन् । केन्द्रबाट कुनै प्रकृतिको आश्वासन पुगे केही फिर्ता होलान् नत्र गठबन्धनलाई कांग्रेसका बागीहरु काउसो भइसेका छन् ।
बागी उम्मेदवार सम्बन्धनमा कांग्रेसी बाहेक अरु खासै इच्छुक देखिएनन् । चाहना राख्नेहरु भएपनि कम्युष्टि र समाजवादी दलमा त्यो चरित्र कम देखियो । लगभग कांग्रेस बाहेकका दलबाट बागी छैनन् ।
‘म फ्याक्टर’को भूमिका
सत्ता सबैको चाहना हो । सत्तासम्म पुग्ने माध्यम नचाहने कुरा हुँदैन । यस अर्थमा जनप्रतिनिधिका लागि आकांक्षी धेरै हुनु स्वभाविक हो । तर, थोरैले मात्र अवसर पाउँछन् । अवसर पाउनेहरु खुशी हुने नै भए । अवसर नपाउनेहरु धेरै त असन्तुष्ट नै हुन्छन् । तिनैबाट गडबड हुने खतरा धेरै हुन्छ ।
टिकट नपाउने धेरैलाई त यसपटक त्याग गर्दा अर्कोपल्ट अवसर पाइएला भन्ने नै लाग्दैन । अधिकांशको मुखबाट सुनिने कुरा– ‘मैले टिकट पाए जितिन्थ्यो, अर्कोले पायो टुंगो छैन ।’ अर्थात सबै पार्टीमा ‘म फ्याक्टर’ प्रधान बनेको छ । त्यस्ताको संख्या धेरै छ । जुनै पार्टीले पनि ‘म ग्रस्त’हरुबाट सकारात्मक अपेक्षा नराख्दा राम्रो हुन्छ । सत्तारुढ गठबन्धनमा त्यस्ताको संख्या ठूलो छ ।
सेखी झार्नेहरुको लर्को
गठबन्धनका सबै दलमा सेखी झार्न तम्सेका नेता कार्यकर्ताको संख्या ठूलो छ । आफूले नपाएको र आफूले चाहेकाले नपाएको पीडा छ । त्यो पीडा सेखी झार्ने, इबी मार्ने हतियार बन्ने खतरा छ । त्यसको मुख्य कारण आन्तरिक प्रतिस्पर्धामा एकले अर्काको अस्तित्व नस्वीकार्ने प्रवृत्ति हो । टिकट वितरणमा हुने गुट पक्षपोषण अर्को कारण हो । यस्ता प्रवृत्ति र समस्या सत्ता गठबन्धन दलमा धेरै छ । जहाँ नेतृत्वले भनेको मान्ने त कमै होलान् । अनियन्त्रित छन् ।
आन्तरिक प्रतिस्पर्धामा कमजोर हुने आकलनले आफ्नाविरुद्ध भित्रभित्रै लाग्नेहरुबाट सत्ता गठबन्धन अछुतो छैन । आफ्नाविरुद्ध लाग्दा फाइदा हुने त अर्कोलाई नै हो । आफ्नो पार्टीले टिकट नपाएको झ्वाँक, आफ्नो पार्टीले पाएपनि आफू र आफूले चाहेकोले नपाएको झ्वाँक ब्यालेटमा पोखियो भने सत्ता त प्रधान प्रतिस्पर्धी एमालेको थालमा पोखिने खतरा थोरै छैन ।
उस्तै हरिबिजोग एमाले
अनेक भेल मिसिएको सत्ता गठबन्धन सम्हालिन सहज छैन । तर, मुख्य प्रतिस्पर्धी दल एमालेको अवस्था त झन डामाडोल छ ।
एक्लै भिड्न एमाले शक्तिशाली हो । तर, एमालेविरुद्ध महासागर उभियो । एमालेले पनि सागर बनाउने कोसिस त गर्यो । तर, एमालेका सारथीको खासै अर्थ छैन । अर्थात एमाले एक्लै मैदानमा छ ।
एक्लै मैदान उत्रको एमालेको आन्तरिक रसाइन सत्ता गठबन्धनको भन्दा पनि कमजोर छ । अध्यक्ष केपी शर्मा ओली एक्लौटी राज धेरै नेता र कार्यकर्ताको घाँटी–घाँटी पुगिसकेको छ । ति नेता–कार्यकर्ताले देखिने गरी ओकल्न त नमिल्दो हो तर ब्यालेटेको माध्यमबाट ओकल्न कसले रोक्ने ?
टिकट वितरणको क्रममा ओलीले चलाएको गोली लागेर घाइते भएका धेरै त अन्य पार्टी पुगेर मल्हम–पट्टी लगाउने कोसिसमा छन् । पीर खेपेकाहरु पनि झिर लिएर बसेका छन् । मौका पाए किन छोड्लान् ?
आन्तरिक असन्तुष्टि मात्र एमाले संकटको कारण होइन । ओलीको असंवैधानिक कदम तल्लो तहसम्म पुगेको छ । असंवैधानिक कदमकै वेबमा तल्लो तहसम्म पार्टी दुईचिरा भएको छ । त्यसको मार त खेप्नुनै छ ।
एमालेको छटपटी र पराजयको भय
ओलीको असंवैधानिक कदमपछि असफलताको भारी बोकेका एमाले ठूलो छटपटीमा छ । एमाले यतिखेर आफ्नैसँग पनि त्रसित छ । आफ्नालाई पनि विश्वास गर्न नसक्ने अवस्थामा छ । त्यसैले अरुबाट काम चलाउने अवस्थामा पुगेको हो ।
एमालेका अनेक दुःख छन् । सयौं सक्षम कार्यकर्ताको धनी एमाले अरुको भरमा मैदान उत्रनु परेको छ । कतै यौन हिंसाका आरोपिको भर पर्नु, कतै सिक्री चोर आरोप लागेकालाई च्याप्नु परेको छ त कतै सुन्दरीको साथ खोज्नु परेको छ ।
सम्भावित परिदृश्यले भन्ने कुरा– एमाले पराजयको ठूलो त्रासमा छ । भीरबाट लड्न लागेको मान्छेले त्यान्द्रोमा पनि जीनव देख्छ भने झै एमाले पनि जितको जीवन खोज्दैछ । तर, त्यान्द्रोले ज्यान धान्दैन, जीवन बाच्दैन ।
हुने के त ?
सम्भव छ र छैनमै कुरा पुग्छ । यदि, गठबन्धनका नेता कार्यकर्ता इमानदार रुपमा प्रस्तुत हुने हो भने यसपटक एमालेको खैरात छैन । होइन भने एमाले फाइदामा जान्छ ।
यदि, एमालेविरुद्ध, त्यसमा पनि ओली प्रवृत्तिविरुद्ध र संविधान रक्षाको पक्षमा सत्ता गठबन्धन बनेको हो भने गठबन्धन आवद्ध दलका नेता कार्यकर्ता इमानदार रुपमा तालमेलप्रति प्रतिवद्ध हुनुपर्छ । सत्ता गठबन्धनले भने झै आवद्ध दलले ‘मित्रवत प्रतिस्पर्धा’को भावना स्वीकार्न सके गठबन्धन सफल हुनसक्छ । होइन भने, दूध विपक्षीकै थालमा पोखिन्छ ।
सन्निकट निर्वाचनलाई हार र जितको अर्थमा मात्र हेरिन्न सायद । एमालेलाई निर्वाचनमार्फत धुलिसात बनाएर ‘ओलीको त्यो कदम प्रतिगमन नै थियो’ भनेर प्रमाणित गर्नुछ, गठबन्धनलाई । जित हाँसिल गर्दै ‘त्यो कदम प्रतिमगन थिएन’ भनेर आफूलाई ठिक सावित गर्नुछ, एमालेलाई । यस अर्थमा दुवै समूहका लागि यो निर्वाचनले अर्थ राख्छ ।
दुवै समूह आफूलाई प्रमाणित गर्न लाग्नु बेठिक होइन । तर, कसले निर्वाचन जित्दा ठिक ? भन्ने प्रश्नको जवाफ महत्वपूर्ण हो । यस निर्वाचनमार्फत एमालेले आफूलाई ठिक सावित गर्न खोज्नु बेठिक होइन । तर, अन्जानमा प्रतिगमनकारी शक्ति भनिएको एमाले ठूलो शक्तिको रुपमा उदायो भने के हुन्छ ? त्यसले ठूलो अर्थ राख्छ । यो विषयमा संविधान र व्यवस्थाको रक्षाका लागि भन्दै एक भएकाहरुलाई चिन्ता होला सायद !