Logo
Logo

स्थानीय निर्वाचन गठबन्धनको अग्निपरीक्षा


3.3k
Shares

नेपालमा स्थानीय निर्वाचनको मिति वैशाख ३० गते नजिकिँदै जाँदा, यसको पारो पनि त्यत्तिकै चढ्दो छ । उम्मेदवारी दिने क्रम सकिएको छ । अब जे जस्ता व्यक्ति भए पनि यिनै उम्मेदवारमध्येबाटै आफ्नो स्थानीय सरकार छान्ने विकल्प जनतालाई छ ।

जनतासामु ठूला, साना राजनीतिक दलका उम्मेदवारमात्र छैनन्, स्वतन्त्र उम्मेदवार पनि छन् । परम्परागत दलका मात्र उम्मेदवार छैनन्, आफूलाई विकल्प भन्नेहरूका उम्मेदवार पनि छन् । केही अपवादमा, यो निर्वाचनलाई रमाइलो बनाउने उम्मेदवार पनि छन् । तर, अहिले नै उनीहरू नानीमैया दाहाल जतिको ‘क्लाइमेक्स’ रमाइलो दिने स्थितिमा देखिँदैनन्, संघीय गणतन्त्रको दोस्रो निर्वाचन मात्र हो, जनता यसैपटक विकल्पविहीन अवस्थामा पुगिसकेका छैनन् । शायद, राजनीतिक दलभित्रैबाट उनीहरू यसपटक विकल्प खोज्नेछन् ।

यसपटकको निर्वाचन सिद्धान्ततः निर्वाचनअघिको गठबन्धन अर्थात् प्रि–इलेक्सन एलायन्समै गयो । केन्द्रस्तरमै सत्ता गठबन्धन र सत्ताइतर गठबन्धन स्वीकार गरियो र त्यही किसिमको अभ्यास गर्ने प्रयास पनि भयो । तर, राजनीतिक दलभित्रकै गुटहरूको स्थानीय स्वार्थका कारण केन्द्रमा चाहेर पनि स्थानीयस्तरसम्मै ‘भर्टिकल एलायन्स’ हुन सकेन ।

राजनीतिक दलका नेताहरूकै भाषामा कहीँ मित्र हुने नसके पनि मित्रवत् प्रतिस्पर्धा गरिने कुरा बाहिर आएको छ । यदि, यसैलाई अभ्यासमा उतारियो भने प्रकारान्तरमा त्यसले लोकतन्त्रलाई फाइदा नै गर्छ ।

कांग्रेस सबैसँग विश्वासिलो सहकार्य गरेर अगाडि बढ्यो भने देशले ओलीको विकल्प पाउनेछ, त्यसो गर्दा कांग्रेसकै भागमा सबैभन्दा ठूलो जीत पनि हात पर्छ । तर, त्यसो नगरेर अहिले नै एकलौटी जितको सपना देख्यो भने कांग्रेसका लागि त्यो मृगतृष्णा मात्र हुनेछ ।

मुलुकलाई दुई कित्तामा बाँढेर जे–जस्ता गठबन्धन बनाइए, ती सैद्धान्तिक आधारमा भन्दा पनि सत्ता केन्द्रित थिए । सिधा भाषामा भन्दा ओली पक्षधर र ओलीइतर थिए । कसैले चाहे पनि नचाहे पनि यो निर्वाचनको केन्द्रविन्दुमा ओली नै छन् । किनकि, अहिले एमाले छैन, बामाले छ । र, अहिलेको स्थानीय निर्वाचनको सत्तारूढ दल भनेको ओमाले हो । अझै पनि लगभग ४० प्रतिशत हिस्सा बामालेकै छ ।

उम्मेदवारी दिँदासम्मको स्थिति हेर्दा बामालेले सबै कुरा बिर्सेर जित्न सक्नेलाई नै उम्मेदवारीको आधार बनाएको देखिन्छ । आदर्श, मूल्य, मान्यता, सिद्धान्त सबै उसले सिंहदरबारसँग साटेको छ । यौन दुव्र्यवहारदेखि चोरीको आरोप लागेकासम्म ‘जित्छन्’ भन्ने सम्भावित अंकगणितकै आधारमा उम्मेदवार बनाइएका हुन् ।

दलबदल र उनीहरूलाई दिइएको उम्मेदवारीको आधार पनि उही छ । रोस्टरमा जसको नाम चढाइए पनि स्थानीय सरकारको प्रमुखमा ओलीले नचाहेका कुनै नाममा हरियो रेजा लागेको छैन । उता, सत्ता गठबन्धन भने यस कुरामा खासै चनाखो देखिएको छैन ।

बामाले गठबन्धनभन्दा आफ्नो गठबन्धन बलियो भएको दम्भ उसमा देखिएको छ । सबै घटक नातावाद, कृपावाद र गुटबाटको चंगुलमा चुर्लुम्मै डुबेका छन् । राम्राभन्दा पनि हाम्राले उम्मेदवारी पाएका छन् । यसै पनि साना र बिटुलिएका दल छन्, उनीहरूका लागि राम्रो उम्मेदवारीको छनोटको सीमितता हुनु पनि अस्वभाविक छैन ।

परिणामतः केन्द्रीय सत्ता गठबन्धनले जुन किसिमको चुनौती स्थानीय सत्तारूढ दल बामालेलाई दिने अपेक्षा गरिएको थियो, त्यो स्तरको देखिएको छैन । सत्ता गठबन्धनका अन्यः चार घटक केही समय पहिले मात्र पार्टी टुटफुटको शिकार भएकाले उनीहरू फर्ममा छैनन् । उनीहरूको यही कमजोरी देखाएर कांग्रेस आफूलाई पुगेर उब्रेको मात्र दिने सोचमा पुगेजस्तो देखिन्छ । फलतः अपेक्षाकृत संख्यामा स्थानीयस्तरमा तालमेल हुन सकेन । जसको प्रत्यक्ष फाइदा स्थानीयसत्तामा रहेको बामालेलाई हुने देखिन्छ ।

कांग्रेस आफैँमा अनेक गुट–उपगुटको गठजोड हो । कांग्रेस हारलाई छिट्टै बिर्सने र धरातलीय यथार्थको राम्रो लेखाजोखा गर्न नसक्ने दलका रूपमा इतिहासमा एकपटक होइन, अनेकपटक बदनाम छ । यसपटक पनि कांग्रेसले त्यो गल्ती दोहोर्याउन डिलमा पुर्याइसकेको छ ।

कांग्रेसी भनेको रूखमै मतदान गर्न जन्मेका अद्भूत प्राणी हुन् भनेर जुन किसिमको भाष्य बनाउन खोजिएको छ, त्यो आफैँमा असान्दर्भिक त छ नै, यसले हेपाहा सोचको ठाडो प्रतिविम्ब पनि पस्केको छ ।

यसको अर्थ, अरू दलका मतदाताले रूखमा मत दिएर जिताउनु पुण्य हो भने कांग्रेस मतदाताले चाहिँ अरू दलको चिह्नमा मतदान गर्नु पाप भन्ने हो ।

यसरी अरूलाई अपमानित गरेर कसरी सहकार्यको विश्वसनीय आधार बन्न सक्छ र ? समयको सन्देश र परिस्थितिको आदेश नमानेर कांग्रेस त्यतातिर लाग्यो भने उसको लागि त्यो बाटो सहज हुँदैन । रूखसँग सती जाने भाष्य बनाएर त्यही आधारमा अगाडि बढ्दा कांग्रेसका लागि करारी हार हात लाग्न सक्छ ।

कांग्रेसको लागि यो हार यस निर्वाचनी शृंखलाको पहिलो हार हुने छ । त्यसपछिका प्रदेश र संघको निर्वाचनमा उसले सहकार्यका लागि अन्य दल नपाउन पनि सक्छ । नेपालको संविधान र यसले व्यवस्था गरेको निर्वाचनी प्रणालीमा तत्कालका लागि नेपालका कुनै पनि राजनीतिक दलसँग एकल बहुमत ल्याउने तागत छैन । जस्तोसुकै अवस्थामा पनि भएकै दलसँग मिलेर, गठबन्धन गरेर सत्तारूढ हुनुको विकल्प छैन । कांग्रेस, ओमाले, माओवादी र अर्को कुनै मधेसवादी दल नमिली सत्ताको अंकगणित हात लाग्ने अवस्था छैन ।

यस्तो अवस्थामा बनिरहेको गठबन्धनलाई भत्काएर अर्को गठबन्धनका लागि मार्गप्रशस्त गर्नेभन्दा पनि भएको गठबन्धन जोगाउनु नै बुद्धिमानी हुन्छ । अहिलेको परिस्थितिले गठबन्धनमा रहेका कुनै पनि दललाई अर्को दलको कमजोरीमाथि बुर्कुसी मारेर रमाउने छुट नै दिदैन । बरू, उसको कमजोरी हटाउन सहयोग गरेर अगाडि बढ्नुपर्ने आदेश दिन्छ ।

यो निर्वाचनमा मुलुकसामु ओली कि अन्य भन्ने विकल्प मात्र बचेको छ । परिस्थिति यति तरल बनेको छ कि अब सूर्यलाई मतदान गर्नु एमालेलाई होइन, ओलीलाई भन्ने अवस्था छ । र, ओली बलियो बन्नु भनेको पार्टी होइन, व्यक्ति बलियो बन्नु हो । मुलुकले अहिले अंगिकार गरिरहेको बहुदलीय लोकतन्त्रमा व्यक्ति होइन, दल बलियो बन्नुपर्छ ।

यो निर्वाचनमा सत्तारूढ गठबन्धन त्यसमा पनि खासगरी नेपाली कांग्रेसले परिस्थितिको सही मूल्यांकन र समयको आदेश मान्यो भने सत्ता गठबन्धन बामाले गठबन्धनका लागि भारी हुने छ । त्यसपछि मात्र ओली साइजमा आउने छन् । अहिले जुनसुकै कोणबाट पनि ओलीलाई साइजमा ल्याउन जरूरी छ ।

त्यसका लागि अरू केही गर्नै पर्दैन, एक वर्षअगाडि उनी सत्तामा हुँदा भएको अत्याचार सम्झे पुग्छ । सत्ता गठबन्धनका दल, नेता र उम्मेदवारले एक स्वरले आम मतदातालाई यही कुरा सम्झाउन सक्नुपर्छ । ओलीलाई पाठ पढाउन सकियो भने मुलुकलाई अस्थिरतामा धकेल्न उनले गरेका अपराधहरुको बोध उनलाई हुनसक्छ ।

तर, त्यसो भएन भने फेरि पनि स्थानीयस्तरमा बामाले ठूलो जीतका साथ फर्कने छ । त्यसले ओलीको घमण्डको पारो मात्र बढ्ने छैन, आम मतदातामाझ ओली निर्विकल्प रहेछन् भन्ने खालको सन्देश पनि जान्छ । नेपाली मतदाताको मनोविज्ञान जित्नेलाई मत दिएर आफ्नो मत खेर नफाल्ने भन्ने पनि छ, हारी हाल्छ किन मत दिन जाने भन्ने पनि छ । यो दुवै मनोविज्ञानले फेरि पनि बामालेलाई नै फाइदा पुग्नेछ र प्रदेश र संघको निर्वाचनमा उसको पुनरागमन हुनसक्छ ।

यता बामाले उत्साहित भइरहेको बेला उता सत्ता गठबन्धनका दलमा भने आपसी अविश्वास चुलिने छ, हारका लागि एकले अर्कालाई दोष दिने क्रम सुरू हुनेछ । अझ, कांग्रेसी उम्मेदवार जितेर गठबन्धनका अन्य उम्मेदवार हारे भने त्यसले फेरि एकपटक मुलुकलाई वामपन्थी ध्रवीकरणतिर लैजाने बाध्यता सिर्जना हुन्छ । त्यो अवस्थामा ओलीले फेरि प्रचण्ड र माधव नेपाललाई केही चारो हाल्नेछन् र कांग्रेसबाट धोका पाएका उनीहरूका लागि त्यो चारो टिप्नुको विकल्प हुँदैन ।

यसबाट फेरि मुलुक थप अस्थिरतातिर धकेलिने छ । त्यसैले अहिलेको अवस्थामा सत्तारूढ गठबन्धन त्यसमा पनि नेपाली कांग्रेस बढी जिम्मेवारीका साथ प्रस्तुत हुन जरूरी छ । यस्तो जरूरी उसकै लागि त छ नै, मुलुक र मुलुकवासीका लागि पनि त्यतिकै जरूरी छ । कांग्रेसले के बुझ्न जरूरी छ भने देशको समग्र दुरवस्था कम्युनिष्टमैत्री छ । कम्युनिष्टहरू साँच्चै नै मिले भने उसलाई सिंहदरबार त के, बागदरबार पनि हात लाग्दैन ।

त्यसैले उसले कम्युनिष्टहरू मिल्न नदिने खेल खेलेर त्यसबाट आर्जित शक्तिमार्फत मुलुकको कम्युनिष्टमैत्री अवस्थामा परिवर्तन ल्याउनुपर्छ । त्यो भनेको मुलुकलाई गरिबी, अशिक्षा, अभाव, बेरोजगारीजस्ता परिस्थितिबाट बाहिर ल्याउने हो । उसका लागि अर्को विकल्प भनेको मुलुकमा रहेका अरू दक्षिणपन्थी शक्तिलाई साथमा लिएर नयाँ गठबन्धन बनाउने र वामपन्थी शक्तिसँग आमनेसामने भएर सत्ता आर्जन गर्ने हो । तर, तत्कालका लागि यो सम्भावनाको अंकगणित पुगिसकेको छैन ।

यो अवस्थामा ओलीलाई जिताउने कि हराउने भन्ने निर्णय गर्ने निर्णायक ठाउँमा कांग्रेस छ । उसले सबैसँग विश्वासिलो सहकार्य गरेर अगाडि बढ्यो भने ओली हार्नेछन् र त्यो हारमा सबैभन्दा बढी कसैको जीत हुन्छ भने कांग्रेसकै हुन्छ । तर, त्यसो नगरेर अहिले नै एकलौटी जितको सपना देख्यो भने उसका लागि त्यो दिवासपना हुनेछ र फेरि पनि ओली नै जित्नेछन् ।

यो अवस्था यस कारणले पनि विद्यमान छ कि, चेतनाका हिसाबले अझै पनि नेपाली जनता जनार्दन हुन सकेका छैनन् । उनीहरू यो वा त्यो नामको वादको बन्दी छन्, विचारका बन्दी छन्, विषयमा आधारित निर्णय गर्ने अवस्थामा पुगिसकेका छैनन् । जनताको यही कमजोरीबाट फाइदा लिएर नेताहरू सेवक हैन, शासक भइरहेका छन् ।
सकिन्छ, यसैपटक जनता जनार्दन होऔं ।

प्रतिक्रिया दिनुहोस्