Logo
Logo

‘आत्यवश्यक उपभोग्यवस्तु आपूर्तिमा साल्ट ट्रेडिङको भूमिका अतुलनीय’


819
Shares

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले ‘हेम बहादुर मल्ल सम्मान–२०७६’ प्रदान गर्न आफ्नो अमूल्य समय दिएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई कृतज्ञता व्यक्त गर्दै कर्पोरेसनका तत्कालीन अध्यक्ष लक्ष्मीदास मानन्धरको गत २०७८ माघ ६ गते असामयिक एवं दुःखद निधन भएप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।

यसै सन्दर्भमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले साल्ट ट्रेडिङ कर्पोरेसनले लामो समयदेखि नेपाली जनतासँग सामिप्यता राखी गुणस्तरीय उत्पादन तथा नुन, चिनीलगायतका दैनिक उपभोगका आवश्यक खाद्यान्नहरू सुपथ मूल्यमा सर्वसुलभ उपलब्ध गराउँदै आएको, बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना हुँदा नेपाल सरकारको निर्देशनअनुसार आफ्नो सेवा विस्तार गर्दै आम उपभोक्ताप्रतिको दायित्व निर्वाह गर्दै आएको बताउँदै उनहाँले सुगमदेखि दुर्गम क्षेत्रसम्मको नेपालीलाई जनतालाई नुनजस्तो अत्यावश्यक वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन कर्पोरेसन निरन्तर क्रियाशील रहेको बताए ।

सबै प्रदेशलाई लक्षित गरी आफ्नो कार्यक्षेत्र र सेवा विस्तार गर्ने साल्ट ट्रेडिङले नीति लिएको छ  । देशको अर्थतन्त्रमा कृषिको महत्व अंगीकार गर्दै अनुदानित मलका अतिरिक्त आफ्नै तर्फबाट समेत गैरअनुदानित मल आयात बिक्रीवितरण गर्दै आएको श्रेष्ठले बताए । जसले उत्पादन वृद्धिमा सहयोग पुग्नुका साथै कृषि उत्पादन वृद्धि गर्न ठोस योगदान पुग्ने अनुभव गरिएको उनले बताए ।

यसबाट देशको समग्र किसानहरूको हित हुने तथा कृषि क्षेत्रमा टेवा पुग्नेछ भन्ने विश्वास लिइएको बताउँदै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले रासायनिक मलको अतिरिक्त गहुँको बीमा प्रशोधन गरी किसानसमक्ष पुर्याएको समेत बताए ।

नेपाल भूकम्पीय जोखिमको देश भएको कारणले कर्पोरेसनले फ्युचर वर्कस् बिल्डिङ सोलुसन्स प्रालिमार्फत हेटौंडामा कारखाना स्थापना गरी एलजीएस प्रविधिबाट थानकोटको महादेवस्थानमा प्रि इन्जिनियरिङ हाउसको निर्माण गरिएको, केही घरहरू निर्माणसम्पन्न गरिसकिएको र केही घरहरू निर्माणाधीन अवस्थामा रहेको श्रेष्ठले जानकारी दिए ।

कुनै पनि समयमा आम नागरिकले स्थलगत अवलोकन गर्न सक्ने भन्दै यस्तो आधुनिक प्रविधिलाई बजारीकरण गर्न श्रेष्ठले सबैमा आग्रहसमेत गरे ।

उत्पादन र वितरणको क्षेत्रमा नुन, चिनी, पिठो, चामल, तेल दाललगायतका अतिरिक्त ग्यास, कागज आदि वस्तुहरू कारोबार गर्दै आएको साल्ट ट्रेडिङले कोभिड १९ को महामारीको समयमा आम उपभोक्ताको सहुलियतको लागि विभिन्न बिक्रीकक्षहरू तथा घुम्ती सेवा सेवामार्फत घरदैलोमा उपभोग्य वस्तुहरू उपलव्ध गराएको थियो ।

देशमा आइपर्ने प्राकृतिक विपत्तिको समयमा कर्पोरेसनले अत्यावश्यक वस्तुको नियमित आपूर्तिमा सक्रिय भूमिका खेल्दै आएको छ । भविष्यमा आम जनतासँग सरोकार राख्ने उपभोग्य वस्तुको उत्पादन र वितरणमा आफ्नो सेवा अझ विस्तार गर्ने लक्ष्य लिएको श्रेष्ठले जानकारी गराए ।

पूर्वव्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको दूरदर्शिता, निरन्तरको प्रयास र कुशल व्यवस्थापनलाई आत्मसात् गर्दै साल्ट ट्रेडिङ कर्पोरेसनले सफलता हासिल गर्दै बताउँदै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उहाँको अविस्मरणीय योगदानलाई स–सम्मान स्मरण गर्नुपर्ने बताए ।

पूर्वव्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लप्रति सम्मान व्यक्त गर्दै उनले भने– ‘उहाँको सम्मानमा स्थापना गरिएको ‘हेम बहादुर मल्ल सम्मान–२०७६’ राज्यको उच्च ओहोदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल सार्वजनिक क्षेत्रका महत्वपूर्ण योगदान पु–याउनुभएको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान निर्माण गर्न उल्लेखनीय योगदान पु¥याउने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायज्यूलाई प्रदान गरिएकोमा उहाँप्रति हार्दिक ज्ञापन गर्दछु ।’

योग्य व्यक्तिको छनोटलगायत समारोहको संयोजनको दायित्व लिएकोमा साल्ट ट्रेडिङ कर्पोरेसन परिवार नेपाल जनप्रशासन संघप्रति आभार व्यक्त गर्ने भन्दै उहाँले हेम बहादुर मल्ल सम्मानका अतिरिक्त बाल हितकारी पुरस्कार, चिकित्सा क्षेत्रमा विद्यार्थीहरूलाई अध्ययनको अवसरलगायतका सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको र भविष्यमा सामाजिक उत्तरदायित्वमा अझै थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हेम मल्ल सम्मान २०७६ द्वारा सम्मानित हुनुभएका व्यक्तित्व श्री सूर्यनाथ उपाध्यलाई पुनः हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सु–स्वास्थ, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरे ।

विगतमा झैँ भविष्यमा पनि साल्ट ट्रेडिङ कर्पोरेसनको समृद्धिमा आम जनताका स्नेह, सद्भावना र सहयोगको अपेक्षा रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्