Logo
Logo

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा खनाल नियुक्त


567
Shares

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको कामु सिइओको रुपमा कार्यरत उनी बैंकको सिइओमा नियुक्त भएका हुन् ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरेर चार वर्षका लागि सिइओ नियुक्त गरिएको बताइएको छ । उनी कामु सिइओ बनेको साढे दुई महिनामै सिइओ बनेका हुन् ।

बैंकले माघ २४ मा खनाललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको थियो । खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग करिब डेढ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनले एनआइसी एसिया क्यापिटलमा सिइओका रुपमा पनि काम गरिसकेका छन् भने सिद्धार्थ बैंकमा पनि काम गरेको उनीसँग अनुभव छ ।

साढे २ महिनाको अवधिमा कामु सिइओको रूपमा काम गर्दा बैंकको तेस्रो त्रैमासमा राम्रो प्रगति देखिएको कारण पनि बैंक सञ्चालक समितिले उनलाई सिइओको जिम्मेवारी सुम्पेको हो ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको तथ्यांकाअनुसार बैंकले १ अर्ब ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चुक्ता पूँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष १०.४७ प्रतिशत बढेको छ । त्यसैगरी बैंकको निक्षेप संकलन १३.४२ प्रतिशतले र कर्जा लगानी १३.०८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्