काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रहरीमा ३० वर्षे सेवाहद हटाउने तयारी रहेको बताएका छन् । उमेरहदका कारण अवकासमा जान लागेका नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीको बिदाइका लागि बुधबार गृह मन्त्रालयले गरेको कार्यक्रममा गृहमन्त्री खाणले प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधि के गर्ने होला ? भन्ने विषयमा छलफल प्रारम्भ भएको बताए ।
‘दुबै प्रहरीमा लामो समयदेखि सेवाअवधिका कारणले यहाँहरूको असीमित क्षमता हुँदाहुँदै पनि बिदा गर्न परिरहेको छ । ३० वर्षलाई के गर्ने होला ? त्यसका लागि छलफल भइरहेको छ । प्रारम्भ देखि नै दुबै प्रहरीको सेवा प्रवेश र अवकासका लागि यति धेरै ब्यारेलहरू राख्न हुँदैन मानिसको उमेर पनि बढिरहेको छ, ‘एक्सपेरिइन्स’ पनि बढिरहेको छ,’ गृहमन्त्री खाणले भने ‘उमेरको हदबन्दीलाई मिलान गर्ने, पदीय समायोजनको कुरालाई पनि मिलान गर्ने गर्दा ३० वर्षलाई नराख्दा हुन्छ भन्ने छ । प्रहरीमा फेरि जान लागेकाले ३० वर्ष लाग्न हुन्न भन्छन् । उनीहरूलाई पठाएर आफू बन्न चाहनेले लगाउनुपर्छ भन्छन् । हामीले गर्दाखेरी संस्थालाई हित हुने कसैलाई पनि नकारात्मक प्रभाव नपर्ने समयमा मिलान गर्नुपर्छ भन्ने हाम्रो धारणा छ ।’
सरकारको चाहना उमेरहदलाई पहिल्यै मिलान गर्ने रहे पनि लामो समयसम्म संगठनलाई व्यवस्थित राख्न नसकेको र निर्वाचनको मुखमा नीतिगत निर्णय नगरौँ भन्ने सल्लाहका कारण तत्कालका लागि रोकिएको गृहमन्त्री खाणले बताए । ‘हाम्रो चाहना त पहिल्यै नै मिलान गरिदिउँ भन्ने थियो । तर, अहिले लामो समयसम्म संस्थालाई हामीले व्यवस्थितरूपमा चलाउन पनि सकिएन, निर्वाचन पनि आइसकेका कारणले निर्वाचनको सम्मुखमा नीतिगत यस्ता ठूला निर्णयहरू नगरौ भन्ने हिसावले रहेको छ,’ गृहमन्त्री खाणले भने, ‘उपयुक्त समयमा यो विषयमा हामीले खास निर्णय गर्नेछौँ ।’
उनले प्रहरी र सशस्त्रले सीमित स्रोत र साधनलाई उपयोग गरेर असीमित भूमिका र कार्य गरेको बताए । त्यसका लागि उहाँले अवकास भएर जान लागेका दुबै महानिरीक्षकहरूलाई सरकारका तर्फबाट धन्यवाद व्यक्त गरे ।
‘सीमा सुरक्षा, नागरिकको जीवन रक्षा र राष्ट्रमा हुने विभिन्न अवाञ्छनीय गतिविधि र अपराधिक घटनाको रोकथाम र प्राकृतिक विपद्का वेलामा कठिन समयमा साहसजन्य काम दुबै प्रहरी संगठनले सीमित स्रोत र साधनको प्रयोग गरेर गरेका छन्,’ गृहमन्त्री खाणले भने ।
गृहमन्त्री खाणले नेपाल प्रहरीका महानिरीक्षक थापा आफ्ना कारणले कहिल्यै पनि विवादमा नआएको बताउनु भयो । ‘नेपाल प्रहरीमा शैलेश थापाले ज्यादैनै सफलताका साथ आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ,’ प्रशसा गर्दै उनले भने , ‘हाम्रो कारणले कहिलेकाही विवादमा आउनु भयो होला, तर आफ्नोे कार्यक्षेत्र, अधिकार र निर्णयका कारणले कुनै पनि विवादमा आउनुभएन ।’
गृहमन्त्री खाणले मन्त्रालयको भूमिकाका हिसावले भन्दा थापाले शतप्रतिशत नम्बर प्राप्त गरेको बताउनु भयो ।
सशस्त्र प्रहरीका महानिरीक्षक केसीले आफ्नो छोटो कार्यकालमा ‘हुने विरुवाको चिल्लो पात भने जस्तै राम्रा कामको थालनी गरेको बताए । सरकारले बिदाइ भएर गएका थापा र केसीबाट आगामी दिनमा विभिन्न नीतिगत कुराहरूमा संस्थालाई सबल गराउने क्रममा सुझाव र सल्लाह प्राप्त गरिरहने आशा राखेको बताए ।