एजेन्सी । नागरिकको उद्धार नसकिँदै मरिपोलको स्टिल उद्योगमा रुसले फेरि आक्रमण गरेको युक्रेनले दाबी गरेको छ ।
स्टिल उद्योगमा फँसेका सयौँ नागरिकको उद्धार कार्य बाँकी रहँदा रुसले आक्रमण गरेको युक्रेनले आरोप लगाएको हो ।
स्टिल उद्योगमुनि रहेको बंकरमा अझै कैयौँ बालबालिका र नागरिक फँसेका युक्रेनी सुरक्षाकर्मीले जनाएका छन् । त्यहाँ फँसेका नागरिकलाई अन्यत्र लैजाने प्रयास भइरहेको बताइएको छ ।
सो उद्योगमा आश्रय लिएर बसेका नागरिकको उद्धार कार्य आइतवारदेखि सुरु गरिएको थियो । केहीको उद्धार भएको बीबीसीमा उल्लेख छ । स्टिल उद्योगबाट उद्धार गरिएको पहिलो समूह जापोरिझिया सहरमा पुग्दैछ ।
संयुक्त राष्ट्र संघ (यूएन) र अन्तर्राष्ट्रिय रेडक्रसले फँसेका नागरिकलाई उद्धार गरेर अन्यत्र लैजान सहयोग गरिरहेका छन् । जापोरिझिया सहर मरिपोलबाट एक सय ४० माइल उत्तर–पश्चिममा पर्दछ ।