काठमाडौं । प्रहरीमा आइजिपी बढुवाको ‘महासंग्राम’ सकिएसँगै तल्लो तहको बढुवाको लागि गृहकार्य अघि बढेको छ । एआइजी र डिआइजी बढुवाको तयारीमा गृह मन्त्रालय जुटेको छ ।
एआइजी बढुवामा भने चर्काे प्रतिस्पर्धा छैन । बढुवाका लागि थोरै मात्र उम्मेदवार छन् । एआइजीको पाँच पद रिक्त छ । जसमा यसअघि बढुवामा छुटेका उत्तम सुवेदी र अरुण बिसी अटाउने नै भए । ६ जेठमा अवकाश पाउन लागेका डिआइजी बसन्त लामा पनि बढुवाका दाबेदार हुन् । तर, अवकाशअघि बढुवाको प्रक्रिया सु हुने–नहुने अन्योल छ ।
चुनावअघि नै सरकारले एआइजी बढुवा गरेमात्र उनी पर्ने सम्भावना छ । त्यस्तै मुकुन्द आचार्य, दिवेश लोहनी पनि एआइजी बढुवाका प्रमुख दाबेदार हुन् । तीन महिनाअघि मात्र डिआइजी भएकी पूजा सिंह पनि एआइजी हुने प्रबल सम्भावना छ ।
ठूलो भिडन्त भने डिआइजी बढुवामा छ । डिआइजीको बढुवा चुनावपछि मात्र हुनेछ । त्यतीबेला डिआइजीका १७ पद रिक्त हुँदैछन् । जसमा ३७ एसएसपीबीच प्रतिस्पर्धा छ ।
यसअघि बढुवामा अघि परेका १३ जनाको टोली यसमा प्रमुख दाबेदार छन् । जसमा सन्दीप भण्डारी, टेक प्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दिपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेक बहादुर तामाङ, बसन्त बहादुर कुँवर र भिम प्रसाद ढकाल छन् । उनीहरुमध्ये को पहिलो नम्बरमा हुने भन्ने प्रतिस्पर्धा छ ।
उनीहरुपछि १३ जनाको टोली छ । जसमा जनक भट्टराई, विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशलाल बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञबिनोद पोखरेल, चन्द्रकुबेर खापुङ छन् । यो टोलीब विष्णु केसी, भरत बोहरा, सुदीप गिरी, अशोक सिंह र किरण राणा बढुवामा बलिया दाबेदार हुन् ।
त्यस्तै गत वर्ष मात्र बढुवा भएका कृष्ण कुमार महत, गोविन्द कुमार साह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहन प्रसाद पोख्रेल लगायत पनि बढुवामा छिर्ने प्रयासमा छन् ।
तर, यो टोलीबाट बढुवा हुने सम्भावना कम रहेको बताउँछ । एसएसपी विकासराज खनाल पनि विगतमा बढुवामा पछि परेकाले यसपटक डिआइजी बढुवाको लाइनमा छन् । १७ पदमा कम्तीमा २० अधिकारी पहुँच र पैसाका दृष्टिकोणले सशक्त देखिएका छन् । जसकारण सिनियर भएर पनि चलखेलमा नलाग्ने एसएसपीहरु छुट्ने जोखिम देखिएको छ । डिआइजी बढुवामा बालुवाटार निकट केही बिचौलिया समेत सक्रिय भएको स्रोत बताउँछ ।