गत शनिबार श्रद्धेय जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्ती मनाइयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ताले देशका विभिन्न भागमा कार्यक्रमहरू गरे । राजधानीमा मदन भण्डारी फाउन्डेसनले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम ग¥यो । देशभर मात्र होइन, संसारका जुनकुनै ठाउँमा रहेका नेपालीले पनि त्यस दिन भण्डारीको स्मरण गरे । यसको खास कारण थियो । त्यो के भने, मदन भण्डारी साँच्चै दूरदर्शी नेता थिए । संसारलाई नयाँ विचार दिन सक्ने विचारक थिए । नयाँ दर्शन दिन सक्ने दार्शनिक थिए । र, थिए, कुशल संगठक पनि ।
०४६ को राजनीतिक परिवर्तनपछि मुलुक नयाँ मोडमा थियो । संसारभरजस्तै नेपालमा पनि वामपन्थी आन्दोलनको भविष्य अनिश्चित बताउन थालिएको थियो । तर, जब १४ देखि २० माघ २०४९ मा काठमाडौंमा भएको पाँचौँ राष्ट्रिय महाधिवेशनले नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा ‘जनताको बहुदलीय जनवाद’को कार्यक्रम पारित ग¥यो । त्यो ‘जबज’ मदन भण्डारीले नै प्रतिवादन गरेका थिए । मेहनतकश श्रमजीवी मजदुर, सर्वहारा किसानको प्रतिनिधि पार्टीका रूपमा रहेको एमालेका महासचिवका रूपमा उनले संसारकै कम्युनिष्ट आन्दोलनका लागि नयाँ विचार दिएका थिए । त्यो त्यस्तो विचार थियो, जसको बलमा शान्तिपूर्ण र वैधानिक ढंगबाटै कम्युनिष्टहरूको सरकार सम्भव देखियो । त्यही बाटोबाट समाजवादसम्म पुग्ने ढोका उघ्रियो । ०४९ यता दुईपार्टी मिलेर नेकपा बन्नुअघिसम्म नेकपा (एमाले)को मार्गदर्शक सिद्धान्त त्यही जबज बन्यो । उनको विचार अंगालेपछि नेकपा एमालेले कहिल्यै पछाडि फर्कनु परेन । त्यही बाटो समातेर तत्कालीन नेकपा नेपालको राजनीतिक इतिहासमा सबैभन्दा ठूलो दल बन्यो । नेकपाका लागि मात्र होइन, नेपालकै सन्दर्भमा त्यो विचारको प्रयोगमा अन्य कम्युनिष्ट पार्टी पनि देखिए । हतियारको बलका राज्यसत्ता कब्जा गर्न युद्धमा होमिएको तत्कालीन नेकपा माओवादीले विचार बदली उनकै बाटो पछ्यायो । पछि नेकपा माओवादी केन्द्र बनेको त्यो शक्ति र एमालेबीच एकता भएपछि अहिले नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक दल बन्न सम्भव पनि भयो । भण्डारीले प्रतिपादन गरेको बाटो अंगिकार गरेकै कारण यतिबेला नेकपा दुईतिहाइ सरकारको नेतृत्व गरिरहेको छ । मुलुकको राष्ट्रप्रमुख, संघीय सदनका दुवै सदनमा समेत नेकपाकै नेतृत्व छ । यति ठूलो राजनीतिक उपलब्धि उनकै देनबाट सम्भव भएको हो । तर, आम नेपालीको मन मनमा पुग्न सफल भएको त्यो विचार यतिबेला स्थगनको अवस्थामा छ । नेकपा निर्माणको क्रममा तत्कालीन एमाले र माओवादी केन्द्रले मान्दै आएका राजनीतिक विचारलाई स्थगित गर्ने सहमति बन्यो । यस्तै, ‘माक्र्सवाद लेनिनवाद, समाजवादउन्मुख जनताको जनवाद’को नाममा संक्रमणकालीन राजनीतिक विचारको लेपन भयो । भलै पार्टीको आधिकारिक विचार के हुने भन्नेबहसमा नेताहरू लडभिड गरिरहेका देखिन्छन् । जे भए पनि यतिबेला जबज स्थगनको अवस्थामा छ ।
हुनतः कुनै पनि राजनीतिक विचारलाई जड वा स्थुल मान्नु हुँदैन । राजनीतिक घटनाक्रम, विश्वपरिवेश र जनताको चेतनास्तरका आधारमा विचार समयसापेक्ष रूपमा परिमार्जन हुँदै जान सक्छ, जानुपर्छ । त्यसो हुन सके मात्र कम्युनिष्ट पार्टी बाँच्न सक्छ । मदन भण्डारीले पनि त्यही गरेका हुन् । परम्परागत कम्युनिष्ट विचारलाई धर्मशास्त्रका रूपमा मान्ने अन्धताविरुद्ध संघर्ष गर्दै उनले नेपालको सन्दर्भमा, र विशेष गरी ०४६ को राजनीतिक परिवर्तनको आलोकमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै ‘जबज’ प्रतिपादन गरेका थिए । यस कोणबाट हेर्ने हो भने परिवर्तित नयाँ सन्दर्भमा नयाँ विचारमाथि बहस अवश्य हुनुपर्दछ । आग्रह, पद–प्रतिष्ठाको मोह त्यागेर विचारको ‘ग्रेट डिबेट’मा भाग लिने हो भने मात्रै साँचो अर्थमा सुदृढ कम्युनिष्ट पार्टी बन्न सक्छ । र, त्यस्तो पार्टीले मात्र समजवादको यात्रा अघि बढाउन सक्छ । विचार शृंखलाको यो विकासक्रममा मदन भण्डारीबाट सिक्नु पर्ने कुरा पनि यही हो । अन्त्यमा श्रेद्धेयजननेताप्रति भावपूर्ण श्रद्धासुमन ।