काठमाडौं । नेपाल प्रहरीका एक जुनियर अधिकृतमाथि घुस लिएको आरोपमा छानबिन सुरु भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रयागजंग शाहमाथि छानबिन सुरु भएको हो ।
उनीमाथि छानबिन गर्न गृह मन्त्रालयबाटै निर्देशन आएपछि एसएसपी बसन्त कुँवरले एक डिएसपीको नेतृत्वमा छानबिन थालेका हुन् । एक व्यवसायीबाट शाहको खातामा दुई लाख रुपैयाँ आएको र त्यसको स्रोत उनले खुलाउन नसकेको प्रारम्भिक छानबिनमा खुलेको छ । असइ शाहले भने आफ्नो दाइको लेनदेनको पैसा आफ्नो खातामा आएको बताएका छन् । तर, प्रहरीमा उजुरी परेका व्यक्तिसँग उनले पैसा लिएको पाइएको छ ।
असइ शाह पदमा जुनियर भएपनि करोडपतिका रुपमा चिनिन्छन् । माफिया गिरोह तथा मिटरब्याजका नाइकेसँगको उठबसका कारण उनी विवादमा परेका हुन् । उनलाई एसएसपी कुँवरले हटाउने समेत तयारी गरेको स्रोत बताउँछ । यसअघि मिटरब्याजी राजु अवालेसँग मिलेर उनले अकुत पैसा मिटरब्याजमा लगाएको तथा अन्य गैरव्यवसायिक गतिविधि गरेको विषयमा उजुरी परेको थियो ।